logo-img

युगान्डासँगको हारले तनावमा जिम्बाब्वे, विश्वकप यात्रा बन्यो कठिन

टेस्ट टोली जिम्बाब्वेले नामिबियामा जारी आइसिसी टी–२० विश्वकप अफ्रिकी छनोटमा खराब प्रदर्शन गरिहेको छ । उसले तीन खेल खेल्दा दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ । 

योसँगै ६ पटक विश्वकप खेलिसकेको जिम्बाब्वेलाई आउँदो वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपको टिकट सुरक्षित गर्न कठिन भएको छ । विश्वकपमा पुग्न ऊमाथि अब तीनै खेल जित्नुपर्ने दबाब बढेको छ ।  



जारी छनोट प्रतियोगितामा जिम्बाब्वेले पहिलो खेलमा नामिबियासँग ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो । दोस्रो खेलमा तान्जिनियालाई ९ विकेटले हराएको जिम्बाब्वेले तेस्रो खेलमा भने युगाण्डासँग ५ विकेटको अप्रत्यासित हार बेहोर्‍यो । ऊ पहिलोपटक युगान्डासँग पराजित भएको हो । जिम्बाब्वे अहिले दुई अंकसहित तालिकाको पाँचौं स्थानमा छ । उसले अब रुवान्डा, नाइजेरिया र केन्यासँग खेल्न बाँकी छ ।  

यी तीनमध्ये एक खेलमा हार बेहोरे जिम्बाब्वेको विश्वकप यात्रा निकै कठिन बन्नेछ । सबै खेल जित्न सकेमा चाहिँ ऊ सहजै विश्वकपमा पुग्न सक्छ । अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वे, केन्या, युगाण्डा, नाइजेरिया, रुवान्डा र तान्जिनियाले खेलिरहेका छन् ।



अंक तालिकाको शीर्ष दुईमा रहने टिमले नवौँ संस्करणको विश्वकप खेल्न पाउनेछन् ।

अहिलेसम्म आउँदो विश्वकप खेल्ने १८ टिमको टुंगो लागेको छ । हालसम्म अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नेपाल, नेदरल्याण्ड्स, अमेरिका, ओमान, पपुवा न्यूगिनी र क्यानडाले विश्वकप खेल्न पक्का भएको हो । जसमध्ये अमेरिका र क्यानडाले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । 



यस्तै, नेपालले दोस्रोपटक विश्वकप खेल्दैछ । एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले २०१४ पछि विश्वकप खेल्ने भएको हो । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुनमा हुनेछ ।  

  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार ११:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया