logo-img

टिकटक प्रतिबन्ध
पूर्वप्रधानमन्त्रीको क्लबले बन्द कोठामा गरेको निर्णयको भारी बोक्न सक्दैनौँ : गगन थापा
'टिकटक प्रतिबन्ध गर्दा कांग्रेससँग सल्लाह भएकाे छैन'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्रीहरूको क्लबले बन्द कोठामा बसेर गरेको निर्णयको भारी सिंगो पार्टीले बोक्न नसक्ने उनको भनाइ छ । 

‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’ उनले भनेका छन् 
‘प्रमज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्।’

‘यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ,’ उनले थप भनेका छन्, ‘अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन।’
 
यस विषयमा रास्वपा अध्यक्ष रवि लामिछानेले टिकटकमाथिको प्रतिबन्धबारे सत्तारुढ दलकै जिम्मेवार पदाधिकारीले विरोध गर्नुको अर्थ नहुने बताएक थिए । त्यसतर्फ इंगित गर्दै थापाले भनेका छन्, ‘कति साथीहरूले, सरकारले गर्ने निर्णयको सत्तापक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्ने कुरा उठाउनु भएको छ। त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौँ,आज पनि र भोलि पनि भन्छौँ। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन।’

बरु, सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नुचाहिँ गलत हुने गगनको ठम्याइ छ । ‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदै,’ उनले भनेका छन्, ‘हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौँ।’

हिजो त्यही काम अरूले गर्दा गलत आफूले गर्दा सही भन्न नसकिने महामन्त्री थापाको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया