logo-img

संरक्षण अभावमा पुरिँदै कैलालीको जाखोर ताल

कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया उद्यानभित्र रहेको जाखोर ताल संरक्षणको अभावमा पुरिँदै गएको छ । नगरभित्रै रहेको महत्त्वपूर्ण पर्यटकीय तालको संरक्षण र सम्वर्द्धनमा हुन नसक्दा ताल क्षेत्र बर्सेनि पुरिँदै गएको हो । सो उद्यान जैविक विविधताले भरिएको पर्यटकीय क्षेत्र हो । 

वनस्पतिको विविधताका दृष्टिले समेत अति महत्त्वपूर्ण मानिने जाखोर ताल झन्डै १ सय ४९ दशमलव पाँच हेक्टर क्षेत्रमा फैलिएको सो स्थानमा चार थरिका रैथाने कमल, १ सय ५० थरिका जलीय वनस्पतिका प्रजाति पाइन्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण जाखोर तालको संरक्षणमा ध्यान नगए पनि घुमघाम गर्न जाने र रमणीय दृश्यावलोकन गर्ने वातावरण बन्दै गएको स्थानीय दीर्घ जोशीले बताए ।

जाखोर ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके त्यसबाट आर्थिक लाभ पनि गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । जाखोर ताल क्षेत्रमा देवहरिया वनस्पति उद्यानको नाममा वनस्पति कार्यालय कैलालीले बर्सेनि लाखौँ रकम खर्च गर्दै आएको छ । 

कार्यालयले सो क्षेत्रको जडीबुटी सङ्कलन गरी आम्दानी गर्दै आएको छ । वनस्पति उद्यान केन्द्र धनगढी कैलालीका प्रमुख गङ्गादत्त भट्टले तालमा जलकुम्भी हटाइएको बताए । वनस्पति उद्यान परिसरमा रहेको बगैँचाको घाँस सफा गर्ने, बिरुवामा मल हाल्ने काम अघि बढाएको जनाउँदै कार्यालय प्रमुख भट्टले तालमा रहेको जलकुम्भी हटाएर जैविक विविधता कायम राखेको उनले बताए ।
 
वि.सं २०५६ मा मन्त्रिपरिषद्को निर्णयबाट वनस्पति विभागलाई हस्तान्तरण गरेको देवहरियामा दैनिक ५ सय स्थानीय पर्यटक आउने गरेको प्रमुख भट्टले बताए । उनले नेपालमा तीन प्रजातिका रैथाने जङ्गली धानमध्ये सो ताल क्षेत्रमा दुई प्रजातिका जङ्गली धान पाइने गरेको बताउँदै पर्यावरणीय हिसाबका दृष्टिले उपयुक्त ठाउँ भएका कारण चराको बासस्थान पनि रहेको जानकारी दिए ।

‘अध्ययन, अनुसन्धान पर्यटन मनोरञ्जन गर्ने थलोका रूपमा विकास हुन थालेको छ’, भट्टले भने । रासस 





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया