logo-img

सरोकारवालाको टिप्पणी : झाँक्रीजस्ता नेताहरूका कारण हामी बिदेसिनुपरेको हाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ एनआरएनएको ११औँ महाधिवेशनमा दिएको अभिव्यक्तिप्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।
 
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियान्ताहरुले नेताहरुकै कारण नेपाली युवाहरु बिदेसिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको तर्क गरेका हुन् ।
 
कार्यक्रममा एनआरएनए श्रीराम कँडेलले, झाँक्रीजस्ता नेताहरुको कारण आफूहरु बिदेसिनुपरेको र नेपाल एसियाकै गरिब राष्ट्रमा रुपान्तरित भएको आरोप लगाए । उनले भने, ‘नेपालमा सिकेको राजनीतिक संस्कार नै विदेशमा पनि हुर्काउनु भएको रहेछ भन्ने परेको छ ।’ 

उनले कांग्रेस एमाले र माओवादीलगायतका राजनीतिक दलकै संस्कार र प्रवृति्त एनआरएनएमा देखिएको भन्दै आक्रोश पोखे । 
उनले भने, ‘नेपालमा जुन राजनीतिले यो देशलाई बिगार्यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पुर्याउने दौडमा नेताहरु छन्।’

एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिएको उनको भनाइ छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्न लगायतका काममा त्यहाँको स्थायी आवासीय प्रमाणपत्र लिन नेपालीहरु बाध्य हुने उनको भनाइ छ ।
 
नेताहरुले निर्वाचनको समयमै पनि विनापैसा भिसा र टिकट दिने नारा दिएर युवाहरुलाई देशबाट बाहिरिन बाध्य बनाएको उनको आरोप छ ।
 
‘राजनीति गर्ने रामकुमारी झाँक्रीजस्ताले बुझ्नुपर्ने विषय हो । उहाँहरुजस्ता नेताको कारण आज युवाको अवस्था जर्जर बनेको छ,’ उनले भने, ‘उनीहरु विदेशमा बस्दै गर्दा त्यहाँको वातावरणले त्यो कागजको खोस्टो घाँडो नहोस् भन्नका लागि त्यहाँको नागरिकता लिइहाले पनि त्यहाँको नागरिकता लिएपछि नेपालको वंशजको नागरिकता स्वतः निष्कृय हुने भनेको छ । यसले बाध्यतावश विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको छ ।’ 

त्यस्तै, गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको बहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पुर्याएको उनको तर्क छ । 
प्रायः एनआरएनएलाई विदेशमा दुःख नभए पनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले, विश्वका २ सय १ देशमध्ये एक सय ८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन अमेरिकी नागरिक समेत भएको उनको दाबी छ । हालका बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाइ छ । 

त्यस्तै, इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उनले बताए ।



‘संसारमा अहिले २०१ वटा देश छन् । तीमध्ये करिब १५ वटा देशले दोहोरो नागरिकताको सिद्धान्त मान्दैनन् । त्यो बाहेकका देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको छ,’ उनले भने । 
 



  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया