logo-img

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट
कांग्रेसको १३ माओवादीको सात सिटमा दाबी

राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ  । 

गठबन्धनको शनिबारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिट माग गरेको हो । यस विषयमा नेकपा एसको सचिवालय बैठकमा समेत छलफल भएको छ । 

एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत तीन नेतालाई दिएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको उनले बताए । पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाएको उनले बताए । 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने बारेमा पनि छलफल भएको उनले बताए  ।

राष्ट्रिय सभाका २० सिटमध्ये गठबन्धनभित्र नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले सात सिटमा दाबी गरेका छन् । नेकपा एसले पाँच सिटमा दाबी गरे पनि तीन सिटमा सम्झौता गर्ने बुझिएको छ । अध्यक्षमा भने अडान नछाड्ने तयारी एसको छ । 



कांग्रेसको राष्ट्रपति र माओवादीको प्रधानमन्त्री भएकाले नेकपा एसले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ । 



  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया