logo-img

दरबार हत्याकाण्डले नै गणतन्त्र ल्याएको हो- चीरनशमशेर थापा (भिडियोसहित)
‘पुस १ को कदमले राष्ट्रियता बलियो भयो, प्रजातन्त्र भने कमजोर भयो’
भिडियो तथा तस्बिरहरू : राजकुमार श्रेष्ठ र सुशील धामी/फरकधार

नारायणहिटी राजदरबारभित्र चार दशक बिताएका एक महत्वपूर्ण पात्र हुन्, डा.चिरनशमशेर थापा । राजदरबारको संवाद सचिवालयमा रहेर तीन राजाहरू–महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहसँग काम गरेका ८१ वर्षीय थापाले राजा, दरबार, राजनीति तथा छिमेकी मुलुकहरूको चालढाल नजिकबाट नियाल्ने मौका पाए ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली हुन्, चिरनशमशेर । तत्कालीन युवराजाधिराज वीरेन्द्रसँग बेलायतमै भेटघाटले निकटता बढाएपछि पढाइ सकेर उनी ०२१ सालमा नेपाल फर्किए । 

नेपाल फर्किएपछि वीरेन्द्रको निजी सचिवका रूपमा राजदरबार पसे । ०२१ पुसदेखि ०६० साल वैशाखसम्म झण्डै चार दशक नारायणहिटी राजदरबारको संवाद सचिवालयमा कार्यरत रहे । 

पुस १ गतेको कदमबाट राष्ट्रियता अगाडि बढेकै हो । तर, केही हदसम्म प्रजातन्त्र पछाडि परेको हो । त्यो हामीले विश्लेषण गर्दा दुईवटै कुरा हेर्नुपर्छ । एक किसिमबाट नेपाल बलियो भयो, अर्को किसिमले प्रजातन्त्र भने कमजोर भयो । ​

थापासँग राजदरबारभित्रको अन्तरद्वन्द्व, छिमेकी तथा शक्ति राष्ट्रहरूसँग दरबारको सम्बन्ध अनि नेपाली राजनीतिक दल र दरबारबीचको टकरावका विषयमा फरकधारका​ लागि सन्तोष आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

०१७ साल पुस १ गते राजा महेन्द्रले तत्कालीन जननिर्वाचित सरकार अपदस्त गरेको जुन घटना छ, त्यसलाई लिएर अहिलेसम्म पनि बहस हुने गरेको छ । राजा महेन्द्र र बिपी कोइरालाबीच व्यक्तित्वको टकराव थियो वा यसभित्र केही अन्तराष्ट्रिय दबाब पनि थिए । के कारणले राजा महेन्द्रले त्यो कू गरे ? 

व्यक्तिगत टकराव त पक्कै थियो, त्यो हामीहरू भन्न पनि सक्छौँ । राजा महेन्द्रले पनि देशको भलो होस् नै भन्ने चाहिबक्सन्थ्यो । र, देश अगाडि बढोस् भन्ने नै बिपीको पनि चाहना थियो । तर, उहाँहरूबीच कुरा मिलेन । त्यसको नतिजा हामीले देखिहाल्यौँ । पुस १ गतेको कदमबाट राष्ट्रियता अगाडि बढेकै हो । तर, केही हदसम्म प्रजातन्त्र पछाडि परेको हो । त्यो हामीले विश्लेषण गर्दा दुईवटै कुरा हेर्नुपर्छ । एक किसिमबाट नेपाल बलियो भयो, अर्को किसिमले प्रजातन्त्र भने कमजोर भयो । 



त्यसमा के कारण थियो ? भारतको सहमति बेगर राजा महेन्द्रले त्यत्रो कू गरे भन्ने लाग्छ तपाईंलाई ? 

राजा महेन्द्र अन्तर्राष्ट्रिय दृष्टिकोणसँग परिचित होइबक्सन्थ्यो । उहाँले विचार गरेर नै उक्त कदम अपनाइबक्सेको हो । तर, उहाँले जे कदम अपनाइबक्सन्थो, त्यो एउटा स्वतन्त्र राजाको रूपमा मात्रै होइन कि स्वतन्त्र नेपालीकै रूपमा रहेर हो । कुनै मुलुकले दबाब दिएर नेपालमा ‘कु’ गराएको भन्ने मलाई लाग्दैन ।  



राजा महेन्द्र भारतसँग सहज नभएको, तर चीनप्रति बढी ढल्किएको भन्ने गरिन्छ । सहमत हुनुहुन्छ ? 

कतैपट्टि ढल्काइ थियो भने उहाँको ढल्काइ नेपालप्रति मात्रै थियो । जुन कदम अपनाई बक्से पनि त्यो कदम ठीक भयो वा भएन भनेर विचार गर्न सक्ने क्षमता उहाँमा थियो ।

राजा महेन्द्र र पछि राजा वीरेन्द्रबाट पञ्चायत व्यवस्थालाई खुल्लमखुल्ला विरोध नगरुन्जेल समेटेरै लग्ने नीति थियो । त्यसमा कम्युनिस्टलाई काखा, कांग्रेसलाई पाखा गर्ने नीतिचाहिँ थिएन ।

 
हाम्रा छिमेकी राष्ट्र त भइहाले, त्यसबाहेक तत्कालीन सोभियत संघ र अमेरिकाको पनि ‘नेपाल चासो’ थियो भनिन्छ । त्यो के कारणले भएको थियो ?

राजा महेन्द्रबाट भारत र चीन दुवैको विशेष चासोलाई ध्यान दिइबक्सन्थ्यो । र, नेपाललाई फाइदा हुने कुरामा त उहाँ जसरी भए पनि अगाडि बढिबक्सिन्थ्यो । तर, त्यसबेला हाम्रा दुवै छिमेकीहरू गरिब थिए । यसैले हामीलाई तेस्रो देश पनि आवश्यक थियो । यसैले हामीलाई उनीहरूको पैसा र सीप दुवै आवश्यक थियो । यसैले पनि नेपालसँग उनीहरूको सहकार्य भयो । यसमा राजा महेन्द्रले मात्र होइन, त्यसभन्दा अघि बिपी कोइराला र अरू प्रधानमन्त्रीहरूले पनि फाइदा उठाएकै हो । 

तपाईंलाई राजा महेन्द्र कस्तो कूटनीतिज्ञ लाग्छ असल, खराब या औसत ? 

उहाँचाहिँ सर्वश्रेष्ठ होइबक्सिन्थ्यो । कूटनीतिमा सायद राजा महेन्द्रलाई भेट्टाउन सक्ने त्यसबेला कमै थिए । हरेक कुरामा उहाँको गहिरो अध्ययन थियो । कुनै कदम चाल्दाखेरि पनि अन्तराष्ट्रिय परिस्थितिको अध्ययन गर्ने, तर सधैँ नेपालको हितलाई केन्द्रमा राख्ने उहाँको स्वभाव थियो । 

नेपाली कांग्रेसलाई कमजोर पार्न कम्युनिस्टहरूलाई दरबारले संरक्षण गरेको भनिन्छ । वास्तविकता के हो ? 

राजा महेन्द्र र पछि राजा वीरेन्द्रबाट पञ्चायत व्यवस्थालाई खुल्लमखुल्ला विरोध नगरुन्जेल समेटेरै लग्ने नीति थियो । त्यसमा कम्युनिस्टलाई काखा, कांग्रेसलाई पाखा गर्ने नीतिचाहिँ थिएन । कांग्रेसकै नेताहरू पनि पञ्चायत व्यवस्थामा आएकै हुन् । कम्युनिस्टहरू पनि आएकै हुन् । उनीहरूलाई स्वागत थियो । राजदरबारको नीति ‘सबैलाई पञ्चायतमा ठाउँ छ’ भन्ने नै थियो । 

राजा महेन्द्र यदि बाँचिबक्सेको भए दुई वर्षपछि गद्दी त्याग गरेर राजा वीरेन्द्रलाई नै गद्दी सुम्पिबक्सिन्थ्यो । योचाँहि पक्कै हो । राजा महेन्द्र राजा भएको २० वर्षपछि गद्दी त्याग गर्ने कुरा आफ्ना नजिककालाई हुकुम भएको थियो । 

निधनअघि राजा महेन्द्र प्रजातन्त्रसहितको नयाँ संविधान दिने तयारीमा थिए ?

मैले विभिन्न माध्यमबाट सुनेको छु । राजा वीरेन्द्रबाट चाहिँ आफ्नै किसिमबाट चाहिँ देशको राजनीति चलाइबक्स्यो । यदि राजा महेन्द्र केही वर्ष बाँचिबक्सेको भए कस्तो हुन्थ्यो भन्ने कुरा हामी अनुमान मात्रै गर्न सक्छौँ । इतिहास यथार्थको आधारमा चल्छ । 

महेन्द्रको निधनपछि अकस्मात् राजाको दायित्व आउँदा युवराजधिराज वीरेन्द्रमा कस्तो मनोभावना पाउनुभयो ? 

वीरेन्द्र सरकार युवराजधिराज होइबक्सेकै झण्डै सात वर्ष भइसकेको थियो । ‘उत्तराधिकारीको रूपमा म नै राजा हुन्छु’ भन्ने उहाँलाई प्रस्ट थियो । राजा महेन्द्र यदि बाँचिबक्सेको भए दुई वर्षपछि गद्दी त्याग गरेर राजा वीरेन्द्रलाई नै गद्दी सुम्पिबक्सिन्थ्यो । योचाँहि पक्कै हो । राजा महेन्द्र राजा भएको २० वर्षपछि गद्दी त्याग गर्ने कुरा आफ्ना नजिककालाई हुकुम भएको थियो । 

त्यसको कारण के थियो ? 

राजा महेन्द्रलाई ‘मैले गर्नुपर्ने समयमा जुन काम गर्नुपर्ने हो गरेँ । अबचाहिँ राजतन्त्र मात्रै होइन, नेपाल नै बचाउने हो भने वीरेन्द्रबाट मात्र सम्भव छ’ भन्ने परेजस्तो लाग्छ । तपाईं हामी दिनानुदिनको विचार गर्छौं । उहाँहरूको चाहिँ दशक–दशकको विचार हुन्छ । उहाँहरूको दृष्टिकोण नै आज मैले गरेको कामले १० वर्षपछि के हुन्छ ? भन्ने नै हुन्छ । राजा महेन्द्रले १७ वर्ष शासन गरिबक्स्यो । राजा वीरेन्द्रबाट त ३० वर्ष पुग्नलाई आठ महिना कम थियो । उहाँले २९ वर्ष चार महिना शासन गरिबक्स्यो । त्यसमा संवैधानिक राजा होइबक्स्यो । शक्तिशाली राजा होइबक्स्यो । 

वीरेन्द्र राजा भइसकेपछि एउटा आरोप लाग्ने गर्छ, सिंहदरबारको शक्ति राजपरिवारका सदस्यमा पुग्यो । शक्तिकेन्द्र त्यहाँ स्थापित भयो भन्ने आरोप पनि पछिसम्म लाग्दै आयो । तपाईंलाई के लाग्छ ? 

यो मैले धेरैपटक सुनेको छु । र, कहिलेकाहीँ चाहिँ अन्तराष्ट्रिय प्रेस र नेपाली प्रेसले पनि महाराजधिराजलाई यही कुरा सोध्थ्यो । एकपटक बेलायतको नामी पत्रकारले अन्तर्वार्तामा महाराजधिराज वीरेन्द्रलाई एउटा प्रश्न सोध्यो । त्यो बेला मसँगै थिए । उसले सोध्यो– तपाईंको यो संवाद सचिव त प्रधानमन्त्रीभन्दा पनि बलियो छ भनेर भन्छन् नि ?’ प्रश्न सुनेपछि महाराजधिराज मतिर हेरेर हाँसिबक्स्यो । केही हदसम्म त्यसबेला सिंहदरबार त कहिले राजदरबार बलियो हुन्थ्यो । प्रधानमन्त्रीलाई पूरा शक्ति थियो । उहाँहरूलाई पूरा विश्वास पनि गरिबक्सन्थ्यो । उहाँहरूको सल्लाह पनि लिइबक्सन्थ्यो । आफूले सल्लाह पनि दिइबक्सन्थ्यो । 

पञ्चायतकालमा राजदरबारको सचिव भन्नेबित्तिकै राष्ट्रिय पञ्चायत सदस्यदेखि अञ्चलाधीशसम्म थर्कमान हुन्थे भनिन्थ्यो । व्यक्तिका कारण यस्तो भएको थियो वा संस्थागत रूपमा नै त्यस्तै संरचना बनाइएको थियो ? 

व्यक्तिका कारणले यस्तो हुन्थ्यो । बाहिर हल्ला गर्छन्–दरबारले हामीहरूलाई थिचोमिचो गर्यो भन्ने । मलाईचाहिँ कहिले पनि कतैबाट ‘यसो गर उसो गर’ भन्ने आएन । 

भारतमा इन्दिरा गान्धीको उदय भयो र उनी सत्तामा आइन् । त्यसपछि नेपालसँगको सम्बन्ध बिग्रिँदै गएको हो भन्छन् । भारतमा इन्दिरा र यता वीरेन्द्र नेतृत्वमा हुँदा दुवैजनाबीचको रसायन मिल्न नसकेको हो ?

हो । राजा वीरेन्द्र युवराज हुँदाखेरि नै जवाहरलाल नेहरूदेखिकै सम्बन्ध थियो । पण्डित नेहरूलाई बीचबीचमा युवराजधिराजसँग दिल्लीबाट सवारी हुँदा पनि भेटघाट हुन्थ्यो । पण्डित नेहरू एक किसिमको व्यक्तित्व हुनुहुन्थ्यो, इन्दिरा गान्धी अर्को किसिमको । अझ राजीव गान्धी झन् अर्कै किसिमको । 

हामीले बिर्सन हुँदैन कि उहाँहरूको पुस्ता नै फरक थियो । इन्दिरा गान्धी राजा महेन्द्रभन्दा जेठी हुनुहुन्थ्यो । राजा वीरेन्द्र राजीव गान्धीभन्दा कान्छो होइबक्सन्थ्यो । 

राजा वीरेन्द्रबाट आएको शान्ति क्षेत्रको प्रस्ताव के थियो ? जसको कारणले भारतसँग नेपालको सम्बन्ध बिग्रिएको हो ? 

नेपालाई शान्ति क्षेत्र कायम गर्ने कुरामा विभिन्न तहमा भारतसँग कुराकानी भइरहेकै थियो । तर, भारतले न समर्थन न त विरोधको नीति लियो । जबकि अरू कुराहरूमा उनीहरूले ठाडो विरोध गर्थे । दुई–तीनपटक भारतले नेपालमा बन्द व्यापार गर्न खोजेको थियो । त्यो सम्भव भएन । सायद यसैले पनि नेपालको शान्ति क्षेत्र प्रस्तावलाई भारतले समर्थन गरेन ।
 
अर्को सन्दर्भ, त्यसबेला राजदरबारमा अनेक शक्तिकेन्द्रहरू थिए भनिन्छ । त्यतिखेर एउटा नामै आएको थियो– भूमिगत गिरोह भनेर । यो भूमिगत गिरोह खासमा के थियो ? 

(लामो हाँसो) । इतिहासको कुरा गर्नुभयो । भूमिगत गिरोहको कुरा त्यसबेला प्रेसमा बारम्बार आइराख्थ्यो । त्यसमा अध्ययन पनि हुन्थ्यो । कुनै व्यक्तिको कारणबाट, केही राजाको नजिक भएको कारणबाट केही व्यक्ति अलि शक्तिशाली हुनसक्थ्यो होला । भएको पनि थियो होला । तर, त्यो गिरोह पूरै समय थियो भन्नु तिललाई पहाड बनाएको त म भन्दिनँ । सानो पहाडलाई ठूलो पहाड त बनाएकै हो  । 

रानी ऐश्वर्यको सक्रियतालाई लिएर पनि टिप्पणी गर्ने गरिन्छ । आवश्यकताभन्दा बढी सक्रियता थियो । ज्ञानेन्द्रको पनि एक किसिमको आफ्नै गुट थियो भनिन्छ । दरबारभित्र अनेक गुट–उपगुट अस्तित्वमा भएको यथार्थ होइन र ? 

कुनै एक गुट थियो भने त्यो तत्कालीन महाराजधिराजको थियो । राजाको पूरा विश्वास प्रधानमन्त्रीमा थियो । 

नेपाल आउँदा सोनिया गान्धी पशपुतिनाथ मन्दिरमा गएको होइन । विशिष्ट व्यक्तिहरूको भ्रमणमा पहिले नै भ्रमण तालिका बन्छ । त्यसमा सोनिया गान्धीको भ्रमण समावेश थिएन । ​

राजीव गान्धीसहित सोनिया गान्धीको नेपाल भ्रमण भएको बेला सोनियालाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगाएपछि नेपाल–भारत सम्बन्धमा तिक्तता आएको र ०४५ सालमा भारतले नेपालमा लगाएको नाकाबन्दीमा त्यो एउटा कडी रह्यो भनिन्छ । खासमा के भएको थियो ? 

नेपाल आउँदा सोनिया गान्धी पशपुतिनाथ मन्दिरमा गएको होइन । विशिष्ट व्यक्तिहरूको भ्रमणमा पहिले नै भ्रमण तालिका बन्छ । त्यसमा सोनिया गान्धीको भ्रमण समावेश थिएन । 

त्यसबेला सोनिया गान्धी पशुपतिनाथ मन्दिर गएको होइन ? 

कमसेकम पशुपतिनाथको ढोकामा गएको र त्यहाँबाट उहाँलाई कसैले फर्काएको चाहिँ पक्कै होइन । 

०४५ सालमा भारतले नेपालमा गरेको नाकाबन्दीको कारण के थियो ? 

त्यसको कारण राजनीतिक थियो । नाकाबन्दीको मुख्य कारणचाहिँ हामीले चीनबाट ल्याएको हातहतियार नै थियो । चीनबाट मगाएको हातहतियार सबै प्रतिरक्षात्मक खालका थिए । त्यसले भारतलाई केही बेफाइदा थिएन । तिब्बतको बाटोबाट आएकोले भारतलाई खबर गर्ने कुरा थिएन । 

०४६ सालको जुन आन्दोलन भयो, यही असन्तुष्टिलाई टेकेर उसले त्यो आन्दोलनलाई बल दिएको एकथरीको दाबी छ । के भन्नुहुन्छ ? 
 
त्योबेला केही हदसम्म भारतसँग संवाद गर्ने क्रममा म पनि थिएँ । दिल्लीमा पनि मेरो संवाद भएको थियो । राजीव गान्धीकै प्रतिनिधिसँग । तर, त्यो बेला केही हदसम्म नेपालकै सरकारका प्रतिनिधिले भारतसँग बिग्रेको सम्बन्ध पहिलेकै स्थितिमा जाने हो भने त यो सम्बन्ध बिगारेको मतलबै भएन भन्ने कुरा गरे । ०४६ सालको जनआन्दोलन हुनुमा अन्तराष्ट्रिय कारणबाहेक आन्तरिक कारण पनि थियो । मान्छेहरूले परिवर्तन चाहे, राजा पनि परिवर्तनको पक्षमा भइबक्स्यो । 

हामीलाई राजनीतिक दलहरू पनि चाहिएको छ । जनताका नेताहरू चाहिएको छ । हामीलाई राजतन्त्र पनि चाहिएकै छ । 

प्रजातन्त्र घोषणा गर्न राजा सहजै तयार भएको हो र ? अथवा दरबारभित्र यसमा असहमति पनि थियो ? 

राजा वीरेन्द्र जहिले पनि ‘जनताले चाहेसम्म बस्ने हो’ भन्ने हुकुम हुन्थ्यो । जनताले जे चाहन्छन्, त्यो शासन व्यवस्था ल्याउने हो भन्ने कुरामा वीरेन्द्र सरकार स्पष्ट होइबक्सन्थ्यो । 

दरबार हत्याकाण्ड एउटा व्यक्तिको सनकको परिणाम थियो वा यसभित्र गम्भीर षड्यन्त्रहरू लुकेका थिए ? 

योचाहिँ मैले पनि बुझेको छैन । कसैले बुझेको छु भने पनि त्यो अतिशयोक्ति हुन्छ । तर, भएको चाहिँ युवराजधिराजले गोली हानी हत्या गरिबक्सेको हो । अब त्यो के कारणले भयो इत्यादि मेरो विचारमा कसैले पनि स्पष्टसँग भन्न सक्दैन । त्यसो भएर त्यो बेला आयोगले जे कुरा बाहिर ल्यायो, त्यसैलाई नै पत्याउन उपयुक्त ठान्छु । 

दरबार हत्याकाण्ड यस्तो मोड थियो, जहाँबाट गणतन्त्रको प्रवेश सहज भयो ? 

मेरो विचारमा त पक्का हो । दरबार हत्याकाण्डले नै गणतन्त्र ल्याएको हो । 

तीनवटा राजासँग काम गर्नुभयो । तपाईंले कति अन्तर पाउनुभयो यी तीनवटा राजामा काम गर्ने शैली ? 

उहाँहरूको विचारचाहिँ राष्ट्रहित र जनताको हितमै काम गर्ने थियो । यसमा तीन राजाहरूमा फरक थिएन । समय भने फरक थियो । राजा महेन्द्रबाट ०१७ सालको कदम चालिबक्सँदाखेरि देशको स्थिति र पछि वीरेन्द्र सरकार राजा हुँदाखेरि अनि त्यसपछि ज्ञानेन्द्र सरकार राजा हुँदाखेरिको परिस्थिति धेरै नै बदलिसकेको थियो । जनता पनि धेरै नै जागरुक भइसकेका थिए । 

जहिले पनि जनताको इच्छा चिची पनि खाऊँ पापा पनि खाऊँ भन्ने हुन्छ । केही हदसम्म राज्यले त्यो दिन पनि सक्नुपर्छ । तर, कुनै समय न चिची न पापा हुन्छ । कुनै समय एउटा कुरा मात्र हुन्छ, अर्को चिज दिन सकिँदैन । तर, सत्य के हो भने त्यसबेलाको परिस्थितिमा त्यो उपयुक्त कदम भयो कि भएन भन्ने कुरामा म अगाडि बढ्न चाहन्नँ । 

राजा ज्ञानेन्द्रले माघ १९ मा चालेको कदम उपयुक्त थियो ? 

हाम्रो मुलुक यस्तो छ, जहाँ सबै शक्ति मिलेर जानुपर्छ । हामीलाई राजनीतिक दलहरू पनि चाहिएको छ । जनताका नेताहरू चाहिएको छ । हामीलाई राजतन्त्र पनि चाहिएकै छ । स्वतन्त्र प्रेसदेखि स्वतन्त्र न्यायालय पनि चाहिन्छ । हाम्रो जस्तो मुलुकले एकआपसमा झगडा गरेर होइन कि एक भएर जानुपर्छ । हामीलाई एकता चाहिएको छ । 

दल चाहिन्छ । नेता चाहिन्छ । प्रेस चाहिन्छ । न्यायालय चाहिन्छ भन्नुभयो । तर, ज्ञानेन्द्रले चालेको माघ १९ को कदम त यसविपरीत थियो । उहाँले अलिक ढंग नपुर्याएको हो ? 

यसमा मैले केही बोल्न उपयुक्त हुँदैन । 

दरबारमा बसेर नेपाली राजनीतिलाई पनि नजिकबाट लामो समय हेर्नुभयो । तपाईंलाई के लाग्छ दरबारमा फेरि राजा फर्किन्छन् ? 

भविष्यवाणी गर्नु जत्तिको वाहियात कुरा अरू केही पनि हुँदैन । हामीहरूको मुख्य अपरिहार्यता नै राष्ट्रिय एकता हो । हामीहरू एकतामा अगाडि बढ्छौँ, बढ्छौँ । हामीले धेरैपटक त्यसो गरेका छौँ । कहिलेकाहीँ भूलहरू पनि भएको छ । तर, भूल सच्याएका पनि छौँ । 

राष्ट्रिय एकताको कुरा गरिरहनुभएको छ । त्यो राष्ट्रिय एकता भनेको गणतन्त्रभित्रको राष्ट्रिय एकता हो कि ? राजतन्त्रसहितको राष्ट्रिय एकता हो ? 

मैले यो एकतामा चाहिँ नेपाली शब्द प्रयोग गर्छु– मिलीजुली । हाम्रो जस्तो सानो मुलुकलाई चाहिने नै मिलिजुली अगाडि बढ्ने हो । हामी अनेक होइन कि एक हौँ भन्नेमा अगाडि बढ्नुपर्यो । यसमा गणतन्त्र होइन, राजतन्त्रसहितको राष्ट्रिय एकता आवश्यक छ ।

तर, अहिलेका राजनीतिक शक्तिहरू गणतन्त्रबाट फेरि राजतन्त्रमा फर्किने कुरा पश्चगामी हो भन्छन् । उनीहरूको भावना र आमजनताको भावनामा कति फरक देख्नुभएको छ ? 

कैयौँ मुलुकमा राजतन्त्र फर्किएको छ र कैयौँ मुलुकमा राजतन्त्र हटेको पनि छ । कैयौँ मुलुकमा राजतन्त्र टिकेको पनि छ । स्पेन र बेल्जियमको राजतन्त्रसँग राजा वीरेन्द्रको  सम्बन्ध राम्रो थियो । मेरो विचारमा त्यहाँका राजाहरूले गद्दी त्याग गरेर राजतन्त्र बचाए । त्यसमा मेरो विचारमा राजा वीरेन्द्रको योगदान छ । किनभने उहाँको भनाइ नै थियो– जनतालाई जुन छुट छ, त्यहाँ राजालाई चरित्र र विचारमा केही छुट हुँदैन । शासन गर्नेले आफ्नो चरित्र पनि त्यहीअनुसार गर्नुपर्छ । 

स्पेनको राजाले आफ्नो छोराका लागि गद्दी त्याग गर्नुपर्यो, त्यो व्यक्तिगत कारणबाट । बेल्जियमका राजाले पनि त्यही गर्नुपर्यो । यी दुवै राजा र अहिलेका राजाहरू पनि नेपाल आउनुभएको छ । उहाँहरूको दुवै पुस्ताको राजा वीरेन्द्रसँग विशेष सम्बन्ध थियो । त्यसो भएर म हतपत्त राजाहरूको निर्णयप्रति विश्लेषण गर्न सक्छु भन्ने ठान्दिनँ । अरूले पनि यो नठान्नु नै बेस हुन्छ । 

राष्ट्रिय एकताको कुरा गरिराख्दाखेरि तपाईंले राजतन्त्र आवश्यक छ भन्नुभएको छ । त्यो राजतन्त्रमा आमजनताले ‘फेस’ पनि त खोज्ला नि त । त्यो फेस को हो भन्ने केही सोच्नुभएको छ ?
 
मैले तीनवटा राजाहरूसँग काम गर्ने मौका पाएँ । राजा महेन्द्र जुन दिन राजा भइबक्यो, आफ्नो उत्तराधिकारी राजा वीरेन्द्रलाई दिइबक्स्यो । राजा वीरेन्द्रले पनि आफू राजा भएकै दिन युवराज दीपेन्द्रलाई हनुमान ढोकाबाटै उत्तराधिकारी घोषणा गरिबक्स्यो । महेन्द्रबाट जसलाई घोषणा गरिबक्सेको थियो, त्यो घोषणा गरेअनुसार नै भयो । राजा वीरेन्द्रको चाहिँ भएन । यो दुईवटा घटना देख्नेले कसरी तपाईंलाई अब राजा को हुन्छ भनेर अनुहार देखाउने ?

  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया