logo-img

नेपालमाथि लागेको हवाई प्रतिबन्ध खुला गरिदिन राष्ट्रिय सभाका अध्यक्षकाे आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरी बट्टिमरबीच आज(सोमबार) भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरे ।

उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल गर्ने र त्यसको परिणाम आउने कुरामा विश्वस्त रहेको बताए ।

उनले आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने विश्वास पनि व्यक्त गरे ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले भने,‘भेटवार्तामा द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यासको बारेमा छलफल भयो । एकआपसमा संसदीय अनुभवको आदानप्रदान र सहकार्य गर्नेबारे कुरा भयो ।’ उनले भेटवार्तामा  नेपाली ध्वजाबाहक विमान अहिले युरोपियन आकाशमा उड्न नपाएको भन्दै त्यसलाई खुल्ला गर्न आग्रह गरेको पनि जानकारी दिए ।



उनले भने,‘नेपाली ध्वजाबाहक विमान अहिले युरोपियन आकाशमा उड्न पाएको छैन । त्यसकारण मैले उहाँलाई विशेषगरी नेपाली ध्वजाबाहक विमान युरोपयिन आकाशमा उड्न पाउने गरी खुल्ला गर्न भूमिका खेलिदिनुपर्यो भनेर आग्रह गरेँ ।’

भेटवार्ताका क्रममा अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउने विश्वास दिलाए । बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।



नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, वसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भूलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।
 

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया