logo-img

विश्वकप छनोट : नेपाल आज सिंगापुरसँग खेल्दै, यस्तो छ सम्भावित प्लेइङ-११
तस्बिर : क्यान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको प्रतिस्पर्धा बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । 

नेपाल सिंगापुरविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । शुक्रबार यही मैदानमा नेपालले यूएईसँग सिरिजको उपाधि भिडन्तमा ४ विकेटको हार बेहोरेको थियो । नेपाल सो हारपछि केही सजग देखिएको छ ।

सिंगापुर घरेलु टोली नेपाललाई स्तब्ध पार्ने दाउमा छ । टी–२० क्रिकेटमा विगत प्रदर्शन हेर्दा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल र सिंगापुरबीचको दुई खेल भने वर्षाले प्रभावित भएको छ ।

२८ जुलाई २०१९ मा भएको पहिलो भेटमा सिंगापुरसँग नेपाल ८२ रनले स्तब्ध भयो । त्यसपछि यी दुई टिमले सोही वर्षको २८ सेप्टेम्बरमा एकअर्काविरुद्ध खेले । जसमा नेपालले सिंगापुरलाई ९ विकेटले हरायो । 

सो फराकिलो जितमा तत्कालिन कप्तान पारस खड्काले ५२ बलमा ९ छक्का र ७ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेले ।



नेपाल र सिंगापुरले पछिल्लोपटक ६ मार्च २०२० मा प्रतिस्पर्धा गर्ने तालिका थियो । तर, वर्षा बाधक बनेपछि सो खेल टससमेत हुन नपाई रद्द भयो ।



सिंगापुरको टिममा रोहन रंगराजन, जनकप्रकाश, अर्जुन मुर्तेजा र चेतन सूर्यवंशीजस्ता नेपालाई टक्कर दिनसक्ने भारतीय मूलका खेलाडी छन् । 

यीमध्ये चेतन आइपिएल टिम कोलकाता नाइट राइडर्समा आवद्ध भइसकेका खेलाडी हुन् । यद्यपि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको सिंगापुरलाई नेपालविरुद्ध जित निकाल्न सहज हुने छैन । 

नेपालको टिममा कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, रोहितकुमार पौडेल, करण केसीलगायत खेलाडी राम्रो लयमा छन् । स्टार स्पिनर सन्दीप लामिछानेको पुनरागमनपछि नेपालको स्पिन पक्ष पनि बलियो भएको छ ।

सिंगापुरविरुद्ध नेपाल आफ्नो उत्कृष्ट प्लेइङ–११ कै साथ मैदान उत्रनेछ । ​सिंगापुरसँगको खेलमा नेपालको ओपनिङ ब्याटरको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले सम्हाल्ने पक्काजस्तै छ ।

तेस्रोमा कुशल मल्ल, चौथोमा कप्तान रोहितकुमार पौडेल, पाँचौंमा दीपेन्द्र सिंह ऐरी, छैटौँमा सन्दीप जोरा, सातौँमा गुलशन झा, आठौँमा सोमपाल कामीले मौका पाउने सम्भावना छ । 

नवौँमा करण केसी,  १०औँ सन्दीप लामिछाने र ११औँ  स्थानमा अविनाश बोहराले मौका पाउन सक्छन् ।    

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा,  गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।   


  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया