logo-img

दूधको मूल्य घट्यो, किसान निराश
फाइल तस्बिर

चितवनको रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा कार्यरत थिए । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन/चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले ।

केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्छन्, ‘गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले  समस्या आयो ।’ 

व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उनको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी घाँस लगाएका कृषक थापा सबै पशुपालक किसानले व्यवसाय गर्दा घाँस लाउन अनिवार्य रहेको बताउँछन् । 

‘गाईलाई घाँस नभईकन उत्पादन हुँदैन, दाना चोकर खुवाउनभन्दा घाँसमा आधारित रहनुपर्छ,’ थापाले भने । रत्ननगर–१६ मा रहेको आफू आवद्घ भद्रकाली दूध उत्पादक सहकारीबाट सुपर नेपियर घाँसको कार्यक्रममार्फत अन्य किसानलाई पनि घाँस लगाउन प्रेरित गरेको उनको भनाइ छ । 

थापाको गोठ (फार्म) मा हाल होलस्टेन र जर्सी जातका गाई छन् । थापा दैनिक गोठमा खटेर काम गर्नाका साथै  सहयोगी पनि राखेका छन् ।  गाईलाई लाग्ने साधारण रोग तथा प्राविधिक समस्याको समाधानका लागि आफैं योग्य रहेको र थप जटिल समस्या तथा रोग लागेमा मात्र पशु प्राविधिक बोलाउने गरेको कृषक थापा बताउँछन् ।

भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत भएका उनले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् । थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्छन् । दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको थापाको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ । 



‘भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो,’ थापाले भने । केही समय अघि मात्रै ७९ रुपैयाँ प्रतिलिटरमा बिक्री भएको दूध हाल ७० रुपैयाँमा दिनु परेको गुनासो गर्दै उनी भन्छन्, ‘व्यापारीले दूध नलाने र सधैं मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैराश्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।’  

किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन । उत्पादनले मूल्य पाएमा यही जति पनि अवसर रहेको कृषक थापाको भनाइ छ ।



दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि  हाल दूध बिक्री नहुँदा अलि अलमलमा परेका उनी भन्छन्, ‘मुख्य बजारमा लैजाँदा दूध खरिदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।’ रासस

  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया