logo-img

विश्वकप फाइनलमा २४० रनमै समेटियो भारत, अष्ट्रेलियाको सानदार बलिङ

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा  आयोजक भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अलआउट भयो । 

उसका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४, कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कुलदीप यादवले अविजित १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोश हेजलउड , कप्तान प्याट कमिन्सले दुई/दुई, एडम जाम्पा, ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए । 

भारत अपराजित रहँदै तेस्रोपटक उपाधि जित्ने योजनामा छ। यसअघि उसले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । भारत आज उच्च लय र घरेलु मैदानको फाइदा उठाउँदै १२ वर्षपछि विश्वकप ट्रफी चुम्न चाहन्छ । यद्यपि घरेलु टिम भएकाले भारतमाथि उपाधि जित्नुपर्ने दबाब बढी छ ।



ऊ पछिल्लोपटक आइसिसीको ठूलो प्रतियोगिताको फाइनलमा चुक्दै आएको छ । यसले पनि भारतीय टिमलाई दबाब बढी रहेको आकलन गर्न सकिन्छ । यता अष्ट्रेलिया फाइनलमा खुलेर खेल्ने देखिन्छ । तुलनात्मकरूपमा भारतभन्दा अष्ट्रेलिया टिममाथि कम दबाब हुनेछ। 

कीर्तिमानी अष्ट्रेलिया आज भारतलाई स्तब्ध पार्दै छैटौंपटक विश्व च्याम्पियन बन्ने दाउमा छ । यसअघि उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । जारी विश्वकपको समूह चरणमा भारतसँग अष्ट्रेलिया ६ विकेटले पराजित भएको थियो । ऊ सो हारको बदला फाइनलमा लिन चाहन्छ । 

विश्वकपमा हालसम्म भारत र अष्ट्रेलियाले १३ खेलमा एकार्काको सामना गरेका छन् । जसमा अष्ट्रेलिया हाबी देखिन्छ । उसले विश्वकपको १३ भेटमा भारतलाई ८ खेलमा हराएको विगत छ । समग्र ओडिआई हेड टु हेडको नतिजा हेर्दा पनि अष्ट्रेलिया अगाडि छ । 



अष्ट्रेलिया र भारतले हालसम्म १५० एकदिवसीय खेलमा एकाअर्कासँग खेलेका छन् । जसमा अष्ट्रेलियाले ८३ तथा भारतले ५७ खेलमा जित निकालेको छ । यी दुई टिमबीचको १० खेल भने नतिजाविहीन रह्यो ।



  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार १८:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया