logo-img

यू–१९ एसिया कपमा अफगानिस्तानसँग कस्तो छ नेपालको विगत ?
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुनेछ । 

सेमिफाइनल सम्भावना जीवित राख्न नेपाली टोली अफगानिस्ताविरुद्ध जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । 

यता समूह ‘ए’ कै अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । उसले पहिलो म्याचमा भारतसँग ७ विकेटले हार बेहोरेको थियो । अफगानिस्तान पनि नेपालविरुद्ध उत्कृष्ट जित निकाल्दै सेमिफाइनल सम्भावना कायमै राख्ने सोचमा छ ।  



नेपाललाई इतिहास रच्ने मौका 

यू–१९ एसिया कपको इतिहास हेर्दा हालसम्म अफगानिस्तानले एकपटक उपाधि जितेको छ । उसले सन् २०१७ मा पाकिस्तानलाई १ सय ८५ रनले हराउँदै उपाधि जितेको थियो । नेपालले भने अहिलेसम्म फाइनलमासमेत स्थान बनाउन सकेको छैन । 



यस्तै, एसिया कपमा अफगानिस्तानसँगको ‘हेड टु हेड’ नतिजा हेर्दा नेपालले जित निकाल्न सकेको छैन । यी दुई टिमले हालसम्म एसिया कपमा एक खेलमा मात्र एकअर्काको सामना गरेको छ । 



सन् २०१८ मा भएको एसिया कपमा अफगानिस्तानसँग नेपालले तीन विकेटको हार बेहोरेको थियो । बंगलादेशमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल ३८.३ ओभरमा १ सय ३१ रनमा अलआउट भयो । नेपालका लागि रोहित पौडेलले ४६, राशिद खानले ३०, कप्तान आसिफ शेखले २० र रित गौतमले १० रन बनाए ।  

उक्त खेलमा नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान रहमानुल्लाह गुर्बाजले ३० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २६ रन बनाए । बलिङमा सूर्य तामाङले चार तथा सागर ढकाल, राशिद खान, पवन सर्राफ र राशिद खानले एक/एक विकेट लिए । 

अफगानिस्तान यसपटक पनि नेपाललाई हराउँदै आफ्नो विगत दबदबा कायमै राख्न चाहन्छ । नेपाल भने पहिलोपटक एसिया कपमा अफगानिस्तानलाई निराश बनाउँदै इतिहास रच्ने दाउमा छ ।  


  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया