मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ । नेपाल र बहराइनबीचको खेल ७ः१५ देखि सुरु हुने तालिका छ ।
नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो ।
बहराइन पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पराजित भएको थियो । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ । प्रिमियर र एसिया कप नेपाली टिमका लागि विश्वकपको राम्रो तयारी हुनेछ । प्रिमियर कपमा नेपालले सेमिफाइनल र फाइनलमा यूएई, हङकङ, मलेसिया र कुवेतलाई प्रतिद्वन्द्वी पाउने सम्भावना छ ।
समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरान, बहराइनका साथै साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।
फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो ।
विश्वकप २०२४ को जनवरीमा श्रीलंकामा हुनेछ । विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।