logo-img

नेपालले दियो मंगोलियालाई ३१५ रनको लक्ष्य, बने कीर्तिमानै कीर्तिमान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ । हांग्जाउमा टस हारेर ब्याटिङको माैका पाएकाे नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । योसँगै नेपालले टी–२० मा सर्वाधिक ठूलो लक्ष्य दिने विश्वकीर्तिमान बनाएको छ ।

यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो । उसले सन् २०१९ मा आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । अब अफगानिस्तानको रेकर्ड नेपालले तोडेको छ ।

नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमान शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । कुशलले ३४ बलमै शतक बनाएका थिए ।

योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो कीर्तिमान यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिका सुदेश विक्रमशेखरको नाममा थियो । यी तीनै ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।  



अब उनीहरूको रेकर्ड कुशलले तोडेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । योसँगै दीपेन्द्र टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे । मंगोलियाका लागि मुनगुन अल्तानखुयागसहित तीन बलरले एक/एक विकेट लिए । नेपाल मंगोलियाविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । 



टी–२० मा नेपाल र मंगोलियाले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह चरणअन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ । एसियन गेम्समा हालसम्म दुईपटक क्रिकेट प्रतिस्पर्धा भएको छ ।

दुवैपटक प्रतियोगितामा भाग लिएको नेपालले क्वार्टरफाइनलसम्मको यात्रा मात्र गरेको छ । नेपाल सन् २०१० को क्वार्टरफाइनलमा श्रीलंका तथा २०१४ को एसियन गेम्स क्वाटरफाइनलमा अफगानिस्तानविरुद्ध पराजित भएको थियो । 



यसपटक पनि समूह चरणमा कमजोर टिमसँग प्रतिस्पर्धा गरिरहेकाले नेपालको क्वार्टरफाइनल यात्रा पक्काजस्तै छ । समूह विजेता बनेमा नेपालले अन्तिम चारमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमको सामना गर्नेछ । हालै एसिया कप खेलेको नेपालले यसपटक एसियन गेम्समा पदक जित्ने लक्ष्य लिएको छ ।

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया