logo-img

सत्ता गठबन्धनको निष्कर्ष : कोशीको परिणाम अप्रत्याशित र चिन्ताजनक

सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा सत्ता गठबन्धनको अपेक्षाविपरीत आएको निर्वाचन परिणामलाई अप्रत्याशित ठहर गरेको हो । दुई सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्मेदवारले जितेका थिए भने महिलातर्फको सिटमा माओवादी उम्मेदवार एमालेसँग पराजित भएकी थिइन् । 

राष्ट्रिय सभाको निर्वाचनको समीक्षा गर्न बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकपश्चात् नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताएका छन् । 

गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षको मतभारका हिसाबमा जित सुनिश्चितको हिसाब निकालेका थिए । अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीर रूपमा छलफल भएको बताए ।
 
उनले भने, ‘कोशी प्रदेश सत्ता पक्षको गठबन्धनमा हामीले एउटा सिट गुमाएका छौँ । त्यो विषयलाई लिएर छलफल भएको छ । समग्रतामा अरू प्रदेशको बारेमा पनि छलफल भएको छ । राष्ट्रिय सभाको निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर रूपमा छलफल गरेको छ । कोशीमा जुन परिणाम आएको छ यो गम्भीर छ, चिन्ताजनक छ यसको बारेमा प्रारम्भिक छलफल भएको छ र अझै छलफल गर्ने निर्णय भएको छ ।’

यस्तै, उनले यो विषय गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताए । 

उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो किनभने सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छौँ । गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन भन्ने विषयमा पनि समझदारी छ ।’

उनले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस गर्यो भन्ने विषय प्रारम्भिक छलफलको विषय नभएको भन्दै यसबारेमा आगामी दिनमा विश्लेषण हुने बताए ।





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया