logo-img

काठमाडौंबाट सुरु भयो ‘महाजात्रा’को छायांकन

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’ को छायांकन काठमाडौंबाट सुरु गरिएको छ । 

४५ दिनको छायांकन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, ‘काठमाडौंबाहेक जनकपुरमा छोटो छायांकन हुनेछ । हामीले शृंखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ ।’

अघिल्लो दुई शृंखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरिरहेका छन् ।

अभिनेता आचार्यले पहिलो शृंखलामा गायकका रूपमा जोडिएको स्मरण गरे । ‘यो शृंखलासँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । निर्देशक भट्टराईले महसञ्चारमा लामो समय काम गरेपछि चलचित्र निर्देशन प्रारम्भ गर्नुभएको थियो । यसपटक कलाकारको रूपमा जोडिन पाउँदा उत्साहित छु,’ अभिनेता आचार्यले भने । 

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । 

यसमा जितबहादुर रुवालीले एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधानले छायांकन, कुमार महर्जनले द्वन्द्व निर्देशन, कविराज गहतराजले नृत्य निर्देशन, आशीष अविरलले संगीत सिर्जना, शम्शेर लामाले शृंगार, रूपकप्रताप अधिकारीले प्रोडक्सन डिजाइनरका रूपमा काम गरिरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार २२:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया