सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् ।
विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौँको लगानी खेर गएको छ । कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहुँदा सरकारको करोडौं लगानी डुबेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम रु ४५ करोड, पहाडमा रु ३५ करोड र तराईमा रु ५० करोड खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन छैन । क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । प्राधिकरणले २०६९ मा रु नौ करोड खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन-वे कालोपत्र गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भए पनि हालसम्म नियमित उडान भने हुनसकेको छैन । नेपालमा बनेकामध्ये हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थल पनि एक हो । परीक्षण उडानपछि यस विमानस्थल अहिले पूर्ण रूपमा बन्द छ । छ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्र गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ ।
बरु कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल विसं २०७० बाट पूर्ण रूपमा बन्द भयो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरे तापनि नियमित उडान सुरु हुनसकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । सन् १९८१ देखि सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल अहिले प्रयोगविहीन हुँदा स्थानीय तथा पर्यटक मर्कामा परेका छन् ।
मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले वि.सं २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन जमर्को गरे पनि निरन्तरता भने पाउन सकेन । यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयवासीका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ ।
मनाङ उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले हुनसक्ने लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ । अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो । तर, लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल चल्न नसक्दा भने समस्या रहेको छ ।
एक त हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने हुन्छ भने निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँ गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, 'यो पनि धनी मानिसका लागि त सही होला । तर, विपन्न वर्गका लागि भने उपचारको पहुँचमा पुग्न सक्ने अवस्था नै छैन । स्थलमार्गबाट जान घण्टौँ लाग्छ । यसले गर्दा बाटोमा नै समस्या रहेको छ । तर, बनेको विमानस्थल नचल्दा भने दुःख लाग्छ । यसलाई सरकारले दैनिक निरन्तरता दिन नसके पनि हप्तामा एक वा दुईपटक चलाउने कोसिस गर्नुपर्छ ।'
कम उडान हुने गरी सञ्चालनमा ल्याउन सके पनि यहाँका स्थानीयवासीलाई सहज हुने उनको भनाइ छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती थुप्रै छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ । प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेको प्राधिकरणले बताउँदै आएको छ ।
मनाङ जिल्लाको एक मात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनःसञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले वि.सं २०७६ भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुसी भएका मनाङवासी निरन्तर उडान नहुँदा निरास भएका छन् ।
विमानस्थलमा निरन्तर उडान भर्नसक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायी गुरुङको भनाइ छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताएको थियो । यो पनि सफल हुन सकेन । मनाङका पर्यटन व्यवसायी भने आशैआशमा निरास बन्न थालेका छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।