logo-img

अधिवेशन नचलेको बेला के गर्दैछ संसद् सचिवालय ?

संघीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन गत १६ कात्तिकमा अन्त्य भयो । 

सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुनसान बनेको छ । यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैं भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसको चाप निकै कम भएको छ । 

संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधि जारी रहने जनाएको छ । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए । 



उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकमाथि विस्तृतरूपले छलफल  गर्ने बताए । त्यसैगरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामहरूसमेत गर्ने उनले जानकारी दिए । 

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ । त्यसैगरी वेबसाइटलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका काम पनि संघीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए ।  



‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरू सञ्चालनमै रहेका हुन्छन् । यी अवधिमा समितिमा विचाराधीन विधेयकहरूमाथि समितिमा विस्तृतरूपमा छलफल हुन्छन् । संसदको अर्को काम सरकारको निगरानी गर्नु पनि हो । यो बीचमा समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्यप्रगतिको बारेमा बुझ्ने, आवश्यकता अनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ,’ गिरीले भने । 

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए । उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए ।  



पन्थले समसामयिक विषयमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने काम पनि समितिहरूले गर्नसक्ने र सोहीअनुरूप गरिरहेका पनि बताए ।  

‘संसद् अधिवेशन नभए पनि समितिहरू निरन्तर सुचारु हुनसक्छ । समितिमा विचाराधीन भएका विधेयकहरूको विषयमा छलफलहरू गर्नसक्छ । फिल्डमा गएर अनुगमन गर्नसक्छ । अध्ययन, अनुसन्धानका कामहरू गर्नसक्छ । संसद नहुँदा संसदकै रूपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरूमा जनताको ध्यानाकर्षण गराउने लगायत थुप्रै तरिकाले संसद् सरहकै कामहरू समितिले गर्न सक्छ । ती कामहरू गरिरहेको पनि छ,’ सभापति पन्थले भने ।

उनले अधिवेशन अन्त्य भएको बेलामा सांसद आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए ।  

  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १८:१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया