logo-img

[अन्तरवार्ता] ‘दरबार हत्याकाण्ड’पछि राजतन्त्र अन्त्य सुनिश्चित भयो अनि १२ बुँदे सहमतिमा आयौँ : डा.बाबुराम भट्टराई (भिडियोसहित)
‘प्रतिक्रान्तिको सम्भावना म देख्दिनँ’

विसं ०५२ फागुन संक्रान्तिको त्यो दिन । मौसम विस्तारै जाडोबाट गर्मीतिर हिँडदै थियो । मौसम मात्र होइन, त्यस दिनदेखि नेपाली राजनीति पनि तात्न सुरु भयो । किनकि, त्यसदिन अर्थात्, फागुन १ गतेदेखि नेकपा माओवादीले सुरु गरेको थियो, सशस्त्र युद्ध । जसलाई उसले ‘जनयुद्ध’को नाम दिएको थियो । माओवादीले हतियारसहितको युद्ध सुरु गर्नुभन्दा नौ दिनअघि  अर्थात् वर्ष ०५२ माघ २१ मा माओवादीको खुल्ला राजनीतिक मोर्चा ‘संयुक्त जनमोर्चा’ नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय मागपत्र बुझाउँदै युद्धमा जान लागेको संकेत गरे । यो ४० बुँदा स्वयं डा.भट्टराईले लेखेका थिए, जसले माओवादीलाई राजनीतिक आधार पनि दियो । माओवादी सशस्त्र युद्धको प्रस्थान विन्दु यही ४० बुँदा थियो । 

‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने नारा दिँदै माओवादीले फागुन १ देखि व्यक्ति हत्याको राजनीतिक बाटो रोज्यो । यसको औपचारिक निर्णय कास्कीको लुम्लेमा भएको थियो । ०५२ असोजमा बसेको पोलिटब्युरो बैठक सशस्त्र युद्ध उठानका लागि महत्वपूर्ण मानिन्छ । यसले नै पहिलो चरणका फौजी योजना बनायो । यो बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र डा.भट्टराई एक कित्तामा उभिए । उनीहरूको राजनीतिक लाइन मिल्यो । नेपाल राष्ट्रविरुद्ध​को उक्त सशस्त्र संघर्षले के गरेन ? नेपाली राजनीतिलाई त्यसले नयाँ मोडमा ल्याएर राखिदियो । नेपाली समाजमा त्यसले उथल–पुथल मच्चाइदियो । रोल्पाको होलेरीबाट सुरु गरिएको गुरिल्ला युद्ध १० वर्ष ९ महिनासम्म चल्यो । माओवादी र राज्यपक्ष दुवैले चलाएको व्यक्ति हत्याको त्यो अमानवीय राजनीतिमा त्यतिबेला मात्र पूर्णविराम लाग्यो जतिबेलासम्म १७ हजार सर्वसाधारण नेपाली जनताले सहादत प्राप्त गरिसकेका थिए । 

दिल्लीमा सात दल र माओवादीबीच १२ बुँदे सम्झौता । २०६२/६३ को जनआन्दोलन । वर्ष २०६३ मंसिर ५ मा माओवादी र सरकार पक्षबीच शान्ति सम्झौता । योसँगै उक्त सशस्त्र युद्ध सक्कियो । र, सक्कियो राजतन्त्र पनि । गणतन्त्र स्थापना भयो । सविधानसभाको निर्वाचन भयो । नयाँ संविधान पनि बन्यो । सिंहदरबारको सत्तामा पटक–पटक माओवादी नेतृत्वको रजगज चल्यो । चलिरहेकै छ । नेपालमा पटक–पटक सशस्त्र आन्दोलन भए । त्यसलाई राजनीतिक दलहरूले क्रान्ति भने । के कांग्रेस के कम्युनिष्ट, के मधेसवादी व्यक्ति हत्याको राजनीतिबाट कोही पनि चोखो रहेन । माओवादीले पनि त्यही बाटो पछ्यायो । व्यक्ति हत्याको राजनीतिक दर्शनको घोडा चढेर सिंहदरबार छिरेको माओवादी अहिले पनि सत्ताको नेतृत्वमा छ । प्रश्न उठ्छ–जुन उद्देश्यले जनयुद्धको आह्वान गरिएको थियो, त्यसले सार्थकता पायो त ? 

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका पूर्वनेता डा.भट्टराईले माओवादीले एक दशक चलाएको ‘जनयुद्ध’लाई राजनीतिक आकार दिन निकै मिहिनेत गरेका थिए । माओवादी युद्धको जग कसरी तयार गरिएको थियो ? के नेपाल फेरि अर्को युद्ध वा प्रतिक्रान्तिको भुमरीमा पर्दै छ ? कतै माओवादीले भनेको त्यो जनयुद्ध अपूरो क्रान्ति त थिएन ? यिनै जिज्ञासा लिएर हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा.भट्टराईसँग फरकधारकालागि सन्तोष आचार्यले गरेको कुराकानी 

०५२ फागुन १ मा नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्यो, अहिले २८ वर्षपछि फर्केर हेर्दा कस्तो लाग्छ ? 

त्यो महान् क्रान्तिको सुरुवात थियो । संसारका जुनसुकै देश पनि आज विकास समृद्धिको उचाइमा, लोकतन्त्र, समाजवादी उचाइमा पुगेका छन्, ती सबैले आफ्नो कालखण्डमा एउटा महान् क्रान्ति गरेर त्यसको जगमा नै त्यो विकास समृद्धि हासिल गरेका हुन् । चाहे फ्रान्सेली क्रान्ति भन्नुहोस् १८औँ शताब्दीको अथवा अमेरिकी स्वतन्त्रता संग्राम १८ औँ शताब्दीको । अथवा १९ औँ शताब्दीमा भएका जर्मनीलगायतका देशका क्रान्ति भन्नुहोस्, चाहे २०औँ शताब्दीका रुस, चीनलगायतका क्रान्ति भन्नुहोस् । ती सबै त्यस्तो एउटा महान् फड्को क्रान्तिकारी फड्को हानेर मात्रै समाज अगाडि बढेको छ । त्यस अर्थमा नेपाली समाज ७ सालदेखि अंश–अंश गरेर एक प्रकार हलाल क्रान्ति जुन भइआएको थियो, त्यसलाई एउटा विन्दुमा पुर्याएर पूर्णता दिनको निम्ति ०५२ फागुन १ गते हामीले लामो तयारीपछि जनयुद्ध सुरु गरेका थियौँ । त्यसैको बलमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत यी उपलब्धि हासिल भएको हो । 



त्यसैले त्यो एउटा महान् कदम थियो भन्ने मलाई लाग्छ । नेपाली इतिहासको दुईवटा घटना हजार वर्षपछि मान्छेहरूले सम्झिन्छन्, एउटा पृथ्वीनारायणको पालामा उनको नेतृत्वमा भएको राज्य विस्तार र भौगोलिक रूपमा नेपालको निर्माण र दोस्रो लोकतान्त्रिकरणको प्रक्रियालाई ७ सालदेखि लिएर ७२ साल हुँदै ७२ सालसम्म संविधान जारी गर्ने क्रमको चाहिँ एउटा लोकतान्त्रीकरणको चरण । यी दुईटा घटना नेपाली इतिहासमा कहिले पनि नविर्सिने घटना हुन् । त्यसअर्थमा जनयुद्धको थालनी त्यो लोकतन्त्रलाई, गणतन्त्रलाई पूर्णता दिने एउटा महान् क्रान्तिकारी कदम थियो । 

फागुन १ गतेभन्दा नौ दिनअघि माघ २१ गते तपाईंले नै ४० बुँदे मागपत्र सरकारलाई बुझाउनुभयो र तुरुन्तै ‘जनयुद्ध’मा जानुभयो । यसको अर्थ पहिले नै युद्धको तयारी गरेर औपचारिकताका लागि मात्र तपाईंहरूले ज्ञापनपत्र दिनुभएको थियो ? 



होइन । जनयुद्धको रूपमा नेपाली इतिहासलाई एउटा महान् प्रयास मान्न जरुरी छ भन्ने सोच अन्तर्गतै लामो समयदेखि हामीले त्यसको तयारी गरेकै थियौँ । खासगरी ४६ सालको आन्दोलनको बेलामा संयुक्त राष्ट्रिय जनआन्दोलन भन्ने एउटा छुट्टै क्रान्तिकारी वामपन्थीहरूको संगठन थियो । जसको म संयोजक र प्रवक्ता थिएँ । त्यसले नै १० बुँदे आफ्नो धारणा अगाडि सारेको थियो । जुन ४६ सालको परिवर्तन थियो । १० बुँदामध्ये एउटाचाहिँ संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्ने थियो । भलै त्यसमा सबैको सहमति थिएन । अहिलेका प्रधानमन्त्री प्रचण्डजीको पनि रिजर्भेसन थियो । हामी अलग–अलग पार्टीमा थियौँ । तर, मेरो विशेष जोडले त्यसरी त्यही बेलादेखि नै यो ४६ सालको परिवर्तन अपू​रो छ । यसलाई पूर्णता दिनको निम्ति संविधानसभाबाटै संविधान बन्नुपर्छ र राजतन्त्र अन्त्य भएर गणतन्त्र ल्याउनुपर्छ भन्ने हाम्रो मुख्य सोच थियो । त्यसैको निम्ति नै हामीले पछिचाहिँ एकताकेन्द्र हुँदै माओवादी पार्टी भूमिगत रूपमा बनायौँ । र, बाह्य त्यसको फ्रन्ट अर्गनाइजेसनचाहिँ संयुक्त जनमोर्चा भन्दै मेरो नेतृत्वमा बन्यो । पार्टी प्रचण्डजीको नेतृत्वमा भूमिगत पार्टी जसमा म पनि पोलिटब्युरो सदस्य थिएँ । र, बाह्य रूपमा जनमोर्चाको अध्यक्षको रूपमा म । 

यसरी नै समानान्तर ढंगले ४७–४८ सालदेखि नै चार–पाँच वर्षको तयारी गरेर ५२ साल फागुन १ गते हामीले त्यसलाई सुरु गर्यौं । त्यसो गर्ने क्रममा संश्लेषित रूपमा हाम्रा माग के हुन् त भन्ने आमजनतालाई पनि थाहा होस् र सरकारलाई पनि थाहा होस् भनेर हामीले सचेत ढंगले नै माघ २१ गते उहाँलाई त्यो दिएका थियौँ । त्यो टेस्ट पनि के गरेका थियौँ, त्यो कत्तिको सिरियस हुनुहुन्छ त कत्तिको बुझ्नुभा’छ उहाँको इन्टेन्सनले, उहाँको राजनीतिक विश्लेषकहरूले कत्तिको बुझ्नु भा’छ भन्ने हाम्रो एउटा टेस्ट पनि थियो । तर, उहाँले त्यसलाई एउटा रद्दीको टोकरीमा फ्याकिँदिनुभयो । त्यसले पनि थप पुष्टि के गर्यो भने एउटा ठूलो धक्का नदिएसम्म समाज परिवर्तन हुँदैन । ती पुराना शासक आफूलाई लोकतान्त्रिक भन्ने शक्तिहरू कसरी पुरानो सत्तामा डुबिसकेका छन् भन्ने टेस्टको निम्ति नै हामीले त्यो प्रस्तुत गरेका थियौँ । नभन्दै त्यही भयो । त्यसैले हामीले सुरुवात गर्यौं र अगाडि बढायौँ । हामी राजनीतिक रूपमा सफल भएकै हो । अब फौजी ढंगले त अहिलेको विश्वमा हामीले सन्तुलन कायम गरेकै हो । र, देशको जुन जटिल भू–राजनीति छ, त्यसलाई ध्यान दिँदै फेरि बढी गर्छु भन्दाखेरि बाह्य हस्तक्षेप हुने, देश नै खतरामा पर्ने स्थिति पनि आउन सक्थ्यो । त्यसो भएर हामीले राजतन्त्र अन्त्य गर्ने जब सम्भावना सुनिश्चित भयो दरबार हत्या काण्डपछि त्यसपछि हामीले संविधानसभा र गणतन्त्रलाई न्यूनतम मुद्दा बनाएर १२ बुँदे सहमति हुँदै अगाडि बढेका हौँ । 

त्यतिबेला रोल्पा र रुकुममा सरकारले चलाएको रोमियो अप्रेसनले माओवादीको युद्धको एउटा आधार बनेको भन्छन् । खासमा रोमियो अप्रेसन के थियो ? 

म फेरि पनि के जोड दिन चाहन्छु भने ४६ सालको परिवर्तन अपूरो छ । र राजाले जारी गरेको जुन संविधान थियो एउटा आयोगमार्फत त्यो त पुरानैको निरन्तरता हुन्थ्यो । सार्वभौमसत्ता र राजकीय सत्ता राजामा निहित भएसम्म जुनसुकै बेला पल्टन सक्थ्यो भन्ने मान्यताका आधारमा नै हामीले यो अभियान सुरु गरिसकेको हुनाले त्यसपछिका यी चुनावको उपयोग ती संषर्षहरू त हाम्रा रिहर्सल थिए, एउटा ठूलो क्रान्तिको निम्ति । सत्तामा बस्नेहरू त अन्धा हुन्छन् । एउटा मध्यपान गरेको मान्छेले जसरी आफ्नो विवेक गुमाउँछ त्यस्तै सत्ताको मध्यपानले मान्छेले विवेक गुमाउँछ । त्यसकारण उहाँहरूले दमनबाट ठीक गर्छु भन्नेतर्फ जानुभयो । जब त्यसको पछाडि त गम्भीर राजनीतिक कुरा थियो । त्यसैले ती रोमियो अप्रेसन भनेको पुराना शासकले जे गर्दै आएका थिए, इतिहासमा भिन्न रूपले उहाँले त्यही गर्नुभयो । त्यसलाई हामीले बिल्कुलै स्वाभाविक रूपमा लिएका थियौँ । 

त्यसले त झन् जनताबीचमा जान, झन् हाम्रा मुद्दालाई स्थापित गर्न बल पुर्याएको थियो । र, त्यसैमा टेकेर नै हामी बाह्य संयुक्त जनमोर्चामार्फत राजनीतिक प्रचार गर्दै हिँड्यौँ । म आन्दोलन गर्दै जाने, सभा गर्दै जाने, प्रचार गर्दै हिँड्थेँ । भित्री रूपमा चाहिँ हाम्रो प्रचण्डजीको नेतृत्वमा अर्को फौजी तयारी पनि सँगसँगै गरेर हामीले लिन्थ्यौँ । रोमियो अप्रेसनले, यो राज्य क्रूर छ, हामीले पनि एउटा सशस्त्र प्रतिरोधको तयारी गरेनौँ भने यो परिवर्तनको क्रान्ति पूरा हुँदैन भन्ने औचित्य पुष्टि गर्नका निम्ति पनि उहाँहरूको मूर्खताले हामीलाई मद्दत गरेको थियो । 

तत्कालीन एकता केन्द्रको खुल्ला मोर्चा संयुक्त जनमोर्चा नेपालले ०४८ सालको निर्वाचनमा संसदमा नौ सिट जितेको थियो । यति हुदाँहुदै पनि सशस्त्र युद्धमै किन जानुपरेको थियो ?
 
तपाईंले के ख्याल गर्नुपर्यो भने मुख्यतः संविधान हो । संविधानमा के लेखिएको छ । संविधानको प्रस्तावना नै हामीमा निहित सार्वभौमसत्ता र राज्य सत्ताको प्रयोग गरिबक्सी हामीले यो संविधान जारी गरेका छौँ भनेरै राजाले लेखेका छन् संविधानमा,  त्यो माथि टाउकोमा । ०१५ सालमा त्यही गल्ती गर्दा बिपी कोइरालासमेत झुक्किनुभयो । त्यो बेलामा संविधानसभाबाट संविधान जारी गरेको भएदेखि ०१७ साल राजाले त्यो उल्ट्याउन सम्भव हुँदैन थियो । त्यो गल्ती फेरि नदोहोर्याउनको निम्ति हामीले संविधान नै नसच्याएसम्म राजाले दिएको राज्यसत्ता राजतन्त्रमा रहेसम्म त्यसअन्तर्गत हुने संसदीय व्यवस्था भनेको हात्तीको बाहिर देखाउने दाँत मात्रै हुन्छ । चपाउँने दाँत हुँदैन भन्ने हामीले बुझेको हुनाले नै चुनावलाई जनतामा जाने एउटा माध्यमको रूपमा प्रयोग गरेको हो । तर हामीले संविधानलाई स्वीकार गरेको होइन । हामीले त संविधानको नै विरोध गरेका थियौँ त । कसरी त्यो बाटोबाट हुन्छ भन्ने भ्रम छर्ने हामी । त्यसको निम्ति हामीले जनयुद्ध गर्यौं । र, जनयुद्धको बलमा नै हामीले फेरि संविधानसभाबाट गणतन्त्रको समझदारी गर्यौं । त्यसकारण हामी त हाम्रो लक्ष्यमा पुग्यौँ । लक्ष्य पूरा गर्यौं । 

जनयुद्ध सुरु गर्दा निर्मल लामा, रूपलाल विश्वकर्माहरू सँगसँगै हुनुहुन्थ्यो । पछि उहाँहरू माओवादीमा देखिनुभएन नि किन होला ?  

०४६ सालभन्दा अघि वामपन्थी अनेक टुक्रामा विभाजित थिए । मसाल मोटो मसाल, पातलो मसाल, चौथो महादिवेसन भन्ने सम्महरू थिए । र अर्कोचाहिँ झापा आन्दोलनबाट अगाडि आएको माले भन्नेसम्महरू थियो । मनमोहनजीहरूको मार्क्सवादी भन्ने थियो । यस्ता थुप्रै समूह थिए । ०४६ सालपछि दुईटा कित्तामा तिनीहरू ध्रुवीकरण भए । एउटा हामी मसाल, चौथो महादिवेसन सर्वहारा श्रमिक संगठन भन्नेहरू एकता केन्द्र हुँदै माओवादी हुँदै गयौँ भित्रि रूपमा । बाह्य रूपमा संयुक्त जनमोर्चा भनेर गयौँ । अर्कोपट्टि मनमोहन, झापा आन्दोलनका मालेहरू उहाँहरूले चाहिँ एमाले बनाउनुभयो । त्यसकारण उहाँहरूले संसदीय बाटो लिनुभयो । हामीले क्रान्तिको बाटो लियौँ । यसरी नै ती दुईवटा धार त्यसरी नै अलग भएर नै त्यो अगाडि बढ्यो । त्यसक्रममा त्यो एकता केन्द्रको रूपमा हामीले पहिला बनाएका थियौँ, त्यसमा निर्मल लामा, रूपबहादुर विश्वकर्मा अहिले जुन नारायणकाजी श्रेष्ठ हुनुहुन्छ निर्मल लामाजीकै पार्टीमा हुनुहुन्थ्यो । उहाँहरू चाहिँ जनयुद्धको बाटो ठिक छैन त्यही संसदको प्रयोग गर्दै जानुपर्छ भन्ने बाटोमा हुनुहुन्थ्यो । त्यसकारण हामी अगाडि बढ्यौँ, उहाँहरू छुट्नुभयो । त्यसपछि जनयुद्ध सकिएपछि मात्रै फेरि नारायणकाजीहरू माओवादीमा जोडिन आउनुभएको हो । 

तपाईंको त्यतिखेर ऋषिकेश शाहसँग निकै उठबस थियो, तपाईंहरू युद्धमा जाने निर्णय भएपछि उहाँसँग केही कुरा भएको थियो ? 

उहाँ शाह र सामन्त खानदानको भए पनि अक्सफोर्डलगायत विश्वविद्यालयमा पढेको एउटा प्रबुद्ध सामन्त भन्यौँ । त्यसअर्थमा मेरो उहाँसँग कसरी सम्पर्क भयो भने भारतमा पढ्दा ०३४ सालमा अल इन्डिया नेपाली स्टुडेन्टस् एसोसिएसन भन्ने बनाएका थियौँ । त्यतिबेला नेपालमा सबै पार्टी प्रतिबन्धित थिए । उहाँ पनि त्यतिबेला राजासँग रिसाएर अलि विद्रोही रूपमा बस्नुभएको थियो । हाम्रो त्यो सम्मेलन इन्डियामा विभिन्न सहरमा प्रत्येक वर्ष गथ्र्यौं । त्यतिबेला उहाँलाई हामीले कार्यक्रममा बोलाउँथ्यौँ । विभिन्न मान्छेहरू बोलाउनेमध्येमा उहाँलाई पनि बोलाउँथ्यौँ । म बोर्ड फस्ट भएको मान्छे, इन्जिनियरिङको स्टुडेन्ट र हाम्रो अखिलवाद नेपाली विद्यार्थीमा डाक्टर–इन्जिनियर कृषि यस्तै पढ्ने टेक्निकल मान्छे बढी हुन्थे । उहाँ निकै प्रभावित हुनुभयो । त्यसको नेता अध्यक्ष म थिएँ । त्यसो भएर उहाँ निकै प्रभावित भएर मलाई यो केटो एकदमै ट्यालेन्ट छ भनेर त्यो दरबारिया जुन सर्कल हुन्छ, त्यहाँ मेरोबारेमा निकै चर्चा गरेर मलाई स्थापित गर्न ठूलो भूमिका उहाँले खेल्नुभयो । पछि, ऋषिकेश शाहले तपाईंको जहिले नि प्रशंसा गर्नुहुन्छ, के गरिदिनुभयो ? भनेर दरबारिया मान्छेहरू भन्थे । 

तर त्यो हाम्रो इन्टेलेक्चुअल सम्बन्ध हो । मेरो रुचि इतिहास ज्ञानगुनप्रति हुन्थ्यो । म उहाँहरूको कुराहरू सुन्थेँ । उहाँहरू पढे–लेखेका मान्छेहरू सुनिदिने मान्छेलाई नि मन पराउँछन् नि ! त्यसकारणले त्यस्तो प्रकारको वैचारिक बहस छलफल गर्ने उहाँको र मेरो सम्बन्ध बन्यो । र, जनयुद्ध सुरु हुँदा उहाँलाई थाहा थियो यो बाटो जाँदै छन् भन्ने कुरा त्यो हामीले लुकाएकै थिएनौँ । अनि उहाँलाई थाहा थियो र पछि पनि संविधानसभा ठिक हो भनेर खुलेर बोल्नुभएको छ । पछि जनयुद्ध सुरु गरिसकेपछि पनि हाम्रो पत्र व्यवहार भइराख्थ्यो । पार्टीको तर्फबाट पनि मैले उहाँलाई भन्थेँ । पछि उहाँ बित्नुभयो । उहाँले आखिर यो बाबुरामहरूले नै राजतन्त्र अन्त्य गरिछाड्छन् भनेर बोल्नुभएको रहेछ । जनयुद्धताका नै उहाँले भनेको कुरा मैले पछि देख्या’थेँ । 

जनयुद्ध सुरु गर्दाखेरि स्थानीय शक्ति त छँदै छ । बाह्य शक्तिहरूसँग पनि केही संवाद भएको थियो ? जस्तो छिमेकी राष्ट्र होस् या त्यसबाहेकका विदेशी शक्तिसँग ? 

धेरै मान्छेले के ठान्छन्, अरे क्रान्तिकारीहरूसँग जुन सत्ताधारीहरू हुन्छ ती जहिले पनि नकारात्मक सोच राख्छन्, दमनकारी सोच राख्छन् संसारभरिका । त्यसकारण हामी त वर्गीय विश्लेषणमा विश्वास गर्ने भएको हुनाले शासकहरू त माओवादी क्रान्तिकारीहरू भनेका समकालीन विश्वका उनीहरूको भाषामा सबभन्दा उग्रवादी शक्ति, हाम्रो भाषामा भन्दा सबभन्दा क्रान्तिकारी शक्ति थियौँ । त्यसले उनीहरूले त पाएसम्म हामीहरूलाई सिध्याउने, बिरुवा नै निमोठ्ने गरिहाल्थे । त्यो त असम्भव कुरा थियो, तर, सँगसँगै त्यहाँ के हो त्यहाँ पनि संघर्ष त चलिराखेको हुन्थ्यो । क्रान्तिकारी वामपन्थी शक्तिहरू संसारभरि हुन्थे । त्यस्ता शक्तिसँगको सहकार्य जनतासँग मुद्दामा त हामी सहकार्य गथ्र्यौं । 

तर सत्ताधारीहरू विश्वका कुनै पनि नेपालदेखि लिएर कुनै पनि विश्वका सत्ताधारीहरूसँग हाम्रो त कल्पना पनि हुँदैन थियो । न सम्पर्क गर्न सक्थ्यौँ, न उनीहरूले हामीसँग सम्पर्क गर्ने आँट गर्थे । त्योचाहिँ वाहियात कुनै मान्छेहरू यति मूर्खतामा, इतिहासको कम ज्ञान भएका तिनलाई मूर्ख भन्छु । तिनले कतैबाट परिचालित भन्छन्, त्यस्तो हुन्छ ? वैचारिक हो, जातीय द्वन्द्व, धार्मिक द्वन्द्व हो भने जो निर्वर्गीय छ भने त्यस्तोमा उनीहरूले घुसपैठ गरेर प्रयोग गर्न सक्छन् । तर, हाम्रो त वर्गीय युद्ध थियो । त्यसैले त्यो हामीले गरेको जुन आन्दोलन थियो, त्यो त भारतका शासकहरू, अमेरिकाका शासकहरू, चीनका शासकहरू सबैको विरोधमा हुन्थ्यो त्यो । त्यसैले हामीसँग त कोही पनि नहुने कुरो त प्रस्ट थियो नि ! तर कहिलेकाहीँ कोही कोही पत्रकारहरू र बुद्धिजीवीहरू अहिले पनि कसैसँग सम्बन्ध थियो भन्न सक्छन् त्यो त क्रान्तिको एउटा एबिसी र कखरा नबुझेका मान्छेहरूले भन्ने कुरो र दुष्प्रचार मात्रै हो । 

१२ बुँदे सम्झौताको ल्याण्डिङ भारतमा भयो, किन ?  

तपाईंले के बुझ्नुहोस् भने त्यो बडो दुर्भाग्य हुँदो रहेछ के । भारतमा ल्यान्डिङ भयो । भारत त महासमुद्र हो । त्यो संसारभरिका क्रान्तिकारीहरूले जहिले न विदेशीको भूमि प्रयोग गर्छन् । कसले गरेन ? ल भन्नुहोस् त, गान्धी–नेहरूहरूले के गरे ? अंग्रेजहरूसँग लड्दा अरू–अरू देश प्रयोग गर्थे । अंग्रेजसँग लड्दा फ्रान्स जान्थे, फ्रान्ससँग लड्नेहरू जर्मनी गएर बस्थे । संसारभरिको चलन हो त्यो । भारत ठूलो समुद्रजस्तो खुला सिमाना छ । हामीले हिजोदेखि पनि जनताको बीचमा सम्बन्ध छँदै छ । लाखौँ नेपाली त्यहाँ काम गर्थे । त्यस अर्थमा हाम्रो भूमिगत नेटवर्क जुन थियो, त्यसलाई हामीले प्रयोग त गथ्र्यौं । तर, उनीहरूले त भ्याएसम्म त भारतमा त माओवादी त्यहाँ भारतीय माओवादीहरू थिए त्यहाँ । उनीहरूले (सत्तापक्ष) त उनीहरूलाई एक नम्बर दुश्मन भन्थे । आफ्नै देशमा एक नम्बर दुश्मन भनेको माओवादीका सहयोगीहरूसँग सम्बन्ध राख्ने त्यस्तो मूर्खता भारतीय सत्ताधारीहरूले गर्न सक्छ ? त्यो त असम्भव कुरा थियो । त्यसकारणले हामीले आफ्नै बलबुतामा जबसम्म शक्ति आर्जन गर्दै गयौँ दरबार हत्याकाण्डपछि जब राजतन्त्र एकदम कमजोर भयो तब हाम्रै भाषामा, त्यो जब अन्त्य भयो त्यसपछि संसदवादी शक्ति कांग्रेस एमालेसँग सहकार्य गरेर संयुक्त मोर्चा बनाएर राजतन्त्रको विरुद्धमा जाने भन्ने हामीले नीति बनायौँ । हो, त्यही गर्ने क्रममा नै हामीले रोल्पामा नै हामीले यो ०६२ सालमा मलाई राम्रोसँग याद छ किनकि त्यतिखेर गिरिजाबाबुसँग मेरै सम्बन्ध थियो । प्रचण्डजीहरूको त्यति जिनजान थिएन । 

मैले नै उहाँहरूसँग मिलाएर भेटघाट गराएर ल अबचाहिँ अगाडि जानुस् । तपाईंहरू गणतन्त्रमा आउनुहोस्, हामी शान्तिमा आउँछौँ भन्ने सहमति गरिसकेपछि त्यो सबै ड्राफ्टचाहिँ हाम्रो भित्रै भइसकेको थियो । ०६२ सालको कार्तिकमा हामीले रोल्पामा नै त्यो बैठक आयोजना गरेका थियौँ । तर, अन्तिम बेलामा त्यहाँ वामदेव (एमालेको) कार्यबाहक हुनुहुन्थ्यो उता जानुभएको थियो । नारायणकाजीको पनि सानो समूह थियो, उहाँ पनि आउनुभएको थियो । गिरिजाबाबु पनि आउने कुरा थियो । तर, पछि अन्तिम बेलामा ‘हेर्नुस् अब मेरो स्वास्थ्य पनि ठिक छैन, अब म आउँदाखेरि सिआइडीले पछ्याउँछन् । यहाँ खतरा हुन्छ त्यसकारण सीमापारि जाऊँ’ भनेको हुनाले हामीले पहिले रोल्पामै बनाएको बनाएको ड्राफ्ट (वामदेवलाई पनि थाहा होला) पछि उता, हाम्रै विभिन्न सेल्टरहरूमा बैठक गरेर १२ बुँदे भएको छ । अनि इन्डिया कसरी जोडियो ? त्यसमा इन्डियन सत्ताको त कुनै कतै टाढाको पनि कुनै साइनो छैन । 

एउटा बलियो राजनीतिक शक्तिको रूपमा माओवादी उदाएपछि भारतले माओवादीलाई प्रयोग गरेको हो ? 

कूटनीतिक सम्बन्ध त राख्नुपर्यो । शक्तिको रूपमा आइसकेपछि । त्यो जनयुद्धपछि जुन हामी यो शान्ति प्रक्रियापछि पहिलो संविधानसभा भयो, त्यतिबेलासम्म पनि २०–२५ सिट ल्याउँछ माओवादीले भन्ने थियो उनीहरूको । माओवादीलाई ल्याएर सानो शक्तिको रूपमा राख्न सकिन्छ भन्ने बुझाइ उनीहरूको थियो । हाम्रो त्यो शक्ति भन्ने नै उनीहरूलाई अनुमान गर्ने कुरा पनि हुँदैन । जहिल्यै हेप्छन् । क्रान्तिकारीलाई त कमजोर ठान्छन् । त्यसपछि न दंग परे । शक्तिको उदय भयो । त्यसपछि त सम्बन्ध राख्नुपर्यो । संसारभरिका आए । अमेरिकाका आए, चीनका आए, इन्डियाका नि आए । त्यो स्वाभाविक हो । तर, दुर्भाग्य ! हाम्रो आफ्नै पार्टीमा मेरोचाहिँ संविधान बनाऊँ र शक्तिलाई बलियो बनाएर जाऊँ भन्ने थियो । किरणजीहरू होइन, यो युद्ध नै जारी राखम् भन्ने, प्रचण्डजीचाहिँ आफूलाई कसरी फाइदा हुन्छ बीचमा बसेर सधैँ कहिले यता कहिले उता गर्ने अनि त्यो गर्दा हामी कमजोर हुँदै गएका हौँ । 

तपाईँले आफू प्रधानमन्त्री भएको बेला भन्नुभएको थियो–‘सत्ताको साँचो हाम्रो हातमा छैन’ किन यस्तो भन्नुभयो ?  

त्यो सत्य होइन । कहाँ भने मैले ? फ्याक्ट चेक गर्नुस् । कहाँ कुन स्ट्याटस दिएको छु, मैले । त्यो बिल्कुल गलत कुरो हो । कहाँ भनेको छु ? कहाँ आएको छ ? देखाउनुहोस् न मलाई । 

तपाईंको भनेको भनेर पत्रपत्रिकामा आएको सन्दर्भमा मैले यो प्रश्न सोधेको हो । 

एमालेनजिकका एकजना पत्रकार तिनको नाम बिर्सें मैले, कान्तिपुरकै थियो । उसको शब्द हो त्यो । तिनले ढोकामा निस्किने बेला अनि यो सत्ताको साँचो त विदेशमा र’छ है भने । मैले तपाईंलाई थाहा छ किन सोध्नुहुन्छ त मलाई भनेँ, त्यसलाई जिस्काएर । तपाईंलाई थाहा भए मलाई किन सोध्नुहुन्छ ? भनेर ओठे जवाफ फर्काएको थिएँ । भोलिपल्ट त्यसलाई ब्यानर बनाएछन् । त्यो शतप्रतिशत झुट हो । तपाईंलाई चुनौती छ, कहीँ त्यसरी बोलेको छु देखाउनुहोस् । त्यो पत्रकारले आफूले भन्यो, त्यो ओठे जवाफ मैले दिएकोलाई ब्यानर बनाएर हुन्छ ? सत्य यही हो । यस्तो यस्तो कुरा गरिदिने ? नेपालको सन्दर्भमा नेपालको सही राजनीतिक इतिहास बुझ्नका निम्ति र एउटा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनका निम्ति पनि ठूलो नोक्सान पुर्याइरहेको छ । 

सुधीर शर्माको ‘प्रयोगशाला’मा एउटा विवेक शाह भन्ने सेनाको जर्नेलले भारतीय सैनिकले माआवादीलाई तालिम दिएको कुरा सुनेको थिएँ भनेर भन्यो । राजाको सैनिकले त भन्ने नै भयो त । हाम्रो बदनाम गर्न उसले त भन्छ । त्यही कुरो सुधीर शर्माले प्रयोगशालामा लेखेका रहेछन् । त्यो किताब मैले हेर्नेबित्तिकै पढ्दाखेरि तपाईंले यो गलत तथ्य लेख्नुभएको छ है, त्योबाहेक उहाँको १२ वटा फ्याक्च्युअल इरर (तथ्यगत त्रुटि) छन् सच्याउनुहोस् भनेँ । त्यो उनले सच्याएनन् । बरु पछि त्यसलाई उल्टै अंग्रेजी संस्करण अनुवाद गरेर प्रचार गरे । त्योचाहिँ सबैले स्ट्याण्डर ट्याम्प्लेट भएको छ । भनेपछि यो त हन्ड्रेड प्रसेन्ट झुट हो । चुनौती दिन्छु, म प्रचण्डहरू त जिउँदै छौँ नि, ल पुष्टि गर त भारतको सेनाले माओवादीजस्तो क्रान्तिकारी, जसलाई भारतले एक नम्बर दुश्मन ठान्छ, त्यसले तालिम दिन्छ ? अब यही कुरो हो..हो भन्याभन्यै गर्या’छ मान्छेहरूले त्यसकारण इतिहासलाई यसरी न बंग्याउनुहोस् । यसले त अन्याय हुन्छ र इतिहास भोलिको हाम्रो पुस्ताप्रति ठूलो अन्याय हुन्छ भन्ने मलाई लाग्छ ।

अर्को सन्दर्भ, हामीकहाँ फेरि पनि सशस्त्र युद्धको कुराहरू आइरहेका छन्, नेपाली जनताको असन्तुष्टिको जगमा उभिएर फेरि पनि सशस्त्र युद्ध हुने सम्भावना देख्नुहुन्छ ?

मुख्य लक्ष्य तपाईंको के हो ? राजनीतिक माग के हो ? जनताका आवश्यकता के हुन् ? समस्या के हो भन्नेकुरा पहिले टुंगिनुपर्यो । समाधान के हो ? लक्ष्यप्राप्ति गर्ने के हो ? भन्ने कुरो पहिले परिभाषित हुनुपर्यो । अनि त्यपछि कुनबाट अपनाउने सामान्य सुधार मात्रै गर्ने तरिका छ भने तपाईंले जनदवाब दिएर, जनआन्दोलन गरेर, चुनाव जितेर बदल्न सक्नुहुन्छ । अब त्यो संविधान नै ठीक छैन, त्यसका मूल मान्यता नै बेठीक छ भन्ने तपाईंको भनाइ हो र त्यसले गर्दा नै देशले समाजको परिवर्तनलाई बाधा पुर्याएको छ भन्ने लाग्छ भने त्यस्तो बेलामा तपाईंले हतियार उठाउने हो । जब नेपालको स्थिति त्यतिबेला त्यस्तो थियो । किनकि राजकीय सत्ता र सार्वभौमसत्ता राजाले परम्परादेखि दाबी गर्दै आएका थिए । त्यसलाई अन्त गर्नको निम्ति हतियार नउठाईकन हुँदैन थियो । 

किनकि हतियार नउठाईकन संविधान त परिवर्तन हुँदैन । फेरि राजतन्त्र सेनाको कन्ट्रोल गरेर बसेको छ त्यसलाई फाल्नको निम्ति, गणतन्त्र ल्याउनका निम्ति हतियार उठाउनु बाध्यता थियो । तर, अब त्यो स्थिति छैन । अब गणतन्त्र आयो, नेपाली जनताले अपूर्णै खालको भए पनि संविधान बनाए । संघीय लोकतान्त्रिक गणतन्त्र लेखियो । भलै त्यसमा केही कमी छन् म आफैँले भनेको छु । म आफैँ संविधानसभाको संवैधानिक समितिको सभापतिको नाताले र संविधानसभाको निम्ति निरन्तर गणतन्त्रको निम्ति लडेको व्यक्तिको नाताले त्यस्ता ती अपूर्णतालाई चाहिँ अब जनदबाबमार्फत जनताका दबाबहरू सडकबाट पनि जनशक्ति प्रदर्शन गर्नुपर्छ संघसँगै सदनबाट र केही मात्रामा सरकारमा गएर पनि सुधार गर्न गरेर संविधान संशोधन अगाडि जान सकिन्छ भन्ने मलाई लाग्छ । त्यसैले अहिलेचाहिँ हिजैको जस्तो अवस्था छ भन्ने कुरो सत्य होइन । केही दरबारिया शक्तिले उल्ट्याउन खोज्छ भने त्यो त प्रतिक्रान्ति हो नि । ल उसले उठाओस् न त हेरौँला नि त हामी ।

प्रतिक्रान्तिको सम्भावना देख्नुहुन्छ ? 

म देख्दिँन । अहिले एउटा सानो दुई–चार–पाँच प्रतिशत जनता त जहाँ पनि हुन्छन् । अमेरिकामा पनि यो लोकतन्त्र ठीक छैन भन्ने आउँछन् । जर्मनीजस्तो विकसित ठाउँमा आइस्टाइन जन्मेको बेला हिटलरजस्तो फाँसीवादी शक्तिको पनि उदय भयो । त्यस्तो हुन्छ, बेलाबखतमा । अहिले धार्मिक कट्टरपन्थ भारततिर अन्यत्र भइरहेको छ । त्यो बेग्लै कुरा हो । तर, यो व्यवस्थालाई नै फेरि पछाडि फर्काउँछु भन्नेकुरा त्यो सपना देख्नेहरू भनेका ती त किनाराका केही सीमित व्यक्ति हुन्, तिनले त्यस्तो गर्न नि सक्दैनन् । गर्नु पनि हुँदैन । अब अहिले युवाहरूमा असन्तुष्टिचाहिँ कहाँ हो भने यो राजनीतिक परिवर्तन पछि जुन आर्थिक सामाजिक परिवर्तन जुन तीव्रता लिनुपर्थ्यो, जो म आफैँले भनिरहेको छु यो त मैले नै भनिराखेको छु नि यो कुरो त । त्यो तीव्रता नहुँदाखेरि यी हिजोका पुराना क्रान्तिबाट आएका शक्तिहरू माओवादीलगायत माओवादी, एमाले, कांग्रेसका नेताहरू जसरी भ्रष्टाचारमा डुब्न थाले, डुब्न पुगे, देशमा स्वास्थ्य, शिक्षाजस्ता जनताका आधारभूत आवश्यकता पनि पूर्ति हुन सकेको छैन । रोजगारीको अभावमा लाखौँ, दशौँ लाख, पचासौँ लाख युवाहरू विदेश पयालयन हुनुपरेको छ, यी सम्बोधन गर्नुपर्यो । यो सम्बोधन नहुँदा जनतामा जुन वितृष्णा आइरहेको छ, आक्रोश पैदा भइराखेको छ त्यसमा चाहिँ केहीले खेल्न खोज्छन् । 

तर हामीले खेल्न खोज्ने होइन, हाम्रो भनाइ के हो भने जुन पुराना हाम्रा नेताहरू जुन दलहरू हुन्, उनीहरू त पतन भएर गए । तर हामीले यो संविधानमा टेकेर, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर हामीले केही सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको सुधार, भ्रष्टाचार नियन्त्रणको जुन एउटा शक्ति सम्पन्न जनलोकपालको स्थापना, आर्थिक विकास र समृद्धिको एउटा राष्ट्रपतीय प्रणालीअन्तर्गत बलियो आर्थिक राष्ट्रिय विकास प्राधिकरण बनाएर दश–बीस वर्षमा नेपाललाई अल्पविकसितबाट विकसित अबस्थामा लैजाने कार्ययोजनामा हामी जान सक्यौँ भने देश बन्छ । त्यसको निम्ति वैकल्पिक शक्तिहरू आउनुपर्छ भनेर मैले केही वर्षहरूदेखि पहल गरेको पनि हो र अहिले पनि विभिन्न वैकल्पिक शक्तिको उदय भइरहेको छ । अब आउँदो ८४ सम्म मलाई के लाग्छ भने त्यस्तो नयाँ अग्रगामी वैकल्पिक शक्ति आउन सक्छ । आउनुपर्छ । यी पुराना शक्तिहरू विस्तारै पर लाग्दै जान्छन् । त्यस्तो छ । तर त्यसको निम्ति फेरि सचेत ढंगले जनताले पनि साथ दिनुपर्छ । हाम्रो मिडिया जगतले यो कुरालाई बुझेर जनतासमक्ष प्रेषित गरिदिनुपर्यो । 

माओवादीमा तपाईंको गज्याङगुजुङ भयो । त्यहाँबाट बाहिरिनुभयो । नयाँ शक्ति पार्टी खोल्नुभयो । जसपामा लाग्नुभयो, त्यो पनि छाडेर अहिले नेपाल समाजवादी पार्टी स्थापना गर्नुभयो । किन ? 

मैले वैकल्पिक शक्ति त्यागेको भन्ने कुरा सत्य होइन । मैले जुन विचार अगाडि सारेको छु । अहिलेको युगमा हिजोका कांग्रेस, एमाले, कम्युनिष्टका पुराना शक्तिहरूका ती विचार पुरानो भयो, अहिलेको एकाइसौँ शताब्दीमा । एउटा विशुद्ध पुँजीवादी बाटो पनि छैन । पूरै साम्यवादी बाटो अनुसार पनि छैन । लोकतन्त्रमा आधारित समाजवाद जुन हाम्रो संविधानले भनेको छ । जसको लेखनमा मेरो पनि भूमिका छ । त्यो नै अबको बाटो हो । त्यसमा अब नयाँ एउटा वैकल्पिक शक्ति चाहिन्छ भन्ने जुन अवधारणा जुन ०७२ सालदेखि अगाडि सारे । त्यो नै विचारको बीउ हो । तर, यो बीचमा के भयो भने अलिकति अरू केही त्यस्ता शक्ति खासगरी यो क्षेत्रीय शक्ति मधेसी, जनजातिका मुद्दा जुन छन् । तिनलाई पनि जोडेर जाऊँ न भन्नेमा अलि उदारतापूर्वक उहाँहरूलाई नै नेतृत्व दिने ढंगले म त्यसरी उदार बनेँ । तर, उहाँहरूमा के भने असाध्यै संकीर्णखालको सोचले गर्दा एउटा राष्ट्रिय सोच उहाँले देखाउन सक्नुभएन । 

त्यसले गर्दा हामीले फेरि नयाँ ढंगले समाजवादी आन्दोलनको रूपमा नेपाल समाजवादी पार्टीको रूपमा हामी अगाडि बढिरहेका छौँ । त्यो भनेको वैकल्पिक शक्ति नै हो । अब यसो गर्ने क्रममा केही मुद्दामा सहकार्य त भयो, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामी उभिनुपर्यो । यदि राजतन्त्रवादी शक्ति आउँछ भने त्यबेला सहकार्य त कांग्रेस कम्युनिष्टसँग पनि गर्नु पर्छ । त्यो भनेको तत्कालीन एकता हो । तर दीर्घकालीन रूपमा वैकल्पिक शक्ति बनाउने हो । आधार अहिले पनि छ ।  विभिन्न शक्तिहरू विभन्न नाउँमा आइरहेका पनि छन् । मैले यसलाई चाहिँ पुरानाका विरोधमा विद्रोहको आवाज संगठित भएको छ । सुरु त त्यसरी नै हुने हो । यसलाई वैचारिक दिशा दिन सक्यो भने बन्छ । बीचमा अलिकति बांगोटिंगो चाहिँ भएको हो । छोडिस् भन्ने कुरा सत्य होइन ।

त्यो ५२ सालको जस्तो सशस्त्र जनयुद्धको बाटोबाट त हुँदैन नि ?

हैन मैले अघि नै भनिसकँे नि यो त संघीय लोेकतन्त्रीक संघीय सभाबाट संविधान जारी भइसक्यो । जनता सार्वभौम भइसके । त्यसैले अब त जनताले आन्दोलन गर्नुपर्यो, दबाब दिनुपर्यो । मुख्य कुराचाहिँ चुनावबाट पनि श्रेता दाखिल गर्ने र संविधान संशोधनका निम्ति सडकबाट पनि दबाब दिने यी दुईवटै तरिका अपनाएर गयौँ भने हामीलाई सफलता प्राप्त हुन्छ । तर, अब फेरि हतियार उठाइराख्न भने जरुरी छैन । 

तपाईं एकपटक अर्थमन्त्री र अर्कोपटक प्रधानमन्त्री हुनुभयो । सत्तालाई गाजलको कोठा भनिन्छ । हाम्रो जस्तो देशमा त्यहाँबाट बेदाग निस्किनु भनेको शिला खोज्नुजस्तै छ । तपाईंले दुवै पदमा रहँदा राम्रो छाप छोड्नुभयो । सत्तालाई नजिकबाट पनि हेर्नुभयो । के रहेछ सत्ता, काम गर्न के रहेछन्–बाधा अड्चन ?

पहिलो कुरा के बुझ्नुपर्छ भने एउटा व्यक्तिले त निमित्तको पात्रको मात्र भूमिका निर्वाह गर्छ । मुख्य त संस्था निर्माण गर्ने हो । हामीले लामो संघर्ष । ००७ सालदेखि ०७२ सालसम्म म त्यसलाई हलाल क्रान्ति भन्छु । अंश–अंशमा भयो । झट्टै एकै झट्कामा भइदिएको भए पाँच–दश वर्षभित्र एउटा रूप लिन्थ्यो । हामीलाई त ६० वर्ष लाग्यो । त्यसले गर्दा खेरि पनि गिजोलिँदै गिजोलिँदै संस्थाहरू बलिया भएनन् । र लोकतान्त्रिक संस्थाहरू, पार्टीहरू पनि संस्थागत हुन सकेनन् । र हाम्रो जुन नोकरशाहीतन्त्र हो त्यो पनि राम्रोसँग विकसित हुन सकेन । अड्डा अदालत पनि पुरानै ढाँचाका भए र भ्रष्टाचार नियन्त्रण गर्ने जुन आयोगहरू हुन् । ती पनि संस्थागत राम्रोसँग हुन सकेनन् । सुरक्षा अंगहरू पनि पूरै रूपान्तरण हुन सकेन । अर्थतन्त्र फेरि हाम्रो जुन कृषि प्रधान अर्थतन्त्र थियो

त्यसलाई ५० को सन्धिलगायतका सन्धिहरूको फेरि हामीले परिवर्तन गरेर देशको राष्ट्रिय उद्योग धन्दाको संरक्षण गरी यस्ता नीतिहरू हामीले बनाउँन भ्याएनौँ । त्यो नहुँदाखेरि जुन कालखण्ड भन्नु भयो, म अर्थमन्त्री, प्रधानमन्त्री भएको कालखण्ड त्यो त फेरि संविधान नै बनाउने कालखण्ड थियो । त्यसैले गर्दा यो बीचमा धेरै गर्न नसकिएको हो । तर, संविधानसभाबाट संविधान नै जारी भइसकेपछि त्यसमा टेकेर अगाडि जानको निम्ति जुन काम गर्नुपथ्र्यो । खासगरी जुन शान्ति प्रक्रियाको जुन सत्यनिरूपण मेलमिलाप आयोग, बेपत्ता आयोगका काम पूरा गर्ने काम हुनपथ्र्याे । त्यो समयमा नहुनु कमजोरी भएको छ । त्यही कारण असन्तुष्टि जनतामा छ । त्यसलाई हामीले सम्बोधन गर्नको निम्ति यो संविधानको जगमा टेकेर सुशासन र संमृद्धिलाई मुख्य योजना बनाएर अगाडि बढ्ने, त्यस्तो शक्तिको अबको आवश्यकता म देख्छु । र म त्यो सम्भावना र आवश्यकता दुवै देख्छु । 

२००७ सालदेखि नै हामी राजनीतिक व्यवस्थाका लागि लड्दै आयौँ, अहिले पनि त्यही स्थिति छ । नियतिको यो चक्रमा नेपाली जनता कहिलेसम्म घुमिराख्ने ?

हामीले क्रान्ति नै ढिला गर्याैं, हामीले गरेजस्तो क्रान्ति, फ्रान्सेली क्रान्ति कहिले भयो, सन् १७८९ मा भा’थ्यो । अमेरिका स्वतन्त्रको आन्दोलन १७७६ मा भयो जतिबेला पृथ्वीनारायण शाह १७७४ (सन्) सालमा मरे । पृथ्वीनारायण शाहकै बेला अमेरिका स्वतन्त्र भइसकेको थियो । फ्रान्समा क्रान्ति भइसकेको थियो भने २०० वर्ष लगाएर उनीहरू त्यहाँ पुगे, युरोप, अमेरिका । अनि रुसको क्रान्ति १९१७ मा भयो, चीनको क्रान्ति १९४९ मा भयो त्यो पनि ७० वर्ष भइसक्यो भने हामी त भर्खर अस्ति गरिरहेका छौँ । भनेपछि यसले त केही समय त लिन्छ त अब । हामी १० वर्षभित्र फल खोजिरहेका छौँ । त्यसको निम्ति सही नेतृत्व भइदिएको भए हुन्थ्यो । त्यो पनि के भयो भने ती पुराना नेतृत्व कांग्रेसभित्र पनि देख्नुभयो । कुनै भिजन भाका मान्छे छैनन्, त्यहाँ । एमाले त पहिलेदेखि नै सरकारवादको दलदलमा फसिसकेको थियो । जुन माओवादी हो, त्यो पनि प्रचण्डको नेतृत्वमा फेरि विस्तारै सत्तादेखि सत्ताको दुष्चक्रमा फसिसकेको छ । 

अस्ति पनि म पढिरहेको थिएँ । उहाँहरूको विगत १७ वर्षमा १३ वर्ष त माओवादी सरकारमा छ । १३ वटा सरकारमध्ये १० वटा सरकारमा बसिरहेको छ । ९७ हो कि ९९ जना त उहाँहरूका मन्त्री भइसक्नुभा’छ भन्ने तथ्यांक जुन आइरहेको थियो । त्यही दुष्चक्रमा भएपछि एमाले र माओवादीमा खास अन्तर रहेन । खाली ब्रान्ड मात्रै पुरानो छ, उहाँहरूको । कार्यक्रम त नयाँ केही पनि छैन । त्यसैले गर्दाखेरि यो समस्या परेको हो । तर समस्याबाट सिकेर हामी निराश नबनीकन निकास दिनुपर्छ । निकास भनेको अबको हाम्रो संविधानले जुन लोकतन्त्रमा आधारित समाजवाद जुन भन्या छ, त्यो विचारमा आधारित वैकल्पिक शक्ति बनाउने र यो संविधानमा टेकेर सुशासन र समृद्धिको कार्ययोजना तय र लागू गर्ने, त्यस्तो नेतृत्व र शक्ति अबको आवश्यकता हो र मलाई लाग्छ । 

आउँदो ०८४ मा ध्रुवीकरण अगाडि बढ्छ र नेपाल फेरि यसरी नै अल्पविकासको दुष्चक्रमा बसिराख्न हामी अभ्यस्त छैनौँ । अब जनता पनि धेरै सचेत भए । डिजिटल प्रविधिले पनि मान्छेलाई धेरै सचेत बनाएको छ । भर्खर मात्रै पाकिस्तानको रिजल्ट आइराखेको छ, त्यहाँका तानाशाहले पूरै जबर्जस्ती जुन दमन गर्या’थ्यो । डिजिटल प्रयोग दियो, त्यसको प्रयोगले मात्रै त्यहाँको चुनावले अर्के परिणामले ल्याइदिराखेको छ । अब जनता त त्यसरी चुप लागेर त बस्दैनन् नि त भने जनता पनि सचेत भए  त्यसैले नेपालीहरू पनि यो दुष्चक्रबाट मुक्त भएर अगाडि बढ्न सक्छन् । र, हामीले केही अगुवा मानिसहरूले साहस गरेर बाटो देखाउनुपर्छ । 

  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार २२:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया