logo-img

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुरलाई ८ विकेटले हरायो
तस्बिर : क्यान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । 

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले आक्रामक पारी खेले । ४८ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको सहयोगमा ७४ रन बनाए । 

टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो सातौँ अर्धशतक हो । यस्तै, कप्तान रोहितकुमार पौडेलले २४ बलमा २ छक्का र २ चौकासहित अविजित ३५ रन बनाए । आसिफ शेख २७ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित रहे ।

सिंगापुरका लागि अक्षय पुरी र अनन्त कृष्णले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । 



उसका लागि रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७ र मनप्रीत सिंहले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि अविनाश बोहराले ४ ओभरमा एक मेडन राख्दै ४३ रन दिएर सर्वाधिक ३ विकेट लिए । ​सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । यस्तै, गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट नै हात पारे ।



करण केसीले ४ ओभरमा ३६ रन दिएर २ विकेट नै लिए । ४ ओभरमा २१ रन मात्र दिएका सोमपाल कामी भने विकेटविहीन रहे । नेपालले प्रतियोगितामा दोस्रो खेल मंगलबार मलेसियाविरुद्ध खेल्नेछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानको सामना गर्ने तालिका छ । समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल जित्दै फाइनलको यात्रा गर्ने दुई टिमले आउँदो वर्षको टी–२० विश्वकपमा स्थान बनाउनेछन् । 


  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया