logo-img

हुम्लामा फेरि हिमपात, चिसोले जनजीवन प्रभावित

हुम्लामा फेरि आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासि मौसममा फेरबदल भइ बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । 
 
बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।

स्वास्थ्यकर्मी भण्डारीका अनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए । चिसोका कारण घर बाहिर निस्कन र हिँडडुल गर्न समस्या बनाएको उनले जानकारी दिए ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ ।

यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए ।

जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । यतिबेलासम्म एक/दुई उडान नेपालगञ्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो ।



आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । शनिबार तारा एयरले नेपालगञ्जबाट एक उडान गरेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए । अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् । रासस  



  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया