logo-img

साफ यू-१९ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

साफ यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करण आजदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटन खेलमा भारत र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो साढे ३ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

आजै हुने दोस्रो खेलमा नेपाल र पाकिस्तान खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल आज साँझ ५ः३० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।



सुनिल श्रेष्ठ, नेपाली टोली प्रशिक्षक । तस्बिर : एन्फा

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिताअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै खेलाडीले मिहिनेत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको पनि बताए । 

पत्रकार सम्मेलनमा ६ मध्ये ५ टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन । भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । भारतले खेलाडीलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि २ वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ ।



साफ नजिकिएपछि साउदी अरेबिया गएर भारतीय टोलीले बन्द प्रशिक्षणसमेत गरेको थियो । भारतले काठमाडौं आउनुअघि साउदीमा २ अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त गरेको बताएको छ ।  

भारतीय यू–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताउँछन् ।



शुभेन्दु पान्डा, प्रशिक्षक भारतीय यू-१९ टोली । तस्बिर : एन्फा

२ वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिएकाले यो टोलीले राम्रो नतिजा दिने उनको भनाइ छ ।  

यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भारतले दुई/दुईपटक उपाधि जितेका छन् । नेपालबाटै सुरु भएको यो उमेर समूहको च्याम्पियनसिप नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

सन् २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तीमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको २ वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, सो बेला यू–१८ साफ च्याम्पियनसिपका रूपमा खेलाइएको थियो । 

अर्पण कार्कीको नेतृत्वमा नेपाल ५ टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो । नेपाल सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । 

तेस्रो संस्करण सन् २०१९ मा नेपालले नै आयोजना गरेको थियो । तर यू–१८ साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पनि पार गर्न सकेन । पछिल्लो संस्करण सन् २०२२ मा यू–२० साफ च्याम्पियनसिप भारतले आयोजना गर्‍यो । तर आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेर समूहमा राम्रो नतिजा ल्याउन सकेन ।

सिंगल राउण्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो । यस पटक भने नेपाल यू–१९ उमेर समूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ ।  

च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाए पनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताए ।   

यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये ५ राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताएका छन् । 

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्ने छन् ।

अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भुटान रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।  
 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ७:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया