logo-img

पर्यटकहरू धुलो खाँदै हिँडिरहेको देख्दा दु:ख लाग्यो : गगन थापा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे । 

‘कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरू धुलो खाँदै असहज रूपमा हिँडिरहेको देख्दा दुःख लाग्यो,’ थापाले भने, ‘नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।’ 

पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ छ ।

काठमाडौंदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आएका थापाले नेपालीलाई विदेशभन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिए । 

‘स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ’, महामन्त्री थापाले भने, ‘नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरूको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगतरूपमा पहल गर्नुपर्ने छ ।’

समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाले बताए ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया