logo-img

मंगोलियाविरुद्ध नेपालले बनाएका पाँच विश्वकीर्तिमान
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । बुधबार भएको खेलमा मंगोलियालाई २ सय ७३ रनले हराउँदै नेपालले प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो कीर्तिमानी जित हो । यसअघि फराकिलो अन्तरको जित रेकर्ड चेक गणतन्त्रको नाममा थियो । उसले सन् २०१९ मा टर्कीलाई २५७ रनले हराएको थियो ।    

पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियाले भने सम्झनलायक प्रदर्शन गर्न सकेन । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।



उसका लागि एक मात्र ब्याटरले दोहोरो अंकमा रन जोड्न सके । नेपालका लागि करण केसी, सन्दीप लामिछाने र अविनाश बोहराले दुई/दुई तथा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले एक/एक विकेट लिए । 



त्यसअघि हांग्जाउमा टस हारेर ब्याटिङको माैका पाएकाे नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो । योसँगै नेपालले टी–२० मा सर्वाधिक ठूलो स्कोर बनाउने विश्वकीर्तिमान बनायो । यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो । उसले सन् २०१९ मा आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो ।

मंगोलियाविरुद्ध नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले कीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । कुशलले ३४ बलमै शतक पूरा गरेका थिए ।   



योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमशेखरको नाममा थियो । यी तीनै ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले पनि विश्वकीर्तिमान बनाए । उनले टी–२० मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका हुन् । १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रनका ऐरीले ९ बलमै अर्धशतक बनाए ।

यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । यस्तै, मंगोलियाविरुद्ध नेपालले सर्वाधिक छक्का प्रहार गर्ने टिमको कीर्तिमान पनि बनायो ।

नेपाली ब्याटरले यस खेलमा कुल २६ छक्का हिर्काए । यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो । उसले २०१९ मा आयरल्याण्डविरुद्ध २२ छक्का प्रहार गरेको थियो । 

मंगोलियाविरुद्ध कप्तान रोहित पौडेलले उत्कृष्ट पारी खेले । २७ बलको सामना गरेका उनले ६ छक्का र २ चौकाको मद्दतमा ६१ रन बनाए । यस्तै, कुशल भुर्तेल १९ र आसिफ शेखले १६ रन जोडे ।

समूह चरणअन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ । समूह विजेता बनेमा नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमको सामना गर्नेछ । हालै मात्र एसिया कपमा राम्रो प्रदर्शन गरेको नेपालले १९औँ एसियन गेम्समा पदक जित्ने लक्ष्य लिएको छ । 

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया