logo-img

के हुँदै छ माघ २२ बाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा ?

संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । 

संसद सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । उनले सांसदहरुलाई बैठकबारे जानकारी गराइएको र आवश्यक थप आन्तरिक एवं प्राविधिक तयारीका काम अगाडि बढाइएको बताए । 

उनले भने, ‘सभा सञ्चालन सचिवालयभित्रको मुख्य उद्देश्य तथा विषय हो । सभा नभएका बेलामा यहाँ कार्यरत कर्मचारीलाई अन्य जिम्मेवारी दिइएको अवस्था पनि छ । त्यसै कर्मचारी व्यवस्थापन भइहाल्यो । त्यस्तै, सभामा प्रवेश गराउने विषयसूचीको तयारीमा जुटेका छौँ ।’ 

कुन–कुन विधेयकले संसदको हिउँदे अधिवेशनमा प्रवेश पाउने  कार्यसूची तयार हुँदै छ भन्ने प्रश्नमा उनले भने, ‘नीति निर्माणको एउटा प्रक्रिया हुन्छ । त्यहीअनुसार विधेयक समितिमा जाने हो । समितिमा छलफलपछि उसले प्रतिवेदन पेस गर्छ, त्यहीअनुसार छलफल हुने भएकाले हामी अनुमानका भरमा वार्षिक क्यालेन्डर तयार गर्छौं । समितिले प्रतिवेदन के कसरी पेस गर्छ त्यहीअनुसार अगाडि बढ्छ ।’ 

प्रतिनिधिसभाको कुरा गर्नुपर्दा विषयगत समितिहरूमा हाल १२ वटा विधेयक रहेको उनले बताए । ‘जो अहिले पनि छलफलको क्रममा छन् । समितिहरूबाट ती विधेयकमाथिको प्रतिवेदन सभामा प्रस्तुत हुन आएमा प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।



सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक सभामा प्रस्तुत भइसकेकाले  त्यसमाथिको छलफल अगाडि बढ्ने उनले बताए । त्यस्तै, निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन, टिआरसीलगायत विधेयक छलफलका प्रमुख विषय बन्ने उनको भनाइ छ । 

हाल समितिमा दर्जन विधेयक विचाराधीन छन् । अधिवेशन चालु भएपछि समितिका सभापतिले प्रतिवेदन संसदमा प्रस्तुत गर्ने र त्यसपछि पारितको प्रक्रियामा जाने संवैधानिक व्यवस्था छ ।



सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, विद्यालय शिक्षा विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकसँग सम्बन्धित विधेयक समितिमा छलफलकै क्रममा छन् । 

समितिलाई छलफलका लागि समय तोकेर सीमित नगरिएकाले विधेयकको चाङ छ । संसदमा टेबुल भएका विधेयकमाथि पनि सांसदहरू छलफल गर्न उदासीन देखिन्छन् । 

संसदले महत्त्वपूर्ण कानुन बनाउन नसक्नुमा सत्तापक्ष र प्रतिपक्षीले एकले अर्कालाई दोष देखाउने प्रवृत्ति पुरानै हो । विभिन्न बहानामा लामो समयसम्म सदन अवरोध गर्नेदेखि सूचना टाँसेर स्थगित गर्ने थिति नै बसिसकेको छ । संसदको दोस्रो अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो । दोस्रो अधिवेशनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्रै पारित गर्यो ।

२०८० कात्तिक १६ सम्म जम्मा १८० दिन सदन चालू रह्यो, जसमध्ये ६१ दिनमा ६५ पटक बैठक बस्दा २४४ घण्टा ५० मिनेट ससंदीय काम भएको संसद सचिवालयको रेकर्डमा छ । 

यो अवधिमा संसदले मिटरब्याजपीडितलाई न्याय दिन ल्याएको विधेयक मात्र संघीय संसदले पारित गरेको हो । प्रवक्ता गिरीले हिउँदे अधिवेशन सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक, निर्माण सामग्री तथा निर्माणसम्बन्धी विधेयक, आर्थिक उत्तरदायित्व तथा वित्तीय ऐनलाई संशोधन गरेको विधेयक तथा नियमावलीका अन्य कुरामा नै केन्द्रित रहने बताए । 

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार २२:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया