आजदेखि यूएईमा सुरु हुन लागेको एसिसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको प्रतिस्पर्धा बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी ओभल एकेडेमीको मैदानमा सुरु हुनेछ ।
नेपाल यसपटक पाकिस्तानलाई हराउँदै प्रतियोगितामा अविस्मरणीय सुरुवात गर्न चाहन्छ । तर, पाकिस्तानी पेसरविरुद्ध नेपाललाई खेल जित्न सहज भने हुने छैन ।
पाकिस्तानको बलियो पक्ष भनेकै उसको फास्ट बलिङ हो । पाकिस्तानको टिममा राम्रो गतिमा बलिङ गर्ने बलरको प्रायः कमी हुँदैन । यसपटक पनि उसले राम्रो पेस भएको बलरलाई टोलीमा राखेको छ ।
नेपालले पाकिस्तानविरुद्ध चौका/छक्का प्रहार गर्नमा मात्र नभइ सिंगल/डबलमा पनि जोड दिनुपर्छ । तुलनात्मकरूपमा यसपटक पाकिस्तानको टिममा नेपालभन्दा कम अनुभवी खेलाडी छन् । उसले अन्तर्राष्ट्रिय क्रिकेट अनुभव हासिल गरेका अलराउन्डर अराफत मिन्हासलाई मात्र टोलीमा राखेको छ ।
यू–१९ टिमका उपकप्तानसमेत रहेका अराफतले तीन टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । यस्तै, पाकिस्तानले गत सिजनको एसिया कप खेलेका अली असफन्दलाई मात्र यसपटक निरन्तरता दिएको छ । नेपालले भने अघिल्लो संस्करणको यू–१९ एसिया कप खेलेका पाँच खेलाडीलाई यसपटक पनि मौका दिएको छ । जसमध्ये कप्तान देव खनाल र गुलशन झाले त अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू नै गरिसकेका छन् ।
देव र गुलशनसहित अहिले टिममा परेका अर्जुन कुमाल, दीपेश कँडेल र तिलकराज भण्डारीले २०२१ मा भएको यू–१९ एसिया कप पनि खेलेका थिए । यसरी हेर्दा नेपाललाई यसपटक पाकिस्तानविरुद्ध अनुभवको फाइदा उठाउँदै जित निकाल्ने अवसर छ ।
पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट प्लेइङ–११ का साथ मैदान उत्रनेछ । नेपालले ओपनिङमा अर्जुन कुमाल र दीपक बोहरालाई मौका दिने सम्भावना छ । यो जोडीले यही वर्ष भएको एसिसी यू–१९ प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
तेस्रो नम्बरमा आकाश त्रिपाठीले मौका पाउन सक्छन् । उनी ब्याटिङका साथै पार्टटाइम बलिङ पनि गर्छन् । आकाशले गत अक्टोबरमा भएको एसिसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध ५ ओभरमा ३७ रन दिएर ४ विकेट लिएका थिए ।
यस्तै, पाकिस्तानविरुद्ध चौथो नम्बरमा कप्तान देव खनालले ब्याटिङ गर्ने पक्काजस्तै छ ।
त्यस्तै, पाँचौंमा विकेटकिपर उत्तमरंघु थापा मगर, छैटौँमा गुलशन झा, सातौँमा दीपकप्रसाद डुम्रे, आठौँमा विशालविक्रम केसी, नवौँमा दीपेश कँडेल, दसौँमा हेमन्त धामी र ११औँ नम्बरमा आकाश चन्दले मौका पाउन सक्छन् ।
पहिलो खेलमा सुवास भण्डारी, विपिन रावल र तिलकराज भण्डारीले प्लेइङ–११ मा मौका पाउने सम्भावना कम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।