यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल आइतबार बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुनेछ ।
दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा पाकिस्तान तथा अफगानिस्तानले भारतसँग समान ७ विकेटको हार बेहोरेका थिए ।
पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १ सय ५२ रनमै अलआउट भयो । यस्तै, पहिला नै ब्याटिङको मौका पाएको अफगानिस्तान भारतसँग १ सय ७३ रनमा समेटियो । अब आफ्नो दोस्रो खेलमा नेपाल र अफगानिस्तान उत्कृष्ट कमब्याक गर्न चाहन्छन् ।
पहिलो खेलमा नेपालले बलिङमा राम्रो सुरुवात गरे पनि ब्याटिङमा भने लय भेट्टाउन सकेन ।
प्लेइङ–११ मा तीन परिवर्तनको सम्भावना
अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब भएकाले नेपालले आफ्नो प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ । नेपालले दोस्रो खेलमा सुवास भण्डारी, विपिन रावल र आकाश त्रिपाठीलाई विश्राम दिएर दीपक बोहरा, हेमन्त धामी र दीपकप्रसाद डुम्रेलाई मौका दिने सम्भावना रहेको हो ।
पाकिस्तानविरुद्ध सुवासले ब्याटिङमा अविजित ८ रन जोड्दा बलिङमा ३ ओभरमा बिनाविकेट १५ रन खर्चिए । यस्तै, विपिन सात रनमै आउट भए । आकाशले बलिङमार्फत १.२ ओभरमा ८ रन दिएर एक विकेट लिए । उनले ब्याटिङमा ६ रन जोडे ।
पहिलो खेलमा ओपनिङ ब्याटर अर्जुन कुमालले ३७ बलमा तीन चौकासहित २१ रनको पारी खेले । कप्तान देव खनाल भने शून्यमै पवेलियन फर्किए ।
पाँचौं नम्बरमा ब्याटिङ गरेका उत्तम थापा मगरले ७६ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए । छैटौँ नम्बरमा ब्याटिङमा उत्रिएका गुलशन झा एक रनमै बोल्ड भए । सातौँमा मौका पाएका दीपेश कँडेलले ५९ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३१ रनको इनिङ खेले । यस्तै, विशालविक्रम केसी एक, तिलक भण्डारी शून्य र आकाश चन्द ५ रनमा आउट भए ।
यसरी हेर्दा पहिलो खेलमा नेपालको ब्याटिङ निकै खराब रह्यो । पाकिस्तानविरुद्ध टस हार्दा पनि नेपाललाई घाटा भयो । किनकी पहिलो इनिङमा रन बनाउन ब्याटर संघर्षरत रहे । दोस्रो पारीमा भने दुवै खेलमा रन बनेको थियो । त्यसकारण अफगानिस्तानविरुद्ध नेपालका लागि टस पनि महत्वपूर्ण हुनेछ ।
दोस्रो खेलमा नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, दीपप्रसाद डुम्रे, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, तिलक भण्डारी, आकाश चन्द र हेमन्त धामी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।