नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ ।
छोटो समयको अवधिमा उक्त एयरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए ।
उनले भने, ‘छोटो समयको अवधिमा उक्त एयरले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, सम्भवतः आजै निजको एओसी निलम्बन गर्छौ ।’
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा आज बिहान दुर्घटनामा परेको छ । हिजो ओखलढुंगाको रुम्जाटारमा रहेको उक्त एअर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिनका लागि लुक्ला गएको थियो ।
लुक्लाबाट आज बिहान ७:१३ मिनेटमा लोबुचे उडेको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकोप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेँडाइ घाइते भएका छन् । उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
हेलिकप्टर के कारणले दुर्घटना भयो सोबारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।