logo-img

हामीले गणतान्त्रिक हिन्दु राष्ट्र खोजेका हौँ, राजसंस्थासँग जोड्ने प्रयास नहोस् : शंकर भण्डारी

नेपाली कांग्रेसका केही नेताहरूले आज(शनिबार) सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्दै छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान घोषणा गर्न लागेका हुन् । 

अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरु सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आफूहरुले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा भएपनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भइरहेको बताए । 

उनले भने, ‘हामी प्रष्ट छौँ । हामीले गणतान्त्रिक, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको खोजेका हौँ । यसमा हामी स्पष्ट र दृढ छौँ । तर, हामीलाई चिन्ता कहाँ छ भने यो अभियान नियोजित रुपमै निस्तेज पार्नका निम्ति राजसंस्थासँग जोड्ने प्रयास हुनेछ । राजसंस्था फरक विषय हो । धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरू त्यसभित्र रहने कुराहरू हुन् । त्यसैले हामी स्पष्ट छौँ, सनातन वैदिक धर्मसापेक्ष हिन्दु राष्ट्र हो ।’ 

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा भण्डारीको आपत्ति छ । 

महाअभियानको त्यस विषयका गम्भीर छलफल गर्ने बताउँदै संविधानमै धर्मनिरपेक्ष राष्ट्र नभई हिन्दु राष्ट्रको पक्षमा रहेको बताए । 
उनले भने, ‘म आफैँ संविधान सभा सदस्य हुँ । म यो कुरा बुझेर मस्यौदा समितिमा बसेको हुँ । मलगायत धेरैजना कांग्रेसका सदस्यले धर्म निरपेक्षताका विपक्षमा आवाज उठाएका हौँ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पछि संविधान संशोधन गरेर भए पनि यो राखौँला । अहिले यो प्रस्ताव फिर्ता लिइदिनुस् भनेकाले मं्ले मानेको हुँ ।’

गौतम बुद्धजस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै उनले देशको स्वाधिनता र स्वाभिमान सँगसँगै लैजाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ । 



कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेको उनले उल्लेख गरे । 

हिन्दु राष्ट्रको पक्षमा धेरै सदस्य भएको, तर बोल्न डराएको भन्दै आगामी दिनमा अभियानमा जोडिनेहरू बढ्दै जाने भण्डारीको दाबी छ । नेपालमा विभेद र विकृति मौलाएको भन्दै उनले जनतामा रहेको भ्रम चिर्न सनातन धर्ममा विभेद नरहेको कुरा जनतासामु राख्नुपर्ने बताए । 



उनले भने,‘सरकारका कुनै पनि देश धर्मको महत्व बुझे हुन्छ । धर्मका नाममा फैलाइएका भ्रम र विकृतिलाई चिर्दै जनतासामु जानुपर्छ । धर्ममा नियत छैन, सनातनमा विभेद हँुदैन भन्ने कुरालाई प्रष्ट पार्दै सनातन धर्मको महत्व बुझाउनुपर्ने देखिन्छ । र यो देशको विकाससँग सम्बन्धित भन्ने बुझाउन सक्नुपर्छ ।’

  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार १३:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया