नेपालले माल्दिभ्सलाई १३ रनमै गर्‍यो अलआउट, निकाल्यो २१४ रनको जित
रुबिना क्षेत्रीको कीर्तिमानी शतक

नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराउँदै नेपाल अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भने समूह चरणबाटै घर फर्किने भएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै अलआउट भयो ।

उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले चार, रुबिना क्षेत्री र पूजा महतोले तीन/तीन विकेट लिए ।  

त्यसअघि मलेसियामा बायुमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । यो नेपाली महिला टिमले कुनै पनि टोलीविरुद्ध बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले शतकीय पारी खेलिन् ।

५९ बलको सामना गरेकी उनले १० चौका र पाँच छक्कासहित अविजित १ सय १८ रन बनाइन् । योसँगै रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् । 

यस्तै, अलराउन्डर पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रनको आक्रामक इनिङ खेलिन् । त्यस्तै, सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाए । कप्तान इन्दु वर्मा भने शून्यमै आउट भइन् ।  



जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । 

त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।



  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १४:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया