logo-img

यू–१९ एसिया कप : नेपालले पाकिस्तानलाई हराउन सक्ने तीन आधार
फाइल तस्बिर

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेलमा आज ​पाकिस्तानविरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल शुक्रबार बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी ओभल एकेडेमीको मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमै टेस्ट टोली पाकिस्तानलाई स्तब्ध पार्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । यद्यपि हालसम्म एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको रेकर्ड छैन ।

अहिलेसम्म यी दुई टिमले यू–१९ एसिया कपमा दुई खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले फराकिलो हार बेहोरेको इतिहास छ । यी दुई टिमले पहिलोपटक सन् २०१२ को यू–१९ एसिया कपमा एकअर्काको सामना गरेका थिए । सो खेलमा पाकिस्तानसँग नेपाल ८ विकेटले पराजित भयो । 



त्यसपछि यी दुई टिमले सन् २०१३/१४ को एसिया कपमा एकअर्काविरुद्ध खेले । जहाँ नेपालले १३२ रनको हार बेहोर्यो । यसपटक भने पाकिस्तानसँग नेपाल विगतको हिसाबकिताब चुक्ता गर्न चाहन्छ । यसैबीच आज यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले जित्नसक्ने तीन आधारको चर्चा गर्दैछौँ :

अनुभव



पाकिस्तानलाई यू–१९ एसिया कपमा हराउन सक्ने नेपालको प्रमुख आधार अनुभव हो । नेपालको टिममा प्रायः यू–१९ क्रिकेट खेलेको अनुभव प्राप्त खेलाडी छन् । कप्तान देव खनाल र गुलशन झाले त अन्तर्राष्ट्रिय क्रिकेटमा समेत डेब्यू गरिसकेका छन् । जसमध्ये गुलशनले भारत, पाकिस्तान, वेस्ट इण्डिज, जिम्बाब्वेलगायत टेस्ट टिमविरुद्ध क्रिकेट खेलिसकेका छन् । 



यस्तै, देवले पनि बलियो एसोसियट राष्ट्रविरुद्ध क्रिकेट खेलेको अनुभव हासिल गरिसकेका छन् । उनीहरू पाकिस्तानविरुद्ध आफ्नो अनुभवको सदुपयोग गर्दै नेपाललाई जित दिलाउन सक्छन् । देव र गुलशनसहित अहिले टिममा परेका अर्जुन कुमाल, दीपेश कँडेल र तिलकराज भण्डारीले २०२१ मा भएको यू–१९ एसिया कप पनि खेलेका थिए । यसरी हेर्दा नेपाललाई यसपटक पाकिस्तानविरुद्ध अनुभवको फाइदा उठाउँदै जित निकाल्ने मौका छ ।  

विपक्षीको कमजोरी 

यस एसिया कपमा पाकिस्तानी टिमले नयाँ खेलाडीलाई मौका दिएको छ । उसले राष्ट्रिय टिमका लागि खेलिसकेका स्पिनर अराफात मिन्हासलाई मात्र यू–१९ टोलीमा समावेश गरेको छ । उनले पाकिस्तान सुपर लिगका साथै तीन टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।

अराफातले तीन खेलमा ४ विकेट लिएका छन् । उनीबाहेक पाकिस्तानको टिममा खासै अनुभवी खेलाडी छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवी कमीका कारण पाकिस्तानी खेलाडी दबाबमा आउन सक्छन् । जसको फाइदा नेपालाई मिल्न सक्छ ।

उत्कृष्ट लय

पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न सक्ने अर्को बलियो आधार हो उत्कृष्ट लय । नेपालले यही वर्षको अक्टोबरमा भएको एसिसी यू–१९ प्रिमियर कपमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो । जहाँ नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । सो प्रतियोगिता खेलेका खेलाडी नै एसिया कपको टिममा छन् ।

उनीहरू पाकिस्तानविरुद्ध खेल्न मनोबल उच्च मनोबल बनाएर पनि बसिरहेका छन् । जसले सकारात्मक नतिजा ल्याउन पनि मद्दत पुग्नेछ । यस्तै, नेपालको सिनियर टिमले पछिल्लो समय भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेकाले युवा टोलीमा पनि उत्साह भरिएको छ ।  

एसिया कपमा नेपालले दोस्रो खेल आइतबार अफगानिस्तान तथा मंगलबार भारतसँग खेल्ने तालिका छ । त्यसपछि नेपालले दक्षिण अफ्रिकामा यू–१९ एसिया कप खेल्नेछ । विश्वकप आउँदो १३ जनवरीदेखि सुरु हुनेछ ।


  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया