logo-img

राष्ट्रिय सभा अध्यक्षको टिप्पणी : यस्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीले चलाएर देश कहाँ बन्छ ?

 दलीय स्वार्थले प्रमुखता पाउँदा देश विकासका योजना अघि बढ्ने गति सुस्त भएको नेताहरूले बताएका छन् । राजधानीमा बिहीबार ‘पर्यटन अन्तर्दृष्टि’ लोकार्पण कार्यक्रममा उनीहरूले जिम्मेवार ओहदामा पुगेकाहरूले दीर्घकालसम्म मुलुकको हित प्रतिकूल हुने विषयमा गम्भीर हुन सुझाए ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुको निहित स्वार्थको कारण देश विकास हुन नसकेको आरोप लगाए । उनले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन अघि बढाइएको विधेयकको दृष्टान्त दिए । 

‘त्यो विधेयक राष्ट्रिय सभामा आयो । पास गरेर प्रतिनिधिसभामा पठायो । प्रतिनिधिसभाले पनि सबै कुरा टुंग्यायो । पास गरेर पठाएपछि त्यसलाई मैले हस्ताक्षर गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउने मात्र बाँकी थियो,’ उनले भने, ‘अब केही कर्मचारीको स्वार्थका लागि, जो पर्यटनमन्त्री हुनुहुन्थ्यो, उहाँको पार्टीको नेतालाई दुईवटा निकाय बनाउँदा संगठन ध्वस्त हुन्छ, हाम्रो त्यहाँ केही पनि रहँदैन भनेर लगाएछन् । भोलि टेबल गर्ने विधेयक नेताले भने भनेर मन्त्री पछि हट्ने भए भनेर आज प्रधानमन्त्री कुरा गर्नुहुन्छ ! भएको त्यत्ति हो अनि कसरी हुन्छ काम ?’ 

त्यो विधेयक त्यत्तिकै तुहाइँदा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट नेपालको वायुसेवा हट्न नसकेको उनले बताए । ‘दुईजना मान्छे गएर स्वार्थको कुरा गरेपछि त्यही कुरा सुन्ने हो भने त्यस्तो नेताले देश चलाउने, त्यस्तो मन्त्रीले चलाउने, मजस्तो अध्यक्ष हुने हो भने देश कहाँ बन्छ त ? बिग्रेको कुरै यही हो,’ उनले भने, ‘हामी यस्ता निहित स्वार्थमा लाग्यौँ र देश बनाउनेतिर लागेनौँ । समस्या त्यहाँनिर हो, इमानदार प्रयत्न देश बनाउनेतिर लाग्यौँ भने बन्छ । सम्भावना सबै छ । त्यो  विधेयक मात्रै होइन, अर्को पाँचवटा विधेयक संवैधानिक कारणले गर्दा शून्यमा गयो, तर त्यसको जवाफदेहिता कसले लिने ?’ देश बनाउने विषयमा सबैको इमानदार प्रयत्नको खाँचो उनले औँल्याए । 

कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई समय सापेक्ष र बजार सुहाउँदो बनाउँदै लैजानुपर्ने बताए । ‘हरक्षेत्रमा क्यापिटालिज्मले एकदम पेलिरहेको छ । त्यो प्रतिस्पर्धा पनि बढिरहेको छ । किन पनि भने पुँजीवादले अटोमेटिक प्रतिस्पर्धा ल्याउँछ । एग्रिकल्चर पोखरीको जमेको पानी हो भने पुँजीवाद तीव्र प्रतिस्पर्धाबाट गुज्रिन्छ,’ उनले भने, ‘त्यसको लागि नलेज, टेक्नोलोजी सारा कुरा बढी प्रवेश गरिरहेको छ ।’ 

जमिनको उदाहरण दिँदै उनले थपे, ‘पहिला हाम्रो पहाडबाट तराईमा झरेर जमिन किन किन्ने भन्दा खेती गर्नलाई । अहिले १० वर्षको कित्ताकाटको रेकर्ड लिनुहोस् त । खेती गर्न जमिन किन्छन् कि जग्गा बेचेर नाफा लिने भनेर किनिरहेका छन् ? जग्गा अब कमर्सियल प्रोडक्ट भयो । त्यो हुनाले हिजो पहाडका मान्छे तराई झर्ने स्थिति थियो भने अब तराईका मान्छे पहाड चढ्छन्, यदि टुरिजमको विकास गर्ने हो भने ।’ पर्यटन क्षेत्रको विकासमा उनले जोड दिए ।



पूर्व गर्भनर दीपेन्द्रपुरुष ढकालले पर्यटनको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । पर्यटन विकासका लागि विविधीकरणको खाँचो रहेको उनले बताए । तर, लोकर्पित पुस्तक ‘अन्र्तदृष्टि’मा नेपाल अहिलेको ठूलो समस्या नेपाल एअरलाइन्सको बारेमा केही नसमेटिएको उनले टिप्पणी गरे ।

पर्यटकहरूले नेपाल बसाइको क्रममा भन्दा धेरै खर्च हवाई भाडामा गर्ने भन्दै ढकालले पर्यटक वृद्धि र प्रवद्र्धनका लागि नेपाल एअरलाइन्सको जहाज थप गर्नुपर्नेमा जोड दिए ।  



  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया