logo-img

कांग्रेसका दुवै महामन्त्री जाजरकोट जाँदै, यस्ता छन् सात बुँदे कार्य योजना

नेपाली कांग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै छन्। उनीहरूले जाजरकोटमै बसेर राहत र पुनर्स्थापनाको अनुगमन गर्दै सरकारलाई सुझाव दिने छन्।

जाजरकोटको भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको स्थिति भएकाले यो विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर एकताबद्ध भएर गर्न नेपाली कांग्रेसले आव्हान गरेको छ।  नेपाली कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्री द्वयको नेतृत्वमा गठन गर्दै विभिन्न कार्य विभाजन पनि गरेको छ।

जसमा उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन, सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रमहरू स्थगन, कयौँ जिल्लाबाट पार्टीका स्वयंसेवकहरू राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधी प्रबन्ध, पार्टीको धारणा र सुझाव (तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने अत्यावश्यक कार्यहरू) सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइने भनेको छ ।

महामन्त्रीहरू‘७ बुँदे कार्य विषय’ मा महामन्त्री द्वय केन्द्रित रहँदै पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्र आज पुग्ने कांग्रेसले जनाएको छ । 

यस्ता छन् सात बुँदे कार्य योजना

(१) उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।



(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउने ।



(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्ध वृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

महामन्त्री द्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
 

  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया