logo-img

साफ यु–१९ च्याम्पियनसिप : भारतसँग बंगलादेश पराजित

साफ यु–१९ च्याम्पियनसिपमा भारतले बंगलादेशलाई पराजित गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा साविक विजेता भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

खेलको ३३ सेकेन्डमै भारतले अग्रता लिएको थियो। भारतका लागि गवामसार गोवारेले डिबक्स भित्रबाट गोल गरे। खेलको ४०औँ मिनेटमा बंगलादेशले खेलमा फर्किने अवसर गुमायो। राजु अहमद जिशानले करिब ३५ यार्डबाट माथिल्लो बारमा गरेको प्रहार भारतका गोलरक्षक लिओनल डेरिल रिम्मिइले मुस्किलले पञ्च गरेर बचाए। 

तर, पहिलो हाफको इन्ज्युरी समयमा भारतले अग्रता दोब्बर बनायो। मिडफिल्डबाट आएको बललाई नियन्त्रणमा लिँदै नोब्बा मिथाई पांगम्बामले बंगलादेशी डिफेन्डरलाई बिट गर्दै गोल गरे। खेलको ५२औँ मिनेटमा बंगलादेशका अनिक सुबानले गरेको प्रहार भारतीय गोलरक्षक लिओनलले सहजै बचाए।

६७औँ मिनेटमा भारतले अग्रता तेब्बर बनाएको थियो। गोवारेले मध्य भागभन्दा तलबाट दिएको बललाई नोब्बाले रनिङमा गोल गरेका थिए। तर, सहायक रेफ्री साहिम हुसेनले अफ साइडको झन्डा उठाइदिए। भारतका मुख्य प्रशिक्षक सुभेन्दू पाण्डाले आपत्ति जनाए पनि रेफ्री नदिम अलि निर्णयमा अडिग रहे।

निर्धारित समय सकिनै लाग्दा भारतले अग्रता ३–० मा पुर्‍यायो। भारतका लागि अर्जुन सिंहले गोल गरे। 

गत वर्ष भुवनेश्वरमा सिंगल राउन्ड रोबिनमा आयोजना भएको साफ च्याम्पियनसिपमा बंगलादेश र भारतको समूह चरणमै भेट भएको थियो। उक्त भेटमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया