logo-img

भाइटीकाको दिन कस्तो रहला मौसम ?

भाइटीकाको दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ ।’ मौसमविद मानन्धरले भनिन् ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । संघीय राजधानी काठमाडौंमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया