logo-img

प्रधानमन्त्रीको शुभकामना - ‘तिहार : नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार’

प्रधानमन्त्री पुष्पकमल दाहालले तिहारको शुभकामना दिँदै नेपाली पर्वहरूले विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउन महत्त्वपूर्ण योगदान गरिरहेको बताएका छन् ।

आज दीपावलीको शुभकामना सन्देश जारी गर्दै, नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले ‘विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत हुन् ।’

नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्।’



दिपावली पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ, उत्पादन,श्रम,सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपक्षीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ। देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीले चर्चा गरेका छन् । 

राजनीतिक उपलब्धिको पनि चर्चा गर्दै प्रधानमन्त्रीले नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको सम्झेका छन् ।
 
‘परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ,’ प्रधानमन्त्रीको भनाई छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार ९:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया