logo-img

उपसभामुख राना भन्छिन्– ‘स्टन्ट देखाएर सांसद बनेपछि त जनताको काम गर्ने हो नि’

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर नयाँ पुस्ताकी राजनीतिकर्मी हुन् । परम्परागत दल र संघसंगठनमा लागेर राजनीतिको क्षेत्रमा आएकाभन्दा उनको दिनचर्या भिन्न छ । उनलाई समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदा राजनीतिमा आउने बाटो खुलेको हो ।  अहिले पनि उनी समाजसेवाको क्षेत्रमा क्रियाशील छन् । संसदमा उपसभामुखको जिम्मेवारीमा रहेकाले उनलाई दलगत प्रचार र संगठन गरेर हिँड्नुपरेको छैन । फरक भूमिका भएकाले उनी संसद्सँगै सामाजिक सेवामा आफ्नो रुचिको क्षेत्रलाई समय दिइरहेकी छन् । प्रस्तुत छ, राजनीति र समाज सेवाको क्षेत्रका सेरोफेरोमा रहेर उपसभामुख रानासँगको गरिएको कुराकानी :

उपसभामुखको राजनीतिक जीवनको दैनिकी कस्तो छ ? आफ्नो एक दिन कसरी बिताउनुहुन्छ ? 

दैनिकी भन्नुपर्दा समाजसेवी हुँदादेखिकै आफ्नो दिनचर्यालाई निरन्तरता दिइराखेकै छु । पहिले पनि आफ्ना बच्चाहरूलाई खाना बनाउने गर्थेँ, अहिले पनि स्टाफले सहयोग गर्नुहुन्छ, मैले आफैँ खाना बनाएर बच्चाहरूलाई खुवाउनु पर्छ । अहिले बेलुका आएपछि समाचार हेर्छु । पहिला त्यति साह्रो समाचार हेर्दिन थिए, बरु क्रिमिनल जस्टिजको बारेमा धेरै हेर्थेँ, अहिले त्यो फेरिएको छ ।

बेलुका सबै खाले समाचार हेर्छु, अलिकति संविधान र नियमावलीका कुराहरू हेर्छु । अहिले सदन नचलेकाले बच्चाहरूलाई समय दिन पाइरहेको छु, बाँकी समय बाहिरतिरको धेरै कार्यक्रमहरूमा उद्यमीदेखि समाजसेवीलगायत विभिन्न क्षेत्रका मानिसहरूले बोलाइरहेका हुन्छन्, जान्छु । प्रायजसो म जनताको नजिक पुगिरहेको हुन्छु । त्यहाँ जनतालाई संविधान पढ्न र कार्यान्वयन भए नभएको पक्षमा सजग गराउन चेतना दिने काम गरिरहेको छु । 

तपाईँको आफ्नो समाज सेवाको क्षेत्र एकातिर छ, बालबालिकाका लागि भात भान्सा र हेरचाह गरिरहनुभएको छ । अर्कातिर ठूलो जननिर्वाचित संस्थाको उपसभामुख हुनुहुन्छ । यी दुई भूमिका निर्वाह गर्न समन्वय कसरी गर्नुहुन्छ ? 

हामीले जुन भान्साको काम गर्छौँ, खाना, स्वास्थ्यको कुरा गर्छौँ, यो राज्य पनि त्यही कुरामा अडिएको छ । राज्यले पनि वास्तवमा त्यसमा ध्यान दिनुपर्ने हो जस्तो लाग्छ ।  एकले अर्काको खुट्टा तान्ने भन्दा पनि राज्यमा सबै मिलेर कसरी पकाएर खाना खाने भन्ने भाव सबैमा हुनुपर्‍यो । जीवनमा हामीलाई जे चाहिन्छ, राज्यले मानिसलाई आवश्यक पर्ने स्वास्थ्यदेखि  हरेक कुरा सहज रूपमा दिन सक्नुपर्छ । सबै मिलेर विकास गर्नुपर्छ । 



कसैले टावर वा ठूलो बिल्डिङ बन्नुलाई विकास भन्दा म एउटा बच्चालाई कस्तो संस्कार दिने, कसरी उसको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने, उसलाई कस्तो माया र केयर दिएर उसलाई पोषण दिएर पूर्ण मानिस बनाउने कामलाई  विकास भन्छु । जो मैले बालबालिकालाई गरिरहेको छु, मैले आफ्नो पूरा जीवन त्यसरी नै सामाजिक क्षेत्रमा बिताएको छु । अहिले राजनीतिमा आएर पनि मैले हरेक क्षेत्रका नागरिकलाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई उहाँहरूको सामाजिक सुरक्षाको कुरादेखि लिएर विभिन्न आवश्यकताको बारेमा चेतनाका सवाल र आवाज उठाउँदै आएको छु । 

एउटा खराब भनेर जेलमा पुगेको युवा पनि त्यो पूरा रूपमा खराब नै भएर भन्दा आवश्यकता र वातावरणका कारण जेलसम्म पुगेको हुनसक्छ, उसलाई सामाजिक रूपमा असल मान्छे बनाउन सकिन्छ भन्ने धारणा राख्छु । सबैले खराबलाई पनि असल मानिस बन्नमा प्रेरित गरिरहनुपर्छ, उसलाई कसरी सही बनाएर समाजमा भित्र्याउने भन्नेमा सोच्नुपर्छ । यसरी नै सामाजिक र राजनीतिक पक्षलाई उही समाजसँगको विषयसँग जोडेर समन्वय गरिरहेको छु । दुवै सेवाका क्षेत्र हुन् । 



लामो समयबाट मानव सेवालाई तपाईँले प्राथमिकता दिएर काम गर्दै आउनुभएको छ । धेरैले तपाईँकै कारण उद्धार भएर पुनः समाजमा राम्रो जीवन बिताइरहेका छन् । तपाईँले गरेको समाजसेवाको अनुभवलाई राजनीतिक जीवनमा रूपान्तरण गर्ने प्रयास गर्नुभएको छ ? 

तपाईँको प्रश्नको इमानदार जवाफ दिने हो भने राजनीतिभित्र नपसिकन केही पनि कुरा थाहा हुँदैन । भित्र पसिसकेपछि धेरै कुरामा परिमार्जन गर्नुपर्ने देखेँ । बनेकै सिस्टमको पनि राम्रोसँग कार्यान्वयन भएका छैनन्, त्यसैमा पनि एब्युज भएको छ । यी कुरालाई कसरी चिरेर लाने, भ्रष्टाचार, विभेदलाई कसरी चिरेर लाने ? यहाँ आएर मैले धेरै कुरा जानेँ । 

यदि राजनीतिमा नपसेको भए मैले केही पनि नजानी र देशलाई नै नबुझी मर्ने रहेछु जस्तो लाग्छ । तर, राजनीतिमा धेरै सुधार हुनुपर्छ । प्रशासनदेखि लिएर प्रहरीसम्म सबैमा सुधारको आवश्यकता छ । हरेक ठाउँमा पीडा, तनाव छ, मानिसहरू पीडित छन् । सबैलाई हामीले सुधारेर लाने र सबैलाई राम्रो वातावरण दिने हो भने हाम्रो देश सुध्रिन धेरै समय लाग्दैन । त्यसका लागि तलबाटै ग्रुमिङ गर्दै लानुपर्छ । तर, यहाँ जसको पावर र हालीमुहाली छ उहाँहरूले नै त्यसको दुरुपयोग गरिरहेका छन् ।

पावरमा हुनेले शक्तिको दुरुपयोग गरे भन्नुभयो, तपाईँले त्यो देख्नुभएको छ ? 

किन नदेख्नु भनेर साध्य छैन । म इमानदारीसँग कुरा राख्छु, भोलि पनि मैले यो कुरा बोल्नुपर्ने हुन्छ । शक्तिको दुरुपयोग धेरै भएका छन् । तर, सबै मान्छे नराम्रा छैनन् । राम्रा राजनीतिज्ञहरू पनि हुनुहुन्छ । सिस्टम नै बिग्रिएकाले गाह्रो भइरहेको छ । ३ करोड नेपाली पनि छैनौँ हामी, त्यसमा पनि सबै देशमा छैनन् । बाहिरतिर हेर्नुहोस् त सबै सिस्टमले चल्छ । तर, हामीले आफ्नो यो ३न करोड पनि नपुगेको नेपालीलाई पनि समेटेर लान नसक्ने कस्तो नेतृत्व हो यो भन्छु म । 

 तपाईँले राजनीतिक नेतृत्व र अङ्गभित्रै पनि द्वैध भूमिका छ भन्नुभएको हो ?

त्यो अवश्य पनि छ । पावरको मात्रै खेलजस्तो लाग्यो । यो राजनीति भनेको कतिखेर पल्टिन्छ भन्ने थाहा नहुने रहेछ । मलाइ कतिपयले तपाईँ कच्चा खेलाडी भन्नुहुन्थ्यो, म कच्चा होइन इमानदारको डाइरेक्टर खेलाडी हो । म इमानदारीसँग आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने दृढ आँट छ र म निडर पनि छु । हिजो मलाई राजनीति मन पर्दैन थियो ।

राजनीतिमा आइसकेपछि पनि किन आएँ जस्तो लाग्थ्यो । अहिले बुझ्दै जाँदा हामीजस्तो जसले देशको ग्राउन्डलाई बुझेको छ, पीडालाई बुझेको छ, त्यस्तो मान्छेहरू राजनीतिमा चाहिने रहेछ भन्ने लाग्छ । म हरेक युवालाई विभिन्न क्षेत्रमा गएर सबैलाई राजनीति बुझ्नुपर्छ भनेर प्रेरित पनि गर्ने गर्छु ।

राजनीति अरूअरू विषयमा अल्मलिएको छ, ग्राउन्ड रियालिटीमा फोकस भएन । मानिसका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा समेत हामी कमजोर भयौँ भन्ने जुन कुरा गर्नुभयो, संसदले ती आवश्यकता पूरा गर्नलाई आवश्यक कानुन निर्माण गर्न किन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको होला ? 

यहाँ चाहिँ आफ्नै राजनीतिक पार्टीका मान्छेलाई मात्रै संरक्षण गरिँदो रहेछ । त्यसमा पनि गुटबन्दी हुँदो रहेछ । अनि जहिले पनि आफ्नो राजनीतिक स्टन्ट देखाउनु मात्रै छ ।  राजनीतिक स्टन्ट देखाएर संसदको सदस्य भएर आइसकेपछि त जनताको लागि काम गर्ने हो नि त । त्यहाँ जनताको आवाज र उनीहरूले उठाएका सवाललाई उजागर गर्ने भन्दा पनि नेताको कुरा सुन्ने, सदनबाट अरूलाई गाली गरेर समय बिताइरहेको हुन्छ, संसदमा मन नपरेको पक्ष मलाई यही हो । सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डदेखि लिएर विभिन्न काण्डहरू आए । 

त्यो कुरामा लाग्न राज्यले बनाएको संयन्त्र छ, यसमा संसदभित्र निर्णयमा पुग्नेगरि छलफल हुनुपर्‍यो नि, त्यो गर्नु छैन । समिति बनायो, बुद्धिजीवी राख्यो त्यो पनि वास्तविक विषयको ज्ञाताभन्दा हामीले रिक्त ठाउँ आफ्ना मान्छेले भर्ने काम बाहेक केही गरेकै छैनौँ । 

सिस्टम बनाएपछि त्यसअनुसार सबै चल्नुपर्‍यो नि । एउटा मान्छेको अधिकार र रिमोटबाट सबै चलेका छन्, त्यसरी हुँदैन । संघीयतामा तलसम्म अधिकार दिएर उहीँबाट सबैलाई बलियो बनाएर ल्याउनुपर्छ । केन्द्रमै भर पर्नुपर्ने अवस्थालाई चिर्नुपर्छ । राष्ट्रिय राजनीति नै अलमलमा छ । संविधान बनायौँ कतिपय कुराहरू अझै कार्यान्वयन भएका छैनन् । जस्तो– महिलालाई संविधानको धारा ३८ ले दिएको अधिकारहरूमा कुन चाहिँ कार्यान्वयन भएको छ ? 

तपाईँ समाज र समाजका आवश्यकतालाई अलि नजिकबाट बुझेर राजनीतिमा आउनुभएको छ । आज सामाजिक क्षेत्रदेखि राजनीतिसम्ममा अलमल मात्रै देखिन्छ, यो राष्ट्रिय अलमलको कारण के हो जस्तो लाग्छ ? 

मैले बुझ्दा नेताज्यूहरू अगाडि मीठा कुरा गर्नुहुन्छ तर, पछाडि अर्कै भइरहेको हुन्छ । देशमा सकारात्मक सँस्कारको विकास गर्नुपर्ने देखिन्छ । देशमा आवश्यकता पनि त्यही कुराको छ । हामी सबै नेपाली हौँ, एक छौँ भन्ने हुनुपर्‍यो । म त्यसको लागि ठूलो पदमै पुग्नुपर्छ भन्ने छैन, आफूले सक्ने त गर्नुपर्‍यो नि । कोही नेता राम्रा पनि छन्, विज्ञ पनि तर, सत्ता थामिरहन त गाह्रो छ । सबै पार्टीका अलि बुझेका र जानेकाहरू देश विकास गर्न भन्दा खेलमा बढी समय बिताउनुभयो उहाँहरूले । जनताको आवश्यकतालाई बुझ्नेतिर भन्दा सत्ताको खेलमा बढी समय बिताएको जस्तो लाग्यो मलाइ । 

अब नयाँ नयाँ पनि आएका छन् । त्यसमा कति राम्रा छन् भने कति पुराना पार्टीमा पद नपाएर बिरक्तिएर आएका छन् । मलाइ नि कतिले तपाईँ केही नगरी यति ठूलो पदमा पुग्नुभयो भन्छन् । पुगेर के गर्ने म काम गर्न चाहने मान्छे, काम गर्न पनि नदिँदो रहिछन्, कस्तो दुःखलाग्दो कुरो । जुन स्पिडमा म काम गर्न चाहन्छु त्यो चाहेर पनि पाएको छैन । एउटा होटल सञ्चालन गर्न त बिहानै म्यानेजरले ब्रिफिङ गर्छ, दिनभरि कसरी कति काम गर्ने भनेर यहाँ त खै एउटा एकातिर फर्केको छ अर्को अर्कातिर फर्केका छन् ! 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकदमै संगठित हुनुपर्छ । चाहे जुनसुकै पार्टीका हुन् काम गर्ने सन्दर्भमा सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ, उहाँहरूले पदमा बसिसकेपछि पदको पदाधिकारी हुन् । मिलेर अरूका लागि पनि उदाहरण बन्नेगरि काम गर्ने हो नि त । कार्यपालिका र न्यायपालिका यस्तो राम्रो भन्ने होस न । व्यवस्थापिकामा पनि थाती विधेयकलाई टुंग्याउन दिनरात लाग्नुपर्‍यो । सबै लागेर छलफलमा ल्याउनुपर्‍यो, सबै लाग्नुपर्‍यो । हामी सुतेर घाम तापेर बस्ने बेला छैन भन्छु म । कार्यपालिकाको त जिम्मेवारी नै झन् ठूलो छ । हरेक ठाउँमा बिजोग छ । स्वास्थ्य, शिक्षा, कृषि वन सबै बिग्रेको छ । हरेक संस्था र त्यसका जिम्मेवारी लिएका मान्छे बलियो भएर जबसम्म आफ्ना जिम्मेवारी पूरा गर्दैनन् तबसम्म देश बन्दैन । 

 जहाँतहीँ बिजोग छ भन्नुभयो कतिपय कुराहरू कानुन बन्न नसक्दा झन् असरल्ल छन् । यस्तो समयमा हिउँदे अधिवेशन बोलाउन ढिला भयो जस्तो लाग्दैन ? 

अधिवेशन माघको तेस्रो हप्तामा बोलाउने कुरा छ । पोहोर यो समयमा अधिवेशन चलिसकेको थियो । ढिलो त भएको हो नि । यसपालि किन ढिला भयो त्यो थाहा छैन । तर, पनि पहिलेकै बाह्रवटा थियो अहिले एउटा थप भएको छ भन्ने सुनेको छु, तेह्र वटा विधेयक विचाराधीन छन् ।

अधिवेशन ढिलोगरी बोलाउँदा संसदलाई नै महत्त्व नदिएको हो कि भन्ने सन्देश आम मानिसमा गएको छ नि ? 

भन्न मिल्ने नमिल्ने थाहा छैन, म इमानदार भन्छु, सबै कुरा पर्खाइ रहेछ । मैले हेर्दा पर्खाइ रहेछ के । सरकार कति बेला ढल्ला र अर्को आउला, अनि मेरो पावर होला जस्तो के, पावर गेम जस्तो देखिराको छु । घुम्ने मेचमा जस्तै हो । कतिपय कुराहरू अहिले निर्णय गर्दा अर्को पार्टीलाई असर पर्ला कि भन्ने खालको अलमल जस्तो मलाइ लागिरहेको छ । म आफू राजनीति बुझ्ने पनि भन्दिन, आफूलाई जति मैले बुझे त्यस्तै लाग्छ । 

संसद्लाई प्रभावकारी बनाउन तपाईँको आफ्नो भूमिका के हुन्छ ? सिंगो संसदलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? 

सबै कुरा एक अर्कामा अन्तर्निहित र अन्तर सम्बन्धित हुन्छ । अब अहिले यो अधिवेशन बोलाउनलाई पनि त कार्यपालिकाले चासो राख्नु पर्‍यो, अनि राष्ट्रपतिले अधिवेशन बोलाउनु पर्‍यो । यो त सभामुखज्यू र मैले मात्रै सोचेर बोलाउने कुरा भएन । विशेष हात यहाँ कार्यपालिकाकै छ, अब हामीले अधिवेशन बोलाइपछि संसद चलाउने हो । हामी रेडी छौँ । देशमा यत्रो इस्युहरू आए त्यसमा सवाल उठिराखेका छन् । चाँडो सदन चल्दा ती कुराले निकास पाउँथे कि भन्ने अपेक्षा छ ।  

  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया