logo-img

एमालेको संकल्प यात्रा : जनताका गुनासो समाधान खोजीभन्दा सरकारलाई गाली गर्नमा मात्र सीमित
तस्बिर : रासस

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट महाकाली–मेची यात्रा सुरु गर्‍यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभियानका रूपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी यात्रा सकिएको छ । 

आजसम्म एमालेले बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकिसकेको छ । सो क्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झुलाघाटदेखि नै अभियानमा जोडिरहेका छन् । यात्राका क्रममा पार्टीले गरेका सार्वजनिक आमसभामा अध्यक्ष ओलीका भाषण सरकारलाई निशानामा राखेर गरिएको पाइन्छ । 

ओलीले यात्रामा सरकारविरुद्ध निशाना साँधेको कुरा झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म गरेका भाषणले स्पष्ट हुन्छ । एमालेको यात्राका क्रममा सार्वजनिक कार्यक्रमलाई हेर्दा भने जनतासँगका गुनासा र समस्या समाधानको खोजीतर्फ खासै केन्द्रित भएको देखिँदैन ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ भनिए पनि अध्यक्ष ओलीले त्यसलाई सरकारको विरोधमा आम जनतालाई गोलबन्द गर्ने अभियानको रूपमा प्रयोग गर्ने प्रयास गरेको पाइन्छ । त्यसो त ओलीले सो अभियान सुरु गर्नुअघि नै अब सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । 

अभियानको क्रममा उनका अभिव्यक्ति सरकारको विरोधमा केन्द्रित छन् । तर, अझै आधा भू–भागको यात्रा बाँकी रहेकाले त्यस समयावधिमा के हुन्छन् भन्ने हेर्न बाँकी नै छ । कोशी प्रदेशमा पहिचानवादीले एमालेको सो अभियानलाई प्रवेश नै गर्न नदिने भनेको कुरालाई लिएर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानवादीलाई संरक्षण गरेको र सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेकाले पनि सहजै अनुमान लगाउन सकिन्छ की आगामी जिल्लामा ओलीका भाषण सरकारप्रति आलोचना गर्नेभन्दा फरक हुने छैनन् । 



जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिनेगरी आफ्नो अभिव्यक्ति दिएका छन् । सो अभियानको शुभारम्भ गर्दादेखि नै मुलुकको समृद्धिका लागि आफूहरू मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए पनि उनका अभिव्यक्ति सरकारविरुद्ध बढी लक्षित छन् ।



ओलीले अभियानका क्रममा स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरूले पनि उनीसँग स्थानीय समस्या र त्यसका समाधानका लागि पहल गरिदिन आग्रह नगरेका पनि होइनन् । तर, उनले आफ्नो अभिव्यक्तिमार्फत देशको समस्या सत्तारुढ गठबन्धनले समाधान गर्न नसक्ने सन्देश आम जनतालाई दिने प्रयास गरेका छन् । 

दैलेखमा पुगेर ओलीले वर्तमान सरकार रहेसम्म मुलुकमा विकास, निर्माणको कामले गति लिन नसक्ने दाबी गरेका थिए । अभियानका क्रममा ओलीका अभिव्यक्ति वर्तमान गठबन्धन सरकारको विकल्प खोज्ने कुरामा बढी केन्द्रित देखिन्छ ।

ओलीले राष्ट्रिय स्वाधीनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । बागलुङमा आयोजित सभामा उनले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण गर्नै नसक्ने जिकिर गरेका थिए ।

सोक्रममा ओलीले भनेका थिए, ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ । सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।’

ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । भारतको इसारामा वर्तमान सत्तारुढ गठबन्धन चलेको उसले चीनको सहयोग लिन डराएको ओलीको आरोप छ । उनी उत्तरी छिमेकी मुलुक चीनको साथ लिएर फेरि सरकारमा आउन चाहन्छन् भन्ने सन्देश सो अभिव्यक्तिले दिन्छ ।

ओलीले भनेका छन्, ‘अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरू को–कोसँग कहाँ–कहाँ डराउँछ ।’

ओलीले पार्टीका नेताहरूलाई साथमा लिएर अभियानको क्रममा दिएको अभिव्यक्ति सरकारविरुद्ध जनमत सिर्जना गर्ने र त्यसका परिचालन गरेर वर्तमान सरकार हटाउने कुरामा केन्द्रित देखिन्छ ।

उनले जनतामाझ अपिल गर्दै भनेको छन्, ‘वर्तमान सरकार रहेसम्म संकटमा रहेको मुलुकको अर्थतन्त्रमा सुधार आउँदैन, विकास, निर्माणको कामले गति लिन सक्दैन ।’

ओलीले वर्तमान सरकारले देशलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पनि एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् ।

‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्रको जालोले छोपेको छ,’ उनले अगाडि भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

हुन त अध्यक्ष ओलीको देश दौडाहालाई चीनका नेता माओको ‘लङ मार्च’ सँग तुलना गर्नेहरू पनि नभएका होइनन् । खासमा ओली भने पार्टीको सो १९ दिने समृद्धिका लागि संकल्प यात्रालाई सरकारको विकल्प खोज्ने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छन् । ओलीले अभियानका क्रममा सरकार विरुद्ध जनमत सिर्जना गर्नका लागि वर्तमान सरकार आफैं ढल्ने अवस्था पुगेको समेत बताएका छन् ।

अवश्य पनि ओलीले आफूले सरकारको नेतृत्व पाएको बेला ‘समृद्ध नेपालः सुखी नेपाली’ को परिकल्पना अघि सारेका हुन् । उनले भारतसँगको नाकाबन्दीको सामना गरेर, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर आफूलाई राष्ट्रवादी नेताको पहिचान बनाउने प्रयास पनि गरेकै हुन् । तर वर्तमान अवस्थामा ओलीका यी प्रयासले मात्रै उनलाई सत्ताको बाघडोर सुम्पने अवस्था छैन । सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत छ । तर पनि जनता गठबन्धन सरकारसँग असन्तुष्ट नै छन् । 

अर्थात् सरकारले नागरिकलाई गरेको प्रतिबद्धताअनुसारका कामहरू व्यवहारतः देखाउन सकेको छैन । पार्टीको पक्षमा जनमत पारेर सत्तारोहण गर्ने ओलीको प्रयासलाई सत्तारुढ गठबन्धन दलभित्रैबाट साथ दिए मात्रै पूरा हुने देखिन्छ ।

मुलुक अस्थिरतामा फसेको नेपाली राजनीतिलाई माथि उकास्ने अवसरको खोजीमा छ । यस्तो बेलामा ओलीको फेरि सत्तारोहण गर्ने अभिलाषा पूरा होला वा नहोला । त्यो भने हेर्न बाँकी नै छ । एमालेको मध्यपहाडी यात्रा चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।    

  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया