नेपालले दियो माल्दिभ्सलाई २२८ रनको लक्ष्य, रुबिनाले खेलिन् शतकीय इनिङ

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ । मलेसियामा बायुमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । 

नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले शतकीय पारी खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र पाँच छक्कासहित अविजित १ सय १८ रन बनाइन् । योसँगै रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् । 

यस्तै, अलराउन्डर पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रनको आक्रामक इनिङ खेलिन् । त्यस्तै, सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाए । कप्तान इन्दु वर्मा भने शून्यमै आउट भइन् । 

नेपाल आज लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । नेपाल मादिभ्सविरुद्ध पनि सहज जितको खोजीमा छ ।   



नेपाल अहिले समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।  

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।



  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १२:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया