logo-img

यू–१९ क्रिकेटमा पाकिस्तानसँग कस्तो छ नेपालको विगत नतिजा ?
फाइल तस्बिर

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गत हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी ओभल एकेडेमीमा सुरु हुनेछ । यो मैदान तीव्र गतिका बलर अनुकूल मानिन्छ । 

नेपाल टेस्ट टोली पाकिस्तानलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । हालै यू–१९ एसिसी प्रिमियर कप उपाधि जितेकाले नेपाली टिम उच्च मनोबलमा छ । पाकिस्तान पनि नेपालविरुद्ध उत्कृष्ट जितका साथ प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । 

पाकिस्तानले एसिया कपका लागि एकजना सिनियर खेलाडीलाई मात्र टिममा राखेको छ । उसले स्पिनर अराफात मिन्हासलाई यू–१९ टोलीमा समावेश गरेको हो । उनले पाकिस्तान सुपर लिगका साथै तीन टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । अराफातले तीन खेलमा ५.६२ को इकोनमीमा ४ विकेट लिएका छन् । उनले यही वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका हुन् ।

यता नेपालको टिममा गुलशन झा र कप्तान देव खनाल सर्वाधिक अनुभवी खेलाडी छन् । गुलशनले हालसम्म २४ एकदिवसीयमा २१ तथा १४ टी–२० म्याचमा १२ विकेट लिएका छन् । यस्तै, उनले एकदिवसीयमा तीन अर्धशतकको मद्दतमा ४ सय ८८ रन तथा टी–२० मा १४१ रनसमेत बनाएका छन् । टी–२० मा गुल्शनको नाममा एक अर्धशतकसमेत सामेल छ ।  



यस्तै, देवले अहिलेसम्म १४ एकदिवसीय म्याच खेलेका छन् । जसमा उनले दुई अर्धशतकको सहयोगमा २ सय ५३ रन बनाएका छन् । गुलशन र देव आफ्नो अनुभवको सदुपयोग गर्दै पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । यू–१९ एसिया कपमा हालसम्म पाकिस्तान र नेपालले एकअर्काविरुद्ध दुई म्याच खेलेको इतिहास छ ।  यी दुई टिमले पहिलोपटक एसिया कपमा सन् २०१२ मा खेलेका थिए । सो खेलमा पाकिस्तानसँग नेपाल ८ विकेटले पराजित भयो । 

यू–१९ एसिया कपमा यी दुई टिमको दोस्रो भेट सन् २०१३ मा भयो । जहाँ नेपालले १३२ रनको हार बेहोर्यो । एसिया कपको हेड टु हेड नतिजा हेर्दा नेपाललाई पाकिस्तानलाई हराउन सकेको छैन । यद्यपि यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई हराइसकेको इतिहास छ । नेपालले सन् २००२ मा भएको विश्वकपमा पाकिस्तानविरुद्ध ३० रनको जित निकालेको थियो । 



समग्रमा यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानको भेट तीन खेलमा भएको छ । जसमा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल र पाकिस्तानबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । 




  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया