logo-img

सांसदको जिम्मेवारी एक, भूमिका अनेक : रायमाझी

नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट छन् । 
    
कुराकानीमा नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गरे ।  उनले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाए । 
    
सांसद रायमाझी भन्छन्, ‘विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो । सदन र समितिमा त्यसकै लागि प्रभावकारी भूमिका खेल्नुपथ्र्यो ।  विजनेस दिने काम त सरकारको हो नि,  त्यो हुँदै भएन ।  अनि सांसदले पनि उत्साहजनक भूमिका खेल्न पाएनन् ।’

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन भएको आज ठीक एक वर्ष पुगेको छ । यस अवधिमा सदनका दुई अधिवेशन चले । यसबीचमै सदनले सरकार गठन गर्यो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र  विषयगत समितिका सभापतिको चयन भयो । सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल हुनाका साथै आर्थिकलगायत कतिपय विधेयक पारित भए भने केही सदन र विषयगत समितिमा छलफलका चरणमा छन् ।
    
विसं २०४३ देखि महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका रायमाझीसँग २०५४ सालमा रौता गाविस–५ का निर्वाचित सदस्य तथा पार्टी गाउँ कमिटी र इलाका सचिव भई काम गरेको अनुभव छ । उनले उदयपुर–काठमाडौं सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष,  प्रदेश नम्बर १ सम्पर्क कमिटी सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसमेत पूरा गरेका थिए । 
     
विधायक  रायमाझीले सांसदको महत्त्वपूर्ण भूमिका कानुन बनाउनु नै भए पनि नेपाली समाज र भूगोललगायत कारणले तिनले विकासनिर्माणमा नेतृत्व तथा अन्य सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिए । उनले भने, ‘कानुन निर्माणमा भूमिका खेल्दाखेल्दै पनि निर्वाचन क्षेत्रलाई समृद्ध तुल्याउन, चुनावी घोषणापत्र कार्यान्वयन गर्न र ठीक ढङ्गले विकासलाई अघि बढाउन सांसदले अरू जिम्मेवारी पनि लिनुपर्ने अवस्था छ ।’
    
स्थानीय तह तथा प्रदेश र संघीय सरकारले गर्ने काम फरक फरक रहँदा रहँदै पनि मतदातामा सांसदले सबै खाले भूमिका खेलिदिओस् र सहभागी होइदिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले जनताका अपेक्षा र निर्वाचनका वाचा पूरा गर्नु आफ्नो बाध्यता रहेको स्पष्ट पारे ।  





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार ९:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया