मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नास हुनेगरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सुरु गरेको छ ।
सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य, प्रमाण सार्वजनिक गर्न सकेको छैन । यसैबीच हत्याको थप अनुसन्धान गर्न शनिबारदेखि सीआइबीले मुगु हत्या प्रकरणको बाँकी अनुसन्धान गर्न थालेको छ ।
कात्तिक ८ गते (यद्यपि ८ गते वा ९ गतेराति हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिकासहित परिवारकै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो । त्यसयता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वसहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले संयुक्तरूपमा अनुसन्धान गरे पनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन ।
सुरुबाटै घटनास्थल केन्द्रित गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखे पनि ठोस प्रमाण फेला नपरेकोले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम प्रहरीले गरिरहेको छ । सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’ थापाले भने ।
सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटाएको छ । यद्यपि टोलीमा सहभागी सदस्य संख्याबारेप्रहरीले विवरण दिएको छैन ।
घटनाको थप अनुसन्धानको जिम्मा सिआईबीले लिए पनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सिआईबीले संयुक्तरूपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई जानकारी दिए ।
यस्तै, मृतकका पति दीपक बोहोराले हत्यारा पत्ता नलगाइ परिवारको दाहसंस्कार नगर्ने अडान छोडेर परिवारको दाहसंस्कार गरिसकेका छन् । उनले आफ्नी पत्नी, दुई छोरा र छोरीको १७ गते अन्तिम संस्कार गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।