logo-img

मुगु हत्या प्रकरणः दुई सातापछि प्रहरीद्वारा हत्यामा संलग्न दुई व्यक्ति सार्वजनिक

मुगुको छायाँनाथ रारा नागरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेका दुईजनालाई प्रहरी पत्रकार सम्मेलनमार्फत घटना भएको १५ दिनपछि सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न रहेका दुवैले व्यक्तिगत रिसइबी र सुन लुट्नका लागि हत्या गर्ने जेठ महिनामा योजना बनाएको प्रहरीले जनाएको छ । कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँकी श्रीदेवीसहित उनका तीन सन्तानको हत्या भएको थियो ।

हत्यामा संलग्न सोही नगरपालिका–६ का ३१ वर्षीय गोपाल बोहोरा र वडा–७ का ३१ वर्षीय काले भनिने गोर्खबहादुर शाहीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्याका मुख्य योजनाकार भनिएका गोपाल बोहोरा वैदेशिक रोजगारीका लागि कतारमा गएकोमा राम्रो काम नपाएपछि दुई वर्ष बसेर फर्किएका थिए ।

प्रहरीका अनुसार मृतक श्रीदेवीका श्रीमान दीपकले कतारमा काम गर्ने कम्पनीमा राम्रो कमाइ गरेको थाहा पाएपछि उक्त कम्पनीमा काम गर्न आफूलाई भिसा पठाइदिन आग्रह गरेका थिए । 

दीपकले  गोपालको आग्रह अस्वीकार गरेकाले त्यसै बेलादेखिको रिस उनले पालेका थिए । त्यसपछि उनको परिवार सखाप पार्ने योजनाअनुसार छायाँनाथ रारा नगरपालिका–७ का गोर्खबहादुर शाहीसँग बाँकेको बैजनाथ नगरपालिका–१ चिसापानीमा भेट गरी हत्याको योजना बनाएका थिए ।



परिवारका सबैको हत्या गरी सुनचाँदी, गहना र नगद लुटपाट गर्ने योजना उनीहरूले बनाएको अनुसन्धानबाट खुलेको प्रदेश कार्यालयका प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए ।

गोपालको योजनाअनुसार गोर्खबहादुर कात्तिक ५ गते सुर्खेतबाट सडक यातायात हुँदै ६ गते मुन्दु गाउँमा रहेको गोपालको घरमा पुगेका थिए । उनी  घरको भुइँतल्लामा रहेको खरायोको खोर भएको कोठामा कसैले नदेख्ने गरी लुकीछिपी बसेका थिए ।



श्रीदेवी छोरा ११ वर्षीय छोरा मनोज, ७ वर्षीया छोरी अप्सरा र ५ महिनाका छोरा रहरसहित माइतीबाट फर्केर घरमा खान खाएर बसेका बेला राति ९ बजे गोपाल र गोर्खले पुगेर घरबाहिर बोलाएका थिए ।

श्रीदेवीले ढोका खोलेपछि दुवैजना घरभित्र छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीदेवीले प्रयोग गने मोबाइल, कानमा लगाएको २.५ तोलाको सुनको रिङ र २५ लालको घाँटीमा लगाएको तिलहरी लुटेर लगेको प्रहरीले जनाएको छ ।

हत्यापछि गोर्खबहादुर घटनास्थलबाट मुगु र जुम्लाको सिमाना बुलबुलेसम्म पैदल गई त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । श्रीदेवीले प्रयोग गरेको मोबाइलको सिम फ्याँकेर शाहीले आफनो सिम हालेर प्रयोग गरेको पाइएको छ ।

कात्तिक २३ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्र शाही र विक्रम शाहीको घरबाट गोर्खबहादुरले लुकाई राखेको झोलामा नगद एक लाख ७९ हजार नागरिकता, राहादानी, बसको टिकटसहित सिमकार्ड नभएको दुई थान मोबाइल प्रहरीले बरामद गरेको थियो ।

हत्यामा संलग्न गोपाल बोहोरा मृतक श्रीदेवीका आफनै मामाको छोरा हुन् । गोर्खबहादुर शाही श्रीदेवीका कान्छी आमाका श्रीमान् हुन् ।  प्रहरीले दिएको जानकारी अनुसार गोपालले आफूलाई श्रीदेवीका श्रीमानले भिसा पठाउन नमानेको र त्यही झोँकमा परिवारको हत्या गर्ने योजना बताएको बताएका छन् ।

एक्लै हत्या गर्न नसक्ने देखेपछि नेपालगन्जमा रहेका आफ्ना फुपाजु गोर्खलाई गत जेठ महिनामा भेट गरी हत्या गर्ने योजना बनाएको  पत्रकार अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश हाल नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश केनाइन शाखाबाट खटिएका प्रहरी अधिकृतसहितको टोली खटिएको थियो ।

घटनाबारे स्थलगत अनुसन्धान गरी हत्यामा संलग्नलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार २०:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया