logo-img

विश्वकप २०२४ फरक ढाँचामा, समूह चरणमै नेपालले बलियो टिमसँग खेल्ने
फाइल तस्बिर

आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो । यसपटक अमेरिका, क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्नेछन् ।

अमेरिका आयोजकको हैसियतमा तथा क्यानडा र युगान्डा भने छनोट प्रतियोगिता खेलेर विश्वकपमा डेब्यू गर्न लागेका हुन् । नवौँ संस्करणको विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ । एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको जित निकाल्दै नेपालले विश्वकपको टिकट पक्का गरेको थियो । 



यस्तै, एसिया क्षेत्र छनोटबाट नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान बनायो । आसन्न संस्करणको विश्वकपमा केही नयाँ नियम देख्न पाइनेछ । यो विश्वकप पहिलोपटक फरक ढंगबाट खेलिनेछ । सन् २०२१ र २०२२ मा पहिलो चरण र सुपर १२ फर्म्याटमा टी–२० विश्वकप खेलाइएको थियो ।

यसपटक भने विश्वकपमा नकआउट चरणअघि नै दुई चरणको खेल हुनेछ । सहभागी २० टिमलाई चार समूहमा बाँडिनेछ । प्रत्येक समूहमा ५/५ टोली हुनेछन् । समूह चरणको खेलपछि चारवटा ग्रुपबाट शीर्ष दुई टिमले सुपर आठमा स्थान बनाउने छन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

सुपर आठबाट शीर्ष दुई/दुई टिम सेमिफाइनलको यात्रा गर्नेछन् । ​नवौँ संस्करणको विश्वकपमा नेपालले ठूला टिमविरुद्ध खेल्ने पक्काजस्तै छ ।



समूह चरणमा नेपालले कम्तीमा दुई टेस्ट टिमसहित चार देशसँग खेल्ने मौका पाउनेछ । सन् २०१४ को विश्वकपमा नेपालले पहिलो चरणमा हङकङ, बंगलादेश र अफगानिस्तानसँग खेलेको थियो ।



आउँदो संस्करणको विश्वकप २०२४ को जुन ४ देखि ३० तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा हुनेछ । ​नवौँ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले आन्तरिक तयारी थालिसकेका छन् । 

विश्वकपअघि उनको रणनीति जति सकिन्छ आफूभन्दा बलियो टिमसँग सिरिज खेल्ने हुनेछ । साथै, प्रशिक्षक देसाईले विश्वकपका लागि खेलाडीको भूमिका पनि अहिलेदेखि नै प्रष्ट पार्नेछन् । त्यसले गर्दा विश्वकपमा नेपालले थप उत्कृष्ट प्रदर्शन गर्न सक्छ । 

  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १२:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया