logo-img

विवादित छवि बाेकेर बिदा हुँदै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

बिहीबार साँझ राष्ट्रिय सभा निर्वाचन सकिएसँगै एक स्वतन्त्रसहित २० सांसद बिदा हुँदै छन् । ०७४ साल फागुनबाट ०८० साल फागुनसम्म कायम भएका उनीहरू बिदा हुन लागेका हुन् । अहिले बिदाइ हुन लागेका एकतिहाई राष्ट्रिय सभा सदस्यले ६ वर्ष अवधि पूरा गर्दै छन् ।

यसपटक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबैभन्दा धेरै नेकपा एमालेबाट निर्वाचित नौ सदस्य राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । तिमिल्सिनाले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए । एमालेका अन्य सदस्यमा सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरिया, लुम्बिनीबाट खिमलाल भट्टराई, गण्डकीबाट दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा पार्वती, कर्णालीबाट नरपति लुवार र कर्णालीबाटै भैरवसुन्दर श्रेष्ठ, बागमतीबाट रामचन्द्र राई बिदा हुँदै छन् ।

नेपाली कांग्रेसबाट चारजना सदस्य बिदा हुनेछन् । जसअन्तर्गत लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेसबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ, कोशी प्रदेशबाट रमेशजंग रायमाझी सदनमा देखिने छैनन् । माओवादी केन्द्रका तीन सदस्यमध्ये सुदूरपश्चिमबाट महेशकुमार महरा, कोशीबाट बिना पोखरेल, सुदूरपश्चिमबाट हरिराम चौधरी बिदा हुनेछन् ।

नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गरेका कर्णालीबाट नन्दा चपाईं र बागमतीबाट सिंगबहादुर विश्वकर्माको बिदा हुनेछन् । जनता समाजवादी पार्टीका मधेस प्रदेशबाट प्रमिला कुमारी र बागमतीबाट स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । यसअघि दुई वर्ष र चार वर्ष समयावधि पाएका सदस्य बिदाइ भइसकेका छन् । 

राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । संविधान जारी भएर पहिलो निर्वाचन सम्पन्न भएपछि गोला प्रथाबाट सांसदहरूको पदावधि तय गरिएको थियो ।

यसै सिलसिलामा बिदाइ हुन लागेको अध्यक्ष तिमिल्सिनाको ६ वर्षे कार्यकालको समीक्षात्मक बहस सुरु भएको छ । कार्यकाल अवधिभर सबैभन्दा बढी विदेश सयरको अवसर पाएका तिमिल्सिना विवादरहित हुन सकेनन् । आफ्नो दल नेकपा एमालेप्रति बढी बफादार भएको उनीमाथि आरोप लाग्यो । 



प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा सक्रिय रहेको अनुभूत दिलाउन नसकेको साथै विभिन्न समितिलाई सक्रिय बनाउन नसकेकोप्रति तिमिल्सिनामाथि प्रश्न उब्जियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गर्दा राष्ट्रिय सभा निष्क्रिय गराएको उनीमाथि आरोप छ ।

जनसरोकारका विषय उठाउनेदेखि सरकारलाई खबरदारी गर्नुको साटो ओलीकै पथमा हिँडेको भन्दै अध्यक्षमाथि सांसदहरूले आलोचना गरेका थिए । 



प्रतिनिधिसभा निष्क्रिय हुँदा विषयगत समितिहरूको बैठक राखेर माथिल्लो सदन चलायमान राख्न सकिने आधार हुँदाहुँदै अध्यक्ष तिमिल्सिनाले चासो नदेखाएको भन्दै उनले अनेक आरोप खेपे ।

विशेषगरी ५ पुस ०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गरे पनि १७ पुसमा राष्ट्रिय सभाको अधिवेशन बोलाए, तर उक्त अधिवेशन जम्मा चार दिनमा सात घण्टा बसेर सकियो । किनकि अधिवशेनमा सांसदले प्रतिनिधिसभा विघटनका विरुद्ध चर्को स्वर गरेपछि त्यसलाई मत्थर पार्न र ओलीको बचाउ गर्न लागिएको आरोप तिमिल्सिनामाथि लाग्यो ।

प्रतिनिधिसभा विघटन र पुनःस्थापनाको शृंखला चलिरहँदा राष्ट्रिय सभा मृत्युतुल्य बनाएको आरोप अध्यक्षमाथि लाग्यो । सरकारमाथि खबरदारी गर्ने र जनसरोकारका विषयमा आवाज उठाउने दायित्वबाट अध्यक्ष भागेको आरोप लाग्यो ।

राष्ट्रिय सभालाई स्थायी र जीवित सभा भनिए पनि कतिपय अवस्थामा यसलाई मुकदर्शक बनाएको आरोप उनको टाउकोमा थुपरियो । प्रतिनिधिसभा विघटन गरेर संसदीय सुनुवाइविनै संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा पनि अध्यक्ष मूकदर्शक बनेको आरोप लाग्यो । संवैधानिक संकुचन, राजनीतिक उतारचढाव, प्राकृतिक तथा मानवीय विपत्तिलगायत कारण राष्ट्रिय सभाको क्रियाशीलतामा प्रभाव पर्नु स्वाभाविकै भए पनि राजनीतिक आस्था र निहीत स्वार्थका कारण राष्ट्रिय सभालाई विवादमा ल्याउने काम गरेको आरोप अध्यक्षमाथि लाग्यो । 

२० फागुुन ०७४ मा राष्ट्रिय सभा सदस्यको चुनावबाट अध्यक्ष बनेको उनी आफ्नो कार्यकालमा १८ पटक विदेश भ्रमण गर्न भ्याए । यसक्रममा एकसय दिन विदेशमै बिताएको तथ्यांक छ । राष्ट्रिय सभाको गरिमालाई बढाउन र सिस्टम बसाउनुको साटो विदेश भ्रमणलाई मात्र प्राथमिकता दिँदा अध्यक्ष तिमिल्सिना बढी आलोचित बने । 

एकै महिनामा दुईपटकसम्म विदेश भ्रमणमा निस्किएका उनी तुलनात्मक रूपमा ज्यादा विदेश भ्रमण गर्ने सरकारी प्रतिनिधिका रूपमा दरिए । त्यति मात्र होइन, राष्ट्रिय सभा चलिरहँदा पनि कतिपय परिस्थितिमा रुलिङ नगरेकामा उनी आलोचित बने । सभामुखको राजीनामा माग्दै राष्ट्रिय सभामा अवरोध गरिँदा उनले कुनै रुलिङ नगर्दा आलोचना खेपे । 

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँग कतिपय विषयवस्तुमा विमति रहँदा अध्यक्ष तिमिल्सिनाको भूमिकामाथि प्रश्न उब्जियो । १ असोज ०७९ पछि सभामुख र उपसभामुखसमेत रहेर व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्न संसद सचिवालयमा निर्देशन दिएपछि थप विवादमा आए । तत्कालीन सभामुख सापकोटासँग उनको टकराव लामो समयसम्म कायम रह्यो ।

तत्कालीन ओली सरकारले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति प्रकरणमा पनि सभामुख र अध्यक्ष तिमिल्सिनाबीच टकराव बढ्दा त्यसको असर राष्ट्रिय सभामा समेत पर्यो । प्रतिनिधिसभा विघटन गरेको र त्यस अवधिमा संसदीय सुनुवाइ समिति नरहेको आधारमा सभामुख सापकोटाले संवैधानिक परिषदले गरेको नियुक्तिको कागजात फिर्ता गराइदिएपछि अध्यक्ष र सभामुख आमनेसामने भए । त्यसक्रममा तिमिल्सिनाले संवैधानिक नियुक्तिको बचाउ गर्दै सभामुखको विरोध गरेका थिए । 

तत्कालीन प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता, संघीय संसदको महासचिव नियुक्तिको समयमा पनि सभामुख र अध्यक्षबीच टकराव बढेको थियो । त्यति मात्र होइन, सरकारी निवासको प्रयोगको विषयमा समेत पूर्वसभामुख कृष्णबहादुर महरा हटेपछि खाली भएको भवनमा तत्कालीन सरकारले अध्यक्ष तिमिल्सिनालाई राखेको थियो ।

सभामुख बस्दै आएको उक्त निवास सापकोटालाई दिनुपर्ने आवाज उठ्दा त्यहाँ राजनीतिक पूर्वाग्रह प्रस्ट देखिएको थियो । विवादमा आएका बेला अध्यक्ष तिमिल्सिना भने राजनीतिक पूर्वाग्रहका कारण आफूलाई विवादमा ल्याउने गरेको प्रतिक्रिया दिने गरेका छन् । स्वच्छ छवि र लगानशील नेताको परिचय बनाएका तिमिल्सिनाका ६ वर्ष सन्तोषजनक रहे पनि विवादरहित हुन भने नसकेको घटनक्रमले देखाइसकेको छ ।

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया