logo-img

राष्ट्रिय भूमि आयोग कैलालीमा १ लाख ३० हजार बढी निवेदन, जग्गाधनीपुर्जा वितरणको तयारी

राष्ट्रिय भूमि आयोग कैलालीमा १ लाख ३० हजार ७ सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् ।

जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका १९ हजार ६ सय ६५, गोदावरी नगरपालिकाका १८ हजार ६४, लम्की–चुहा नगरपालिकाका १६ हजार ९ सय ९६, घोडाघोडी नगरपालिकाका १७ हजार २ सय १०, गौरीगङ्गा नगरपाकिाका १२ हजार ९ सय १७, भजनी नगरपालिकाका ८ हजार ७ सय ६५ र टीकापुर नगरपालिकाका ९ हजार ९ सय ३५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएका छन् ।

त्यसैगरी कैलारी गाउँपालिकाका ६ हजार ९ सय ४०, बर्दगोरिया गाउँपालिकाका ६ हजार ५ सय ७५, जोशीपुर गाउँपालिकाका ४ हजार ६९ र जानकी गाउँपालिकाका ५ हजार १०, चुरे गाउँपालिकाका २ हजार ३ सय ३६ र मोहन्याल गाउँपालिकाका २ हजार २ सय ५८ जनाको निवेदन दर्ता भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । 

आयोगले यसअघि धनगढी उपमहानगरपालिका–९ का २२, लम्कीचुहा नगरपालिका बल्चौरका एक सय ३०, गोदावरी नगरपालिका–१ का सात र बर्दगोरियाका पाँचजना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ ।

कैलालीमा राष्ट्रिय भूमि आयोगले विगतका सुकुम्बासी आयोगले अधुरो छाडेका ५ हजारसहित १ लाख ३५ हजार सात सय एकजनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने जनाएको छ ।



राष्ट्रिय भूमि आयोग कैलालीका विज्ञ सदस्य केशवराज जोशीका अनुसार कैलालीमा अहिलेसम्म ४० हजार हेक्टर जमिनको नापनक्सा भइसकेको छ । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रयोजनका लागि एक वर्षभित्र जिल्लाका १३ वटै पालिकामा जग्गा नापजाँचको काम सक्ने लक्ष्य राखेको उनले बताए ।  

संविधानमा भएको व्यवस्थाअनुसार पहिलो प्राथमिकतामा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्बासी र तेस्रोमा अव्यवस्थित बसोबासी रहेका छन् ।



जग्गाधनीपुर्जा वितरणको तयारी

आयोगले कैलालीका पाँच स्थानीय तहमा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ । धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा माघ पहिलो साताबाट जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको हो । 

अध्यक्ष उपाध्यायले भूमिहीन दलित र सुकुम्वासीलाई धनगढी उपमहानगरपालिका–१५, गोदावरी नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा र कैलारी गाउँपालिकामा माघ दोस्रो हप्ताबाट जग्गाधनी पुर्जा वितरण गरिने बताए । जिल्लाका पाँच स्थानीय तहका झन्डै एक हजार पाँच सय भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ ।  

अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन स्थानीय तहहरूले जग्गाको तहगत क्षेत्र निर्धारण नगर्दा पुर्जा वितरणमा ढिलाइ भइरहेको अध्यक्ष उनको भनाइ छ । 

नगरपालिका र गाउँपालिकाले ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र, सहरी क्षेत्र र गाउँपालिकाको केन्द्र भनेर जग्गाको तहगत वर्गीकरण गर्नुपर्ने प्रावधान छ । भूमिहीन दलित र सुकुम्बासीलाई एकपटकका लागि आवास वा कृषिमध्ये कुनै एक क्षेत्रको जग्गा उपलब्ध गराइनेछ । 

आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सहरी क्षेत्रमा आवासका लागि १ सय ३० वर्गमिटर (साढे सात धुर), अन्य क्षेत्रमा तीन सय ४० वर्गमिटर (एक कट्ठा) जग्गा उपलब्ध गराउनेछ । यसैगरी कृषिका लागि तराई र भित्री मधेसमा दुई हजार वर्गमिटर अर्थात् छ कट्ठा र हिमाल तथा पहाडमा तीन हजार वर्गमिटर अर्थात् नौ कट्ठा जग्गा उपलब्ध गराउने जनाइएको छ । 

आयोगले एक वर्षभित्र २५ हजार बढी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ । पुर्जा प्राप्तिका लागि आयोगमा दर्ता भएका निवेदनमध्ये एक वर्षभित्र दुई हजार पाँच सयदेखि तीन हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीललाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिइएको आयोगका विज्ञ सदस्य जोशीले बताए । रासस 

  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया