साइकल एक प्रेम
कार्बन उत्सर्जनमा कमी ल्याउन देवराज थापा र टीमको मेची–महाकाली साइकल यात्रा

०७२-७३ सालतिर नाकाबन्दीको समयमा वैकल्पिक साधनका रूपमा साइकललाई रोजेका देवराज थापालाई हिजोआज साइकलबिना घरबाहिर जान मनै लाग्दैन । साइकल यात्रालाई थप रोमाञ्चित बनाउन उनले हालै मेची-महाकाली यात्रा गरेका छन् । उनीलगायत उनका साथीहरूले यो यात्रा सात दिन लगाएर गरेका हुन् ।

नाकाबन्दीको समयमा वैकल्पिक साधनको रूपमा साइकल रोजेका उनलाई विस्तारै साइकलप्रति मोह बढ्न थाल्यो । अथवा भनौं एक किसिमले उनलाई साइकलको लत नै बस्यो । एकदिन साइकल चलाएन भने उनलाई दिनमा आफूले गर्नुपर्ने महत्वपूर्ण काम छुटेजस्तै लाग्छ ।

‘पहिले-पहिले साइकल चलाउन रहर गरेपनि चलाइहाल्ने बानी चाहीँ थिएन । नाकाबन्दीको समयमा आफूलाई चाहिएको बेला पेट्रोल नपाउने भएपछि साइकल चढ्नुपर्छ भन्ने लाग्यो । त्यसयता साइकल चलाउनु दैनिकी जस्तै बनेको छ,’ साइकल यात्री थापाले भने ।

शैक्षिक परामर्श क्षेत्रमा आबद्ध रहेका थापालाई साइकल चढ्न अत्यन्त रहर लाग्छ । तर, काठमाडौं उपत्यकाको ट्राफिक जाम र साइकल हराउने डरले उनी काममा निस्किदा कहिले साइकल त कहिले पैदल नै जाने गरेका छन् । मेचीदेखि महाकाली यात्राको उद्देश्य नै ‘जिरो कार्बन उत्सर्जन’ रहेको थियो । साइकल यात्रा गर्दा वातावरण तथा स्वास्थ्यका लागि फाइदाजनक हुने उनको बुझाइ छ ।​

चारजना मिलेर मेची-महाकाली यात्रा गरेर फर्किएका थापा खुशी देखिन्छन् । उनी  यात्राको बारेमा जति भन्छन्, बयान गर्छन्, त्योभन्दा बढी उनको अनुहारको हाउभावले यात्राको अनुभव वर्णन गरिरहेको भान हुन्छ । उनी मेची–महाकाली यात्रा गर्न पाउँदा प्रफूल्लित सुनिन्छन् ।



एक सातामै मेची-महाकाली यात्रा गर्नु जोकोहीका लागि सहज पनि छैन । उनको समुहले २३ असोजमा मेचीदेखि साइकल यात्रा सुरु गरेको थियो भने २९ असोजमा महाकाली पुगेको थियो ।



‘यो यात्रा गर्नुको मूख्य उद्देश्य भनेको नै जिरो कार्बन उत्सर्जन नै हो । दोस्रो कुरा भनेको आफ्नो देशलाई हेरौँ न मेचीदेखि महाकालीको यात्रा कस्तो हुन्छ भन्ने थियो । मेची त म पहिले पनि गएको थिएँ तर, महाकाली जाने संयोग जुरेको थिएन । यो पटकको यात्रामा नेपाललाई नजिकबाट महसुस गर्न पाइयो,’ साइकलयात्री थापाले भने । उनीहरूले एक सातामा करिब १ हजार ११८ किलोमिटर समय लगाएर मेची-महाकाली यात्रा तय गरेका थिए ।

पछिल्लो समय साथीभाइको समूह मिलाएर नेपालका विभिन्न स्थान पुग्ने चलन बढ्दै गएको छ । अहिलेको पुस्ता स्वदेशकै विभिन्न स्थानमा पुगेर फोटो, भिडियो सामाजिक सञ्जालमार्फत अन्य मानिसलाई समेत जानकारी दिइरहेका छन् । थापाका साथीभाइले पनि त्यसै गरेर आफू घुम्न गएको ठाउँको फोटो, भिडियो सामाजिक सञ्जालमा राखेपछि उनलाई पनि साथीहरू पुगेको ठाउँ पुग्न पाए हुन्थ्यो भन्ने लाग्ने उनी सुनाउँछन् ।

‘साथीभाइ घुम्न गएको देख्दा आफूलाई पनि जाउँजाउँ लाग्छ । यसले आन्तरिक पर्यटनलाई पनि टेवा पुग्ने भयो र आफूलाई पनि नयाँ ठाउँ घुम्न पाउँदा अवश्य नै मनोरञ्जन मिल्ने नै भयो,’ साइकलयात्री थापा भन्छन्, ‘हामीले पनि मेची–महाकाली यात्रा गर्ने सोच बनायौँ । यसका साथै यस यात्राको उद्देश्य पनि हुनुपर्छ भन्ने लागेर ‘जिरो कार्बन उत्सर्जन’ को सन्देश दियौँ । पक्कै पनि देशलाई धेरै केही गर्न नसकेपनि साइकल यात्रालाई प्राथमिकता दिएर कार्बन उत्सर्जनमा कमी ल्याउन मद्दत गर्नुसकुँ भन्ने छ ।’

साइकल यात्राको क्रममा विभिन्न जिल्लाका मानिससँग भेट्दा आफूलाई खुशी लागेको साइकलयात्री थापा बताउँछन् । ‘हामीले कसैलाई जानकारी नदिई मेची-महाकाली यात्रामा निस्किएका थियौँ । झापा राइडर समूहले स्वागतका साथै यात्राका लागि शुभकामना दिए,’ साइकलयात्री थापा भन्छन्, ‘हाम्रो टार्गेट नै यात्रालाई एक सातामा सक्काउने थियो । त्यसैले कसैलाई जानकारी नदिई गएका थियौँ । यात्राकै क्रममा भैरहवा साइकल सिटी, फारवेस्ट राइडर भरतविक्रम शाहको समूहले पनि स्वागत तथा शुभकामना दिनुभयो ।’

‘यात्राको क्रममा धनगढीको अत्तरियामा मुसलधारे पानी आएको थियो । एक सातामा यात्रा पूरा गर्ने लक्ष्यमा बाधा पुर्याउँछ कि जस्तो लागेको थियो,’ साइकलयात्री थापा सुनाउँछन्, ‘वर्षा एकदिन रोकिन्छ की भनेर प्रतिक्षा गर्यौ, तर पानी रोकिने कुनै छाटकाँट नदेखेपछि यात्रालाई निरन्तरता दिने सोच्यौँ । अत्तरियाबाट महाकाली ५४ किलोमिटर थियो, पानीमा भिज्दै, हुरीलाई छिचोल्दै महाकाली पुगेका थियौँ ।’

थापाको टोली महाकाली पुग्दा साझँको करिब ६ बजिसकेको थियो । महाकाली पुग्ने थापाको पहिल्यैदेखिको रहर थियो । उनी महाकाली पुग्दा झमक्क साँझ परिसकेको थियो । मेची-महाकाली यात्रा गर्दा खुशीले सिमा नाघेको साइकलयात्री थापा बताउँछन् ।

‘महाकाली पुग्दा खुशीको सिमा नै थिएन । एउटा कुराले चाहीँ दुखी बनायो । हाम्रो नेपाली दाजुभाइलाई नेपालको सिमा कहाँसम्म भनेर सोध्दा, ‘उ त्यो पारी सम्म हो’ भनेर औलाका इसारमा देखाए,’ थापा भन्छन्, ‘तर, सिमा स्तम्भ भने गाउँलेले देखाएको भन्दा वारी नै पाइयो । यससँगै नेपाली भारत प्रवेश गर्न नेपालीको नागरिकताका साथै सोधपुछ गर्छन् । तर, भारतीय भने खुलेआम नेपाल प्रवेश गरिरहेका छन् । यसले चाहीँ मन खिन्न भयो । भारतीय तर्फबाट नेपाली हेपिएको पाएँ,साह्रै नराम्रो लाग्यो ।’

भारतसँग सिमा जोडिएका ठाउँहरूमा हेपाइका यस्ता कथा उस्तै-उस्तै छन् । समग्रमा मेची-महाकाली यात्राको साराशं थापाले यसरी बताए-अत्यन्तै रमाइलो र सन्देशमुलक पनि रह्यो ।

  • प्रकाशित मिति : कात्तिक ५, २०८० आइतबार १६:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया