logo-img

टी–२० विश्वकपमा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने
फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का अनुसार  आउँदो आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् । 

विश्वकपमा  नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । यस्तै, नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् । 

नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । समूह विभाजन हेर्दा नेपालले ग्रुप स्टेजमै तीन टेस्ट टिमसँग खेल्नेछ । 



नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलोपटक खेल्न लागेको हो । बंगलादेशसँग भने नेपालले सन् २०१४ को विश्वकपमै खेलेको थियो । नेदरल्याण्ड्सँग भने नेपालले पटकपटक म्याच खेलिसकेको छ । 

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६ औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।  

तालिका अनुसार समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड क्यानडा र अमेरिका रहेका छन् । समूह ‘ए’ को खेल अमेरिका हुनेछन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । यस्तै समूह ‘सी’ मा न्यूजिल्याण्ड, घरेलु टोली वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी छन् । 



आउँदो संस्करणको टी–२० विश्वकप जुन १ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

गत कात्तिकमा काठमाडौंमा सम्पन्न एसिया क्षेत्रको छनोटको फाइनलमा पुग्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको थियो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो । सो विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै राम्रो प्रभाव छाड्यो । 



सो विश्वकपमा नेपालले बंगलादेशसँग भने हार बेहोर्‍यो । नेपाल यसपटक विश्वकपमा थप उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट मान्यता टिमलाई स्तब्ध पार्न चाहन्छ ।    

  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार २१:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया