यी नेपाली छोराछोरी जसले नेपाललाई विश्वमा चिनाए
भौगोलिक सीमाले छेकेन कलालाई

नेपाललाई विश्वमा चिनाउन इतिहासका कालखण्डहरूमा विभिन्न नेपालीहरूले योगदान दिँदै आएका छन् । पौराणिक कालमा नेपाललाई भारतमा चिनाउने सीता मात्रै होइन, लिच्छवीकालमा भृकुटी र अरनिकोले पनि चीनमा नेपालको दौत्य सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । यस्ता इतिहास त हामीले पढ्दै आएकै हो । 

इतिहासमा मात्र होइन, वर्तमानमा पनि धेरै नेपालीले आफ्नो विशेष क्षमताबाट नेपाललाई विश्वबजारमा चिनाउँदै आएका छन् । पछिल्लो समय विशेषगरी रियालिटी सोका माध्यमबाट नेपालको गर्विलो इतिहासलाई कायम राख्न विभिन्न नेपालीहरूले भूमिका खेल्दै आएका छन् । आफ्नो कला र सीपले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर नेपालको राम्रो छाप छाड्ने क्रम अहिले पनि जारी छ । 

यिनैमध्येकी एक नेपाली छोरी हुन्, तेरिया मगर । आफ्नो परिश्रम, मिहिनेत र योग्यताका कारण उनले भारतीय रियलिटी सोमार्फत सबै नेपालीको शीर उँचो बनाइन् । एघार वर्षीया नेपाली छोरी तेरिया मगरले भारतीय रियालिटी सो जित्ने पहिलो विदेशी बनेर भारतीयको मनमा नेपालको विशेष स्थान बनाउन सफल भइन् । 

नेपालको रुपन्देहीको रुद्रपुर गाउँकी तेरियाले हिट डान्स रियालिटी सो डान्स इन्डिया डान्स लिटल मास्टर्सको  सिजन ३ जितेकी थिइन् । उनी नेपाल र भारतमा मात्र नभई विश्वभर एक चर्चित डान्सर हुन् । त्यति मात्र नभई २०१७ मा तेरियाले झलक दिखलाजा ९ को उपाधि पनि जितेकी थिइन् । 

भारतकै अर्को डान्सिङ रियालिटी सो इन्डियन बेस्ट डान्सर सिजन तीनमा समर्पण लामा विजेता भएका थिए । चितवन टाँडीका समर्पण लामा नृत्यमा बढी नै मिहिनेत गर्थे । कार्यक्रममा आउने अधिकांश अतिथिको उनी प्रिय बनेका थिए । कार्यक्रमबाटै भारतमा उनको राम्रो फ्यान फलोइङ बनिसकेको थियो । जसको साथले उनी फाइनलसम्म मात्र पुगेनन्, विजेता नै भए ।

नेपाली नागरिक सुशान्त खत्री भारतमै बसेर प्रशंसा कमाइरहेका छन्। हाल उनी भारतीय रियालिटी सो डान्स प्लस प्रोको होस्टिङमै व्यस्त छन् । नेपालमा नृत्यलाई करिअरकै रूपमा हेर्ने प्रचलन नहुँदा परिवारबाट खासै सहयोग नपाएका सुशान्त, आफ्नो अठोट तथा आफ्नी दिदीको आशीर्वाद लिएर भारततर्फ हानिएका थिए।



त्यस्तै, नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो ‘सारेगमप लिटल च्याम्प्स’को फाइनलमा पुगेका थिए । नेपालका प्रीतम आचार्य सारेगामापामा तेस्रो भएका छन् भने नेपालकै अर्का आयुष केसी चौथो भएका थिए । केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्।

भारतको निजी तहको रियालिटी सो इन्डियन आइडलको उत्कृष्ट १० सम्म पुगेकी नेपाली गायिका मेनुका पौडेलले पनि विश्वव्यापी नै आफ्नो सुरिलो आवाजका कारण चर्चा कमाइन् । मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शीर उँचो भएको भन्दै उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि हालै मात्र सम्मान गरेका छन् । 



अर्थर गनको रूपमा परिचित दिवस पोखरेल अमेरिकन आइडलको उपविजेता नै बनेका थिए । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका थिए।
नेपाललाई विश्वसामु चिनाउने प्रतिभाशाली नेपालीहरूलाई राष्ट्रले सम्मान र कदर गर्नुपर्छ । नेपाललाई विश्वमाझ चिनाउने र नेपालको नाम शिखरमा पुर्याउने प्रतिभाहरूको कहिलेपनि कमी नहोस् । नेपालका शानहरूप्रति हरेक नेपालीले गर्व गर्न जरुरी छ । 

  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १८:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया