logo-img

अर्जुन कुमाल अर्थात् नेपाली क्रिकेटको ‘भविष्य’
राष्ट्रिय टिमको ढोका ढकढक्याउँदै अर्जुन
फाइल तस्बिर

यू–१९ टिमका ओपनिङ ब्याटर अर्जुन कुमाललाई नेपाली क्रिकेटको भविष्य अहिले होइन उहिलेदेखि नै भन्न थालिएको हो । त्यसैले त उनी दुई वर्षअघि नै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । यद्यपि अर्जुन सिनियर टिमको अन्तिम सूचीमा भने अटाएनन् ।

उमेर सानै भए पनि त्यतिबेला उनको ब्याटिङ भने परिपक्क खेलाडीको भन्दा कम थिएन । अर्जुनले अहिले आफ्नो ब्याटिङ थप बलियो बनाएका छन् । उनले यसको पुष्टि यूएईमा जारी यू–१९ एसिया कपमा पनि गरिसकेका छन् । 

अरू नेपाली ब्याटर रन जोड्न संघर्ष गरिरहेका बेला अर्जुनले भने टेस्ट टिमविरुद्ध निडर भएर खेले । पहिलो खेलमा पाकिस्तानविरुद्ध उनले ३७ बलमा तीन चौकासहित २१ रन बनाउँदै राम्रो सुरुवात दिलाउने प्रयास गरे । तर, अरू ब्याटरको साथ नपाउँदा उनी केही दबाब देखिए । र, विकेट गुमाउन पुगे । तर, दोस्रो खेलमा भने अर्जुनले निडर भएर अफगानी बलरको सामना गरे ।

४० ओभरसम्म खेलेका उनले १०८ बलमा १३ चौकासहित सर्वाधिक ९१ रनको पारी खेले । अर्जुनको ब्याटिङ हेर्दा लाग्थ्यो उनी ‘लामो रेसका घोडा’ हुन् । अहिले धेरैले उनको ब्याटिङको प्रशंसा गरिरहेका छन् । 



एक एन्डबाट लगातार विकेट पतन भए पनि अर्जुनले भने ढुक्कका साथ ब्याटिङ गरे । उनी एक्लैले अफगानी बलरलाई दबाबमा राखे । अन्य ब्याटरको साथ पाएको भए अफगानिस्तानविरुद्ध अर्जुनले नेपाललाई जित दिलाउने निश्चितजस्तै थियो । तर, दोस्रो खेलमा उनीबाहेक अरूको ब्याटबाट रन निस्किएन । अर्जुनमा ब्याटिङ गर्ने शैली अरू नेपाली युवा खेलाडीभन्दा अलि फरक छ । 

भारतमा प्रशिक्षण लिएर पनि होला उनमा सर्ट छनोटदेखि विपक्षी बलरलाई दबाबमा राख्ने राम्रो खुबी छ । गुल्मी घर भएका अर्जुनका बुबा–आमा भारतको नयाँदिल्लीमा बस्दै आएका छन् । उनी हाल पनि नेपाल–भारत आउजाउ गरिराख्छन् । अर्जुन दिल्लीको क्रिकेट माहोलमा हुर्किएका हुन् ।  



उनले ८ वर्षको उमेरमा एकेडेमीमै भर्ना भएर प्रशिक्षण थालेका थिए । भारतमा प्रशिक्षण गरे पनि उनको लगाव भने नेपाली क्रिकेटप्रति छ । उनले नेपालमा पहिलोपटक २०७५ सालमा यू–१६ को गण्डकी प्रदेशको छनोट खेल खेलेका थिए ।

सो प्रतियोगितामा उनले ३ खेलमा १४२ रन बनाए ।  अर्जुनले नेपालका लागि पहिलो खेल सन् २०१९ अप्रिलमा थाइल्याण्डमा आयोजित एसिसी इस्टर्न जोन यू–१६ प्रतियोगितामा खेले । त्यसपछि उनले नेपाली क्रिकेट समर्थक र प्रशिक्षकको मन जित्दै आएका छन् ।  

अर्जुनले गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन र गत अक्टोबरमा एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रनको पारी खेले । सो प्रतियोगिताको उपाधि जित्दा फाइनलमा उनले यूएईविरुद्ध ७८ बलमा ५५ रन बनाएका थिए । उमेर समूहको क्रिकेटका लगातार राम्रो प्रदर्शन गरिरहेका अर्जुन छिट्टै सिनियर टिममा मौका पाउने सम्भावना छ । 

हाल आसिफ शेख र कुशल भुर्तेल नेपाली टिममा नियमित ओपनिङ गर्दै आएका छन् । यदि उनीहरूमध्ये कुनै खेलाडी घाइते वा लयमा नभएको खण्डमा ओपनिङमा जम्न सक्ने पर्याप्त खेलाडी छैनन् । यस्तो अवस्थामा धैर्य र निडर भएर खेल्नसक्ने अर्जुन राम्रो विकल्प हुन सक्छन् ।  


  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १२:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया