logo-img

दूधको खपत कम हुँदा किसानले पाएनन् भुक्तानी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एशोसिएशनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरूले किसानलाई समयमै भुक्तानी नसकेको एशोसिएशनको भनाइ छ ।

एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानले समयमै भुक्तानी नपाएको बताए ।

दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ ।

आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महंगो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयात बढेका कारण पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए ।

उनले भने, ‘दसैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ ।’ उनले दसैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरे ।

‘किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्दछौँ ।’ अध्यक्ष दाहालले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।



अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पुर्याउन पनि एशोसिएशनले आग्रह गरेको छ ।



  • प्रकाशित मिति : कात्तिक ५, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया